
प्रकाश पौडेल, गुलरिया । देशभर सर्पको टोकाइबाट करिब पाँच महिनामा ७२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्पको टोकाइबाट ७२ जनाको मृत्यु भएको जनाएको हो ।
सर्पको टोकाइको घटना जाडोमा याममा भन्दा बढी गर्मी तथा वर्षायाममा बढी हुने गरेको छ । सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । नेपालमा पाइने सर्पहरु मध्ये हरेउ सर्प, ठुलो कालो करेत, सानो कालो करेत, गनग्वारी / माहेर सर्प, करेत सर्प, आँधो सर्प, सेती नाग सर्प, गुरुबे सर्प, बैरी करेट/गराइच, हिमाली करेत, पहेलो कण्ठ. सर्प, मुगा सर्प, सिन्डा सर्प, गोमन सर्प, राजगोमन /कालीनाग, लाल कण्ठे सर्प बहिरा खद्रा सर्प विषालु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ वैशाख १ गतेदेखि भदौ ९ गतेसम्म सर्पको टोकाइबाट ७२ जनाको मृत्यु र एक हजार २१ घाइते भएको जनाएको छ ।
प्राकृतिक विपद मध्ये सबैभन्दा बढी मानिसको मृत्यु सर्पको टोकाइले हुने गरेको छ । सर्पको टोकाइबाट हुने मानवीय मृत्यु रोक्न के गर्न सकिन्छ भनेर कृष्णसार अनलाइनले कन्सल्ट्यान्ट फिजिसियन डा. मनोजकुमार तिमिल्सैनाले सोधेको थियो । कन्सल्ट्यान्ट फिजिसियन डा. तिमिल्सैनाले सर्पदंशबाट बच्न र बचाउन ‘के गर्ने, के नगर्ने’भनेर निम्न सुझाबहरू दिनु भएको छ ।
के गर्ने?
बिरामीलाई शान्त राख्ने: अधिकांश सर्प विषालु हुँदैनन् र विषालु नै भए पनि समयमा उपचार पाए निको हुन्छ भन्ने आश्वासन दिएर बिरामीको डर कम गराउने।
टोकेको अङ्ग अचल (स्थिर) बनाउने: हात वा खुट्टामा टोकेको छ भने ‘स्पिलिन्ट’ वा ‘स्लिङ’ को प्रयोग गरी अचल राख्ने, जसले गर्दा शरीरमा विष चाँडो फैलिन पाउँदैन।
कस्सिएका वस्तु हटाउने: सुन्निने र सङ्क्रमण हुने जोखिम कम गर्न टोकेको ठाउँ आसपासका औँठी, गहना वा टाइट कपडा तत्काल फुकाल्ने।
हल्का ब्यान्डेज बाँध्ने: आवश्यक परेमा टोकेको ठाउँमा कम्तीमा एक औँला छिर्ने ग्याप राखेर मात्र हल्कासँग ब्यान्डेज लपेट्ने।
तुरुन्तै अस्पताल लैजाने: सर्पदंशको उपचार सबै स्वास्थ्य संस्थामा नहुने भएकाले समय नमारी तत्काल उपयुक्त सर्पदंश उपचार केन्द्र वा सुविधासम्पन्न अस्पताल पुर्याउने।
के नगर्ने ?
कडासँग नबाँध्ने: टोकेको अङ्गलाई रबर, ट्युब वा डोरीले बेस्सरी कस्नु हुँदैन; यसले रक्तसञ्चार ठप्प भई अङ्ग नै काम नगर्ने वा झन् बढी क्षति पुग्न सक्छ।
धामीझाँक्रीको भर नपर्ने: झारफुक वा घरेलु अन्धविश्वासमा लागेर अमूल्य समय खेर नफाल्ने।
काट्ने वा चुस्ने नगर्ने: घाउ भएको ठाउँमा काट्ने वा मुखले विष चुस्ने गल्ती नगर्ने। यसले घाउ थप गम्भीर हुने र चुस्ने मानिसको ज्यान समेत जोखिममा पर्न सक्छ।
हानिकारक पदार्थ नलगाउने: टोकेको ठाउँमा विद्युतीय करेन्ट लगाउने, रसायन वा गाईको गोबर जस्ता हानिकारक पदार्थ प्रयोग नगर्ने।
बिरामीलाई हिँडडुल गर्न नदिने: बिरामीलाई दौडिन वा धेरै चलाउन नदिने र यातायातको साधन प्रयोग गरेर मात्र अस्पताल पुर्याउने।


