
प्रकाश पौडेल, गुलरिया । आँगनमा आफन्त र छरछिमेकीको भिड छ। तर, त्यो भिडमा कुनै चहलपहल छैन। कसैको अनुहारमा मुस्कान छैन। सबैका आँखा मलिन छन्। वातावरण शोकमग्न छ।
आँगनको एक कुनामा कोही बाँस काटिरहेका छन्। कोही डोरी बनाइरहेका छन्। घरभित्र परिवारका सदस्यहरू कुशबाट शव बनाउँदै छन्। केहीबेरमा कुशको शव तयार हुन्छ। त्यसलाई सेतो कपडाले बेरेर अरथीमा राखिन्छ। २५ वर्षअघि घरबाट लगिएका जगतप्रसाद थारुको अन्तिम संस्कारका लागि परिवार तयार हुँदैछ। तर, अरथीमा राखिएको शव जगतप्रसादको होइन। त्यो कुशको शव हो।

गेरुवा गाउँपालिका, ६ बाजपुरका जगतप्रसाद थारुलाई तत्कालीन शाही नेपाली सेनाले १३ फागुन २०५८ मा ‘सोधपुछ गर्न’ भन्दै घरबाट लिएर गएको थियो। त्यसपछि उनी कहिल्यै घर फर्किएनन्। २५ वर्ष बितिसक्दा पनि उनी जीवित छन् वा मृत्यु भइसकेको छ भन्ने आधिकारिक जानकारी परिवारले पाएको छैन। तर, लामो प्रतीक्षा र अनिश्चितताबीच परिवारले अन्ततः उनलाई मृत मानेर कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।

जगतप्रसादकी पत्नी जानकी थारूका लागि बितेका २५ वर्ष एउटा लामो प्रतीक्षाको कथा हो। सेनाले पतिलाई घरबाट लिएर गएपछि उनी फर्किने आशामा जानकीले वर्षौं बिताइन्। उनका लागि हरेक दिन पति फर्किने सम्भावनासँगै सुरु हुन्थ्यो र निराशासँगै सकिन्थ्यो। जानकीले पतिलाई ठाकुरद्वारामा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमा राखिएको जानकारी पतिसँगै सेनाले लिएर गएको उनका साथी तेजु थारू मार्फत थाहा पाएको बताइन्।
“सेनाले मेरो पतिलाई बेपत्ता बनाएको पनि २५ वर्ष बितिसक्यो। तर अहिलेसम्म सरकारले उहाँ जीवित हुनुहुन्छ कि मृत्यु भइसकेको हो भन्ने आधिकारिक जानकारी दिएको छैन,” उनले भनिन् ।
२५ वर्षमा ऋतु फेरिए। पात्रो फेरिए। परिवारका सदस्यहरूको उमेर बढ्यो। तर जानकीको प्रतीक्षा भने उस्तै रह्यो। उनी अझै पनि मूलबाटोतिर हेर्छिन्। सायद कुनै दिन जगतप्रसाद त्यही बाटो भएर घर फर्किन्छन् कि भन्ने आशा कतै बाँकी थियो। तर, त्यो बाटो हुँदै जगतप्रसाद कहिल्यै फर्किएनन्।

जगतप्रसादका छोरा युगबहादुर चौधरीका लागि पनि बुवाको अनुपस्थितिको पीडा २५ वर्ष पुरानो भए पनि अझै ताजा छ । बुवाको खोजीमा परिवार र आफन्तले धेरै प्रयास गरे। सम्बन्धित निकायसँग सत्यतथ्य सार्वजनिक गर्न र न्याय दिलाउन माग गरे। तर, परिवारले अहिलेसम्म बुवाको अवस्थाबारे कुनै ठोस जानकारी पाएन। “बुवाको अवस्था सरकारले सार्वजनिक गरेन। त्यही भएर कुशको शव बनाएर भए पनि बुवाको अन्तिम संस्कार गरेका छौँ,” युगबहादुरले भने, “बुवालाई बेपत्ता पारिएपछि परिवार र आफन्त सबैजना उहाँको खोजीमा लाग्यौँ। तर अहिलेसम्म बुवाको बारेमा सत्यतथ्य सार्वजनिक हुन सकेन।”
सामाजिक, सांस्कृतिक र कानुनी प्रक्रियाका कारण लामो समयसम्म अन्तिम संस्कार नगरी बस्न कठिन भएपछि परिवारले यो निर्णय गरेको उनको भनाइ छ। कुशको शवलाई अरथीमा राखेर मलामीहरू घाटतर्फ लाग्दा परिवारले २५ वर्षदेखिको प्रतीक्षालाई अन्त्य गरेको अनुभूति गरेको छ। तर, त्यो अन्त्य पूर्ण भने छैन। किनभने परिवारसँग जगतप्रसादको मृत्युको प्रमाण छैन। उनको मृत्यु कसरी भयो भन्ने जानकारी छैन। शव कहाँ छ भन्ने थाहा छैन। उनको अन्तिम यात्राको कथा पनि कसैलाई थाहा छैन।

जगतप्रसादको मृत्यु भएको भन्दै सरकारले पटक–पटक गरेर परिवारलाई १० लाख रुपैयाँ राहत दिएको जानकी बताउँछिन्। तर, राहतले उनको मनमा रहेको प्रश्नको उत्तर दिएको छैन। “राहतभन्दा ठूलो त न्याय हो। सत्य थाहा दिनु हो,” जानकीले भनिन्, “तर सरकारले सत्य कुरा बताउन खोजेको छैन।”
उनका लागि १० लाख रुपैयाँभन्दा ठूलो कुरा श्रीमान्को वास्तविक अवस्था थाहा पाउनु हो। जगतप्रसादलाई कसले, किन र कहाँ बेपत्ता बनायो ? उनी जीवित छन् वा मृत्यु भइसकेको हो ? यदि मृत्यु भएको हो भने कसरी भयो ? यी प्रश्नको जवाफ परिवारले २५ वर्षदेखि खोजिरहेको छ।
नेपाल सरकार र तत्कालीन नेकपा माओवादी बीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताले द्वन्द्वका क्रममा बेपत्ता पारिएका तथा मारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र घरको ठेगाना ६० दिनभित्र सार्वजनिक गरी परिवारजनलाई जानकारी उपलब्ध गराउने सहमति गरेको थियो। तर, सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि जगतप्रसादजस्ता बेपत्ता व्यक्तिका परिवारले आफ्नो प्रियजनको अवस्थाबारे सत्य जानकारी पाउन सकेका छैनन्।

शान्ति सम्झौताले बोकेको प्रतिबद्धता र बेपत्ता परिवारले भोगिरहेको वास्तविकताबीचको दूरी जगतप्रसादको परिवारको कथामा स्पष्ट देखिन्छ। राज्यले राहत दिएको छ। तर, सत्य दिएको छैन।
परिवारले वर्षौंसम्म जवाफ खोजी गरेको छ। तर,राज्यले जवाफ पाएको छैन। परिवारले न्यायको माग गरेको छ। तर, अन्तिम निष्कर्ष पाएको छैन।

कुशको शवलाई घाटमा पुर्याइयो। परिवारले आफ्नो संस्कारअनुसार जगतप्रसादको अन्तिम संस्कार गर्यो। २५ वर्षसम्म घरको ढोकामा फर्किने आशामा पर्खिएको व्यक्तिलाई परिवारले अन्ततः आज मृत मानेको छ। तर, त्यो मृत्यु राज्यले प्रमाणित गरेको मृत्यु होइन। यो परिवारले अनिश्चितताको अन्त्य गर्न बाध्य भएर गरेको संस्कार हो।
जगतप्रसादको वास्तविक अन्तिम यात्रा कस्तो थियो, त्यसको कथा आजसम्म परिवारलाई थाहा छैन। उनलाई सेनाले घरबाट लैजाँदाको दृश्य परिवारले देखेको थियो। त्यसपछि के भयो, त्यो कथा भने राज्यले २५ वर्षसम्म सुनाएको छैन। कुशको शव जलिरहँदा जगतप्रसादको परिवारको प्रतीक्षा पनि औपचारिक रूपमा अन्त्य भएको छ। तर, सत्य र न्यायको खोजी भने अन्त्य भएको छैन।
जगतप्रसादको दाहसंस्कार भयो। तर, उनको मृत्युको सत्य अझै बेपत्ता छ। र,यही प्रश्नले परिवारलाई फेरि पनि राज्यतर्फ फर्काएको छ– जगतप्रसाद थारुलाई के भयो ?



