
कृष्णसार अनलाइन । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सामाजिक सञ्चालन फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।
उहाँले बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको र अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको जानकारी दिनु भएको छ ।

‘ विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई समन्वय गर्दै मेडिकल टोली, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग सहकार्य अघि बढाएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत अघि बढाइएको जनाइएको छ’, उहाँले सामाजिक सञ्चालन फेसबुकमा लेख्नु भएको छ , ‘बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको छ। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।’
सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको उहाँले जानकारी दिनु भएको छ । बाढीपछि थप आवश्यक कदम चाल्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको छ। बैठकबाट उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका विषयमा थप निर्णय हुने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ ।


