
प्रकाश पौडेल, गुलरिया । आर्थिक अभाव हुँदा बर्दियाको गुलरियामा रहेको कृष्णसार संरक्षणमा समस्या देखिएको छ । घाँसेमैदान व्यवस्थापन, मिचाहा प्रजाति नियन्त्रण र पानीपोखरी मर्मतका लागि आर्थिक अभाव हुँदा बर्दियाको गुलरियामा रहेको कृष्णसार संरक्षणमा समस्या देखिएको हो ।
सरकारले कृष्णसार संरक्षण क्षेत्रका लागि दिँदै आएको बजेट कटौती गरेसँगै कृष्णसार व्यवस्थापन गर्न चुनौती थपिएको छ । प्राकृतिक वासस्थानको रूपमा ०३२ सालमा नौवटा रहेको कृष्णसार अहिले बढ्दै गएको छ । तर, पछिल्लो समय सरकारले कृष्णसार व्यवस्थापनका लागि दिँदै आएको बजेट कटौती गरेसँगै कृष्णसार व्यवस्थापनमा समस्या देखिएको हो ।

कृष्णसारले प्रायः दुबो, काँस, बन्सो, कुरो र अन्य कलिलो र नरम घाँस खाने गर्छ । कृष्णसार संरक्षण क्षेत्रका प्रमुख भोजराज पन्तले कृष्णसारका लागि आवश्यक पर्ने घाँसका लागि घाँसेमैदान व्यवस्थापन, पानीको पोखरी र कृष्णसार संरक्षण क्षेत्रमा रहेको जराकुश पार्थेनियम कण्ठकारी बनमारा गाँजा प्रजातिलगायतको मिचाहा प्रजाति नियन्त्रणका लागि बजेट अभाव भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घाँस अभाव हुने समयमा घाँसले मात्र नपुग्ने भएको हुँदा प्रत्येक वर्ष कृष्णसारलाई आवश्यक पर्ने गहुँ, मुसुरो, केराउ, मकैजस्ता बालीसमेत लगाउने गरिएको छ ।’
कृष्णसार संरक्षण क्षेत्रको रेन्जर एवं सूचना अधिकारी रामु केसीले चालू आर्थिक वर्ष ०८२/८३ मा कृष्णसारको घाँसेमैदानका लागि दुई लाख ७० हजार, मौसमी खेतीका लागि दुई लाख ७० हजार र पानीपोखरी व्यवस्थापनका लागि तीन लाख आएको छ भने गत आर्थिक वर्ष ०८१/८२ मा घाँसेमैदान व्यवस्थापनका लागि ६ लाख, मिचाहा प्रजाति व्यवस्थापनका लागि दुई लाख, मौसमी खेतीको लागि ६ लाख र पानीपोखरी व्यवस्थापनका लागि ६ लाख आएको बताउनु भयो ।
त्यसैगरी तराई भू–परिधि कार्यक्रमले चालू आर्थिक वर्ष ०८२/८३ मा लागि ४ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ भने गत आर्थिक वर्ष ०८१/८२ मा पाँच लाख बजेट दिएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।


