
प्रकाश पौडेल, गुलरिया । बर्दियामा सडक निर्माणको शिलान्यास भएको १४ महिनापछि प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको छ । बारबर्दिया नगरपालिकाको कर्तनियादेखि ठाकुरबाबा नगरपालिकाको खैलारसम्म जोड्ने पक्की सडक निर्माणको शिलान्यास भएको १४ महिनापछि प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको हो ।
सडक पूर्वाधार विकास कार्यालय, बर्दियाको आयोजना भएको कार्यक्रममा सडकको शिलान्यास गर्न लुम्बिनी प्रदेशका दुई मन्त्री ६ जेठ २०८२ मा सहभागी हुनु भएको थियो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमेश्वर ढकाल र सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले संयुक्त रुपमा सडक निर्माणको शिलान्यास गर्नु भएको थियो ।भने शिलान्यास कार्यक्रममा बर्दियाबाट निर्वाचन लुम्बिनी प्रदेशका सांसद, बारबर्दिया र ठाकुरबाबा नगरप्रमुख र उपप्रमुख र अन्य जनप्रतिनिधि समेत सहभागी रहेको थियो ।

सडक निर्माणको शिलान्यास गर्दा तामझाम गरिएको भए पनि सडक निर्माणको ठेक्का सम्झौता हुनुअघि नै गर्नुपर्ने वातावरणीय परीक्षण भने गरिएको थिएन । शिलान्यास गरेको करिब १४ महिनापछि कानुनी जटिलता देखिएपछि प्रारम्भिक वातावरणीय परीक्षणको काम थालिएको छ ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वन व्यवस्थापन तथा उद्योग शाखाबाट प्रारम्भिक वातावरणीय परीक्षणको काम लागि कार्यसूची स्वीकृति लिएपछि सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले प्रारम्भिक वातावरणीय परीक्षणको काम गरेको छ । शाखाले १९ असार २०८३ मा प्रारम्भिक वातावरणीय परीक्षण गर्न कार्यसूची स्वीकृती दिएको थियो ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्दा लुम्बिनी प्रदेशको वातावरण संरक्षण ऐन २०७७, वातावरण संरक्षण नियमावली २०७७ तथा संघीय वन ऐन, २०७६ र संघीय वन नियमावली, २०७९ बमोजिम वन्यजन्तुको आवतजावतमा असर नपर्ने गरी निर्माणको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।
सडक पूर्वाधार विकास कार्यालय, बर्दियाका प्रमुख हेमन्तकुमारले रोकाले सडक निर्माणको ठेक्का सम्झौता हुनुअघि प्रारम्भिक वातावरणीय परीक्षण नभएकाले अहिले वातावरणीय परीक्षण प्रक्रिया अघि बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘प्रारम्भिक वातावरणीय परीक्षणको काम सक्न करिब पाँच महिना जति लाग्न सक्छ । जसले गर्दा सडक निर्माणको काम सम्पन्न गर्न केही ढिलो हुन सक्छ।
सडक निर्माणको जिम्मा ओसिस इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले पाएको छ । कम्पनीसँग ५३ करोड ७६ लाख २९ हजार २ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार निर्माण कम्पनीले २० असार २०८४ सम्म सडक निर्माण सम्पन्न गर्नुपर्नेछ ।
भने अहिले इनफ्रोटेक सिभिल तथा कन्सल्टेन्ट प्रालिले कतरनिया–खैलार सडकको प्रारम्भिक वातावरणीय परीक्षण गरिरहेको छ ।शिलान्यास भएको १४ महिनापछि सुरू भएको वातावरणीय परीक्षणका कारण निर्माण अवधि लम्बिने र आयोजनाको समयमै सम्पन्न नहुने देखिएको छ


