
प्रकाश पौडेल, गुलरिया । सीप र काम गर्ने इच्छाशक्ति भए रोजगारीको खोजीमा सहर वा विदेश धाउनुपर्दैन । आफ्नै गाउँघरमा उपलब्ध स्रोतसाधनको सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । त्यसको उदाहरण बन्नु भएको छ, मधुवन नगरपालिका, १ डल्लाका जितबहादुर खड्का ।
सामुदायिक वनमा पाइने बेतलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर खड्काले हस्तकलाका सामग्री उत्पादन गर्दै आउनु भएको छ । बेतबाट कुर्सी, सोफा, टेबल, चुरादानी, फूलदानी, मुढा, कपडा राख्ने ह्यांगर, डस्टबिन लगायत सामग्री बनाउने गरेको खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समय बेतबाट बनेका सामग्रीको माग बढ्दै गएर बजार विस्तार भएसँगै खड्काले अझै धेरै बेतका सामग्री बनाउने सोचमा हुनुहुन्छ । ‘ठाकुरद्वारामा रहेका होटेल व्यवसाय, होमस्टे, निकुञ्ज तथा डल्ला घुम्न आउने पर्यटकले पनि घरायसी प्रयोजनका लागि बेतबाट बनेका सामग्री लैजाने गरेका छन्,’ खड्काले भन्नुभयो, ‘स्थानीय बजारसँगै बेतका सामग्रीको माग नेपालगन्ज, सुर्खेत र काठमाडौंसम्म बढिरहेको छ । उपभोक्ताले माग गरेअनुसार सामग्री बनाउन सके बिक्रीको समस्या छैन ।’
कुनै वेला आयआर्जन र रोजगारीको खोजीमा खड्का विदेशिनु भएको थियो । केही वर्ष विदेशमा काम गरेपछि उहाँ गाउँ फर्किएर आउनु भयो । गाउँ फर्किएर आएको केही समयपछि परिवारसँगको सल्लाहमा विगतमा सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गर्नुभयो ।
खड्काले बेतका सामग्री बनाउने सीप ०५८ सालमा सिक्नु भएको थियो । तर, त्यतिबेला बेतबाट बनेका सामग्रीको बजारमा खासै माग थिएन। सीप भएर मात्रै जीवन चलाउन कठिन भएपछि खड्का वैदेशिक रोजगारीमा जान बाध्य हुनु भएको थियो ।
‘यसबेला सीप थियो तर बजार थिएन । त्यही भएर बेतका सामग्री बनाउने कामलाई व्यवसायमा रूपान्तरण गर्न सकिनँ,’ उहाँले भन्नुभयो, ‘ ‘त्यसैले केही वर्ष विदेश जानुपर्यो।’
विदेशबाट फर्किएपछि भने परिस्थिति केही बदलिएको थियो। बेतका सामग्रीको माग बजारमा बिस्तारै बढ्दै गएको थियो। त्यसपछि फेरि विदेश नजाने निर्णय गरेपछि परिवारको साथ लिएर खड्काले गाउँमै बेतका सामग्री बनाउन थाल्नुभयो ।

‘ केही वर्ष विदेशमा काम गरेपछि घर फर्किए । त्यतिबेला बेतका सामग्रीको माग पनि बढ्दै गएको थियो। त्यसैले फेरि विदेश नजाने निर्णय गरेँ,’ उहाँले भन्नुभयो, ‘परिवारले पनि साथ दियो। त्यसपछि वेतका सामग्री बनाउन थालेँ। अहिले राम्रो आम्दानी भइरहेको छ। परिवारसँगै बसेर काम गर्न पाउँदा विदेशमा काम गर्दाको भन्दा कैयौँ गुणा बढी सन्तुष्टि मिलेको छ। अहिले वार्षिक १० लाख रुपैयाँ बराबरको कारोबार गरिरहेको छु। व्यापार व्यवसाय पनि सन्तोषजनक नै छ।’
खड्काले पाएको सफलता कुनै जादुजस्तो एकैपटक प्राप्त भएको होइन । त्यसका पछाडि निरन्तरको मिहिनेत, धैर्य र कामप्रतिको लगाव छ । बजारको अनिश्चितता र कठिन परिस्थितिका बिच पनि खड्काले आफ्नो कामलाई निरन्तरता दिनुभयो ।
बेतबाट सामग्री उत्पादन गर्दै जाँदा उहाँको परिचय अहिले उद्यमीका रूपमा स्थापित भएको छ। स्थानीय स्रोतसाधन तथा श्रम, सीप र प्रविधिलाई जोडेर गाउँमै व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण खड्का बन्नु भएको छ ।
खड्काले सुरुवातमा वेतका सामग्री बनाउन परम्परागत घरेलु औजार प्रयोग गर्नुहुन्थ्यो । बेत तास्ने, चोया निकाल्ने, सफा गर्ने र सामग्री तयार गर्ने काम गर्नुपर्दा धेरै श्रम र समय लाग्थ्यो । एउटा सामग्री तयार गर्न लामो समय लाग्ने भएकाले उत्पादन क्षमता पनि सीमित थियो। तर, परम्परागत शैलीमा सञ्चालन हुँदै आएको उद्यममा आधुनिक प्रविधि भित्रिएपछि कामको गति र उत्पादन दुवै बढेको छ ।
‘पहिला एक दिनभरि लाग्ने काम अहिले मेसिनका कारण दुई घण्टामै सकिन्छ,’ खड्काले भन्नुभयो, ‘काम छिटोछरितो हुँदा उत्पादन पनि बढेको छ। बेतको काठ काट्न, चोया निकाल्न र सफा गर्न निकै सहज भएको छ।’
साना उद्यमीको उद्योग प्रवद्र्धनका लागि सञ्चालित सम्वर्धन परियोजनाको सहयोगमा खड्काले आधुनिक मेसिनलगायत सामग्री प्राप्त गर्नुभयो । परियोजनाले साना उद्यमीलाई सहयोग गर्ने सूचना प्रकाशन गरेको थाहा पाएपछि खड्काले निवेदन दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले निवेदन दिएको केही समयपछि परियोजनाको टोलीले उद्योगको अनुगमन गरेको थियो। अनुगमनपछि उद्योगमा आवश्यक आधुनिक मेसिन तथा सामग्री सहयोग गरिएको हो ।’
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद कर खाँले सामुदायिक वनमा उत्पादन हुने गैरकाष्ठ वन पैदावार बेतबाट डल्लाका जितबहादुर खड्काले हस्तकला सामग्री निर्माण गरेर आत्मनिर्भर बन्दै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामुदायिक वनमा पाइने काठ, दाउरा र गैरकाष्ठ वन पैदावारलाई प्रयोग गर्न सक्ने हो भने धेरैलाई रोजगारी दिन सकिन्छ। उपभोक्ताले काठ, दाउरा र गैरकाष्ठ वन पैदावार सजिलै प्रयोग गर्न पाउने वातावरण सिर्जना गर्नुपर्छ। तब मात्र समुदायका उपभोक्ता वन संरक्षणमा जुट्छन्। अनि वन व्यवस्थापन दिगो हुन सक्छ ।’
सामुदायिक वनलाई हिजो समुदायले जोगाएको हो। त्यही भएर जैविक विविधताको संरक्षण गर्दै समुदायलाई वनबाट प्राप्त हुने घाँसपात, काठदाउरा र गैरकाष्ठ वन पैदावार प्रयोग गर्न दिनुपर्ने खाँले बताउनु भयो । विदेशबाट फर्किएका जितबहादुरले जस्तै बेतको प्रयोग गरेर हस्तकला सामग्री बनाउने वातावरण सिर्जना गरी बिदेसिएका युवालाई देशभित्रै स्वरोजगार बनाउन संरक्षणसँगै वनको उपयोग पनि आवश्यक रहेको उहाँले भन्नुभयो ।
परियोजनाको साझेदार संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालका फिल्ड सहजकर्ता लोकराज परियारले स्थानीय स्तरमा परम्परागत रूपमा सञ्चालन भइरहेका उद्योगलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन र रोजगारी बढाउने उद्देश्यले परियोजनाले सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ डल्लामा रहेका खड्का वेत बाँस फर्निचर उद्योग, प्रगति बेतबाँस सप्लायर्स र जय दुर्गा बेतबाँस उद्योग समूहलाई बेतका सामग्री ढुवानीका लागि इभी अटो, बेतको चोया निकाल्ने मेसिन र बेत सफा गर्ने मेसिन उपलब्ध गराएका छौँ ।’
परियोजनाको साझेदार संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पैरवी अधिकृत जयन जोशीले उद्यमलाई आधुनिक प्रविधिसँग जोडेर बेतबाट बन्ने सामग्रीको उत्पादन बढाउन र व्यवसायको दिगोपनालाई प्राथमिकतामा राखेर परियोजनाले काम गरेको बताउनु भयो ।
परियोजनाको साझेदार संस्था बी ग्रुपका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले बजारसँगको सम्बन्ध सुदृढ गर्ने, उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा उत्पादन, बजारीकरण र क्षमता विकासलाई एकीकृत गर्दै उद्यम विस्तारमा सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्यमलाई दिगो बनाउने, बजार विस्तार गर्ने र व्यवसायलाई थप उत्पादनमुखी बनाउने विषयमा उद्यमीसँग नियमित रूपमा छलफल र सुझाव आदानप्रदान गर्ने काम भइरहेको छ ।’
सामुदायिक वनमा पाइने बेतलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर खड्काले सुरु गरेको व्यवसाय अहिले उनको परिवारको आम्दानीको स्रोत बनेको छ । विगतमा बजारको अभावका कारण बिदेसिन बाध्य हुनु भएको उहाँ अहिले आफ्नै गाउँमा सीप र श्रम प्रयोग गरेर परिवारको जीवनयापन गरिरहनु भएको छ ।
खड्काको कथा एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, स्थानीय स्रोतसाधन, सीप र आधुनिक प्रविधिको संयोजनले गाउँमै रोजगारी र उद्यमको सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ।स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थको पहिचान, सिपको विकास, आधुनिक प्रविधिको प्रयोग र बजारसँगको सम्बन्ध विस्तार गर्न सके गाउँमा रहेका साना उद्यमलाई व्यावसायिक बनाउन सकिन्छ । खड्काको यात्राले पनि यही सम्भावनातर्र्फ संकेत सिपसँग प्रविधि जोडिँदा गाउँमै रोजगारी र आत्मनिर्भरताको बाटो खुल्ल थालेको छ ।



