bardiyahospital

गाउँमा छैन विद्यालय, त्रास बोकेर विद्यालय जान्छन् विद्यार्थी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  चारैतिर बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले ढाकेको वन । वनको बीचमा छ फराकिलो फाँट । त्यो फाँटमा रहेको छ सुन्दर ढकेला गाउँ । गाउँ जति सुन्दर छ, त्यति पीडा पनि छ गाउँमा । यो कुनै  लोककथाको गाउँ नभएर बारबार्दिया नगरपालिका, ९ को ढकेला गाउँको कथा हो । गाउँमा प्राथमिक तहसम्मको विद्यालय छ । त्यस भन्दा माथिल्लो तहको शिक्षा लिनका लागि गाउँदेखि टाढा जानुपर्छ ।

 कक्षा ६ मा पढ्ने ११ वर्ष भन्दा माथिका विद्यार्थीहरू साइकल चलाएर दैनिक ७ किलोमिटर दूरीमा पर्ने विद्यालय जान्छन् । भने करिब ४० जना विद्यार्थीहरू गाडीमा बसेर संस्थागत विद्यालयमा जाने गरेका छन् । विद्यालय जान पनि त्यति सहज छैन् । विद्यालय जाँदा बाटोमा पर्ने वन हिंस्रक वन्यजन्तुको बासस्थान हो । यही हिंस्रक वन्यजन्तुको बासस्थानको बाटो भएर ढकेला गाउँका १२० जना विद्यार्थीहरू बारबर्दिया नगरपालिका, ९ कर्तनियामा रहेको धर्मभक्त माध्यामिक विद्यालयमा पढ्न जाने गरेका छन् ।

cld

 विद्यालय जाँदा झोलामा कापीकलम र किताब अनि मस्तिष्कमा वन्यजन्तुको डर त्रास बोकेर विद्यार्थीहरू विद्यालय पुग्छन् । ढकेला गाउँमा २५७ घरधुरी छ । प्रत्येक घरमा विद्यालय जाने विद्यार्थी छन् । 

विद्यालय नपठाउने हो भने बालबालिकाहरू अशिक्षित हुन्छन् कि भन्ने पीर लाग्छ । विद्यालय पठाउँदा वन्यजन्तुको डर हुने गरेको ढकेला ६० वर्षीय कल्चु थारूले बताउनु भयो ।  मनमा अनेक कुरा खेलाउदै उहाँले भन्नुभयो , ‘ मेरो नातिनी अहिले कक्षा १० मा पढ्दै छिन् । घरबाट विद्यालय जाने सवारीसाधन भनेको साइकल हो । विद्यालय जाने बाटो त्यति राम्रो छैन् । घना जंगलको बाटो भएर जानुपर्छ । जंगलमा बाघ, चितुवा, अजिङ्गर, लगायतका वन्यजन्तु छन् । नातिनी विद्यालयबाट घर नफर्किदासम्म मनमा त्रास हुन्छ ।’

गाउँमा रहेको भवानी प्रताप प्राथमिक विद्यालयबाट कक्षा ५ पास गरेर कल्चुको नातिनी धर्मभक्त माध्यामिक विद्यालयमा पढ्न गएकी हुन् । भवानी प्रताप प्राथमिक विद्यालयमा अहिले करिब ८० जना विद्यार्थीहरू छन् । शैक्षिक शत्र २०८२ मा  सो विद्यालयबाट कक्षा ५ पास गरेर २२ जना विद्यार्थीहरू गएको विद्यालयको प्रधानाध्यपक सीता ढकालले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘ विद्यालयबाट कक्षा ५ उत्तीर्ण  भएर गएका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा गएर कक्षा घटाएर पढ्ने गएका छन् । किन यस्तो गरेको भनेर सोध्दा विद्यार्थीको अभिभावकले जंगलको बाटो भएर विद्यालय पठाउन मन लागेन । सामुदायिक विद्यालयको बस छैन् । संस्थागत विद्यालयको बस छ, त्यहीँ भएर कक्षा घटाएर भएपनि संस्थागत विद्यालयमा पठाएको हुँ भन्ने जवाफ दिने गर्नु भएको छ ।’ 

विद्यालय आउजाउ गर्दा सधैं  वन्यजन्तुको डर छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/०७६ देखि चालू आर्थिक वर्ष २०८२/ २०८३ को फागुनसम्ममा  ४३ जनाको मृत्यु , ५० जना शक्त घाइते र ३२ जना सामान्य घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क रहेको छ । साना बालबालिका जंगलको बाटो भएर विद्यालय जाँदा  राज्यको कुनै पनि निकायको ध्यान गएको छैन । यस बारेमा सरोकारवाला निकाय गम्भीर छैनन् ।

चुनावको समयमा अनेक आशा देखाएर निर्वाचित भएका जाने जनप्रतिनिधिले पनि ढकेला गाउँको पीडा देखेनन । बालबालिकाको घरदेखि  विद्यालय टाढा छ । आउजाउ गर्दा साइकल बिग्रेमा मर्मत गर्ने ठाउँ छैन् । घाम पानीमा ओत लाग्ने ठाउँ छैन् ।  तिर्खा लाग्दा पानी पिउने ठाउँ छैन् । राज्यले कुनै गम्भीर घटना नभएसम्म यस्ता कुरा गौण ठान्ने गरेको छ । 

धर्मभक्त माध्यामिक विद्यालय कक्षा ८ मा पढ्ने  सिमरन थारूले विद्यालयबाट  घर फर्किने समयमा कहिलेकाँही बाघ समेत देखिने गरेको बताउनु भयो । बाघ देखेको बारेमा कुरा गरिरहँदा उनको  अनुहारमा त्रास देख्न सकिन्थ्यो । उहाँले भन्नुभयो, ‘ घरबाट स्कुल जान एक घण्टा लाग्छ । जंगलको बीचमा बनेको बाटोमा ग्राबिल छ । साइकल चलाउन पनि ग्राहो हुन्छ । त्यसमाथी कहिलेकाँही बाघ चितुवा देखिन्छ ।  त्यसबेला के गरु कसो गरु हुन्छ ।’

ढकेला गाउँकी ५५ वर्षीया लाहानी थारुले गाउँमा आएर बाघ चितुवाले बस्तुभाउ खाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ,‘ गाउँ निकुञ्जसँग जोडिएको छ । त्यहीँ भएर बेला बेला गाउँमा  बाघ र चितुवा आउँछ । धन्न बाघ र चितुवाले आजसम्म मान्छेलाई आक्रमण गरेको छैन् । त्यहीँ भएर कुनै मानवीय क्षति भएको छैन् । गाउँसँग जोडिएको वनमा धेरै प्रकारका वन्यजन्तु छन् । नातिनातिनीलाई स्कुल पठाउँदा पनि डर लाग्छ । कम्तिमा स्कुल आउन जानको लागि बस भएको भए सजिलो हुन्थ्यो ।’ एकछिन् टोलाएर लाहानीले भन्नुभयो, ‘ हाम्रो कुरा खोइ कसले सुनिदेला ?’

धर्मभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक केशब बस्यालले ढकेला गाउँबाट पढ्न आउने विद्यार्थीहरुले जीवनलाई हत्केला राखेर आउने गरेको बताउनु भयो । ‘ कक्षा ६ मा भर्ना भएर पढ्न आउने विद्यार्थीको उमेर हेर्दा ११ , १२ वर्षका होलान् । ती साना बालबालिका वन्यजन्तुको उच्च जोखिम भएको बाटोबाट साइकल चलाएर आउँछन् । उनीहरुलाई साइकल चलाएर विद्यालय आउनु रहर नभएर बाध्यता हो । बाध्यता पनि यस्तो की वन्यजन्तुको बासस्थान भएको बाटोबाट विद्यालय आउने ।’ उहाँले भन्नुभयो , ‘विद्यार्थी गरेको संर्घष हेर्दा निकै दुःख लाग्छ । कम्तिमा  पनि ढकेला गाउँबाट आउने विद्यार्थीका लागि बसको व्यवस्थापन हुन सकेमा बालबालिकाहरु जोखिम पूर्ण यात्रा गर्नुपर्ने थिएन ।’ 

यस्ता गम्भीर विषयमा  स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार कहिले जिम्मेवार बन्न सकेको छैन  । जनताको पीडमा मलम लगाउने काम सरकारले कहिले गर्छ कि भनेर ढकेला गाउँका जनताहरु अझै पनि सरकारको उपस्तिथी खोजिरहेका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.