
कृष्णसार अनलाइन । बर्दियामा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिकाको गाउँबस्तीमा प्रवेश गरेर घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणमा लिइएको हो ।
मंगलबार दिउँसो करिब ४ बजे गेरुवा गाउँपालिका, ४ शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाघले घरपालुवा जनावर माथि निरन्तर आक्रमण गर्न थालेपछी साउन १४ गतेदेखि बाघ नियन्त्रणको प्रयास थालिएको थियो। १९ दिनको निरन्तर प्रयासपछि अन्ततः बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएका छौँ ।’

बाघ नियन्त्रणका लागि बाघको गतिविधिमा निगरानी गर्न बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीयवासीको महत्त्वपूर्ण समन्वय र सहयोग रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएको पाटेबाघलाई रम्भापुरस्थित वन्यजन्तु उद्धार केन्द्रमा व्यवस्थापन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख तुम्बाहाम्फेले जानकारी दिए ।


