
प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा घडियाल गोहीले ९६ वटा बच्चा कोरलेको छ। प्रजनन केन्द्रभित्र रहेका ११८ अन्डा मध्येबाट घडियाल गोहीले ९६ वटा बच्चा कोरलेको हो।
सफा र बग्ने नदीमा बस्ने घडियाल गोहीले माछा खाने गर्छ। यो गोही मगर गोहीजस्तो जहाँ पायो त्यहीँ जाँदैन भने यसले मानिसलाई आक्रमण गर्दैन। तर, पछिल्लो समयमा भइरहेको नदी प्रदूषण, प्राकृतिक वासस्थानको विनाश, नदीमा माछा मार्न जाने व्यक्तिले अन्डा फुटाइदिने तथा घडियाल मारेर खाने हुँदा यसको अस्तित्व सङ्कटमा पर्दै गएको छ।


गोहीको अस्तित्व सङ्कटमा पर्दै गएपछि सरकारले निकुञ्जभित्र प्रजनन केन्द्र स्थापना गरेको हो। गोही प्रजनन केन्द्रको स्थापना भएपछि बर्दिया राष्ट्रिय निकुञ्जभित्र नौवटा पोथी र एउटा भाले गोही राखिएको छ। जसमध्ये चारवटा पोथी गोहीले यस वर्ष ९६ बच्चा कोरलेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गोही प्रजनन केन्द्रमा रहेको घडियाल गोहीले ११८ वटा अन्डा पारेको थियो। जसमध्ये १० वटा बच्चा मरेका थिए भने १२ वटा बिग्रेको थियो। गोहीले दुई हप्ताअघि कोरलेको ९६ वटा बच्चा अहिले प्रजनन केन्द्रभित्र सुरक्षित छन्।’
गोहीले ०८२ मा १०५ वटा बच्चा कोरलेको थियो। जसमध्ये ३५ वटा मरेका थिए। गोहीले ०८१ मा ५८ वटा बच्चा कोरलेको थियो। जसमध्ये ३२ वटा मात्र जीवित रहेको निकुञ्जले जानकारी दियो। ०८० सालमा ९० वटा बच्चा कोरलेकोमा २८ वटा मरेका र ६२ वटा जीवित रहेका थिए। २०७९ मा घडियालले ६१ बच्चा कोरलेमा ३८ वटा जीवित रहेका निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर रामले बताउनु भयो ।
प्रजनन केन्द्रमा रहेका गोहीका बच्चा ठुलो भएपछि प्राकृतिक वासस्थानमा लगेर छोड्ने गरिएको छ। निकुञ्जले ०७९ मा बाँकेको राप्ती नदीमा १० वटा घडियाल छाडेको थियो। ०८२ सालमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको खौरहवा खोलाको कत्ठासमा १० घडियाल, बबई नदीको परेवा ओडारमा १० वटा र गैँडा मचानमा पाँचवटा घडियाल गोही छोडिएको छ। बाँके राष्ट्रिय निकुञ्जको राप्ती नदीमा पाँचवटा गोही छोडिएको निकुञ्जले जनाएको छ।



