
अधिवक्ता सोम खड्का । मष्ट पुजकहरुका मूख्य देवता मष्ट हुन । अधिकांश मष्ट पुजकहरुले मष्ट पूर्णिमाकै दिन मष्ट देवको पुजा गर्ने गर्दछन् । त्यसैले यो मष्ट पूर्णिमा खास गरी मष्ट पुजकहरुको एक महान चाड हो । हुन त मष्ट देवताको पुजा मष्ट पुर्णिमाको दिन मा मात्रै गरिन्छ भन्ने होइन । मष्ट पुजा बैशाख पूर्णिमा, बैशाख चतुर्दशी, जेष्ठ पूर्णिमा वा मष्ट पूर्णिमा, मंसिर पूर्णिमा, पौष पूर्णिमा, भाद्र अनन्ते चतुर्दशी र भाद्र पूर्णिमामा पनि गर्ने चलन छ । यी दिनहरू मध्य जो जसले आफ्ना मष्टको पुजा जुन दिनमा जे जसरी गर्ने गरी आएको आफ्नो पिता पुर्खा देखिको रित र परम्परा छ ।
सोही बमोजिमका दिनहरूमा सके सम्म चली आएको रीत र परम्परामा फरक नपर्ने गरी पुजा गर्ने गरिन्छ । तापनि ज्येष्ठ पूर्णिमालाई नै खास गरी मष्ट पूर्णिमा भनिने भएबाट, अन्य रिति रिवाज र धर्म, संस्कृतिका चाडहरुमा जस्तै गरी सो दिन सरकारले सार्वजनिक बिदाको घोषणा पनि गरिनु पर्दछ । मष्ट पुजकहरुको झिनो माग वर्तमानमा उठी रहेको छ । त्यसो भएको हुनाले मष्ट पुर्णिमा मष्ट पुजकहरुको लागी एक विशेष पर्वको दिन हो भनी भन्न सकिन्छ ।

हुन त, हाम्रो धर्म संस्कृति र रिती रिवाज अनुसार हेर्ने हो भने वर्ष भरिका करिव करिव सबै नै दिन कुनै न कुनै चाडवाड, पर्व, मेला र उत्सव परेको हुन्छ । जस्तैः सर्व प्रथम कुनै पनि महिनाको शुरुआत हुने दिन १ गतेको दिनलाई सक्रान्ति भनिन्छ । भने सक्रान्ति आफैमा एउटा चाड हो मात्र फरक के हो भने बैशाख सक्रान्ति, साउने सक्रान्ति, माघे सक्रान्ति जस्ता कुनै कुनै सक्रान्तिहरुको अझ बढी विशेष महत्व र विशेषता होला । सबै सक्रान्तिमा भलही त्यति नै उत्सव र चाड नमनाइएला तथापि सबै सक्रान्तिहरु हाम्रो प्रचलनमा चाड भने जरुर हुन भने अस्ति भरखर सुख्खा र खडेरी परेर खेतमा धुलो उडेता पनि असार पन्ध्र र धान दिवस मनाइएको र दही चिउरा खाने दिनको कुरा, साउन पन्ध्रमा खीर खाने दिनको कुरा र पुषे पन्ध्र जस्ता दिनहरूको पनि यो प्रसङ्गमा विवेचना गरिनु सान्दर्भिक नै ठहर्ला । यसरी हामी कहाँ यति धेरै चाडवाड छन की हामी चाडवाड, पर्व र उत्सवका निकै नै धनी छौँ ।
यसरि हेर्दा नेपालमा विभिन्न भेग, इलाका र क्षेत्रमा विभिन्न संस्कृति र सभ्यताको विकाश भएको देखिन्छ । मिथिला क्षेत्रमा मैथिली संस्कृति र सभ्यताको विकास, लुम्विनी क्षेत्रमा लुम्विनी सभ्यताको विकाश, पुर्व तर्फ किराँत सभ्यता र संस्कृतिको विकाश, जाड क्षेत्रमा जाड संस्कृति र सभ्यताको विकास, उपत्यका क्षेत्रमा नेवाः सभ्यता र संस्कृतिको विकास भएको पाइन्छ । जहाँ बस्ने मानिसहरुलाई खश भनियो, त्यहाँ खसान सभ्यता र संस्कृतिको विकास भएको पाइन्छ ।
यस विषयमा झट्ट हेर्दा काठमाण्डौँमा हुने विभिन्न जात्राहरुलाई देख्दा, जात्रा र पर्वहरु उपत्यकामा मात्रै हुन्छन र मनाइन्छन । त्यसैले उपत्यकालाई जात्रै जात्राको शहर भनी भन्न सकिन्छ भन्ने लाग्छ । तर नेवाः सभ्यताले उपत्यका धनी भए जस्तै र किँरातहरुको साकेला सिली जस्ता संस्कृति जस्तै खसान सभ्यता पनि जात्राको लागी कम्ति सम्पन्न र कम्ति धनि छैन, मात्र प्रचार – प्रसार र प्रकाशमा नआएको सम्म भने पक्कै हो । यसका धेरै कारणहरु होलान तर यदि अन्य ठाउँमा पनि मष्टपुजा गर्ने कुराको शुरुआत गरियो । भने पिर पिराउ हुन्छ भन्ने जुन मान्यता वोकिएकोबाट, मष्ट पुजाको लागी पुर्खाको थातथलो छाडेर जति नै टाढा टाढा गए भएको भएता पनि जिजु बाजेको पुर्खौली थलोमा नै जानु पर्ने भन्ने अंधविश्वासपूर्ण जुन मान्यता बोकिएको छ नि, यो यस्को मुल कारण हो जस्तो लाग्छ ।
मष्ट देउता कुनै वैदिक द्यौता नभई अवैदिक देउता भएको र मष्टको पुजा पनि बैदिक ढंगबाट नभई तान्त्रिक विधिबाट हुने गर्दछ । मष्टको साथमा उनी बाहेक कालि, विन्ध्यवासिनी (जसलाई बुढी बजै पनि भनिन्छ), जाल्पा देवी, निगालसैनी, त्रिपुरा सुन्दरी लगायतका देवी मध्य कुनै एक बहिनी देवी र भान्जाको पनि पुजा हुन्छ ।
दुधे मष्टले दुध वाहेक अन्य रक्त वली लिँदैनन, वाविरो मष्टलाई वावर(रोट) चढाईन्छ, ढँढार मष्ट, बुडु मष्ट, रमाल मष्ट, क्वा मष्ट, बान्नी मष्ट, थार्प मष्ट, थापा मष्ट, सुनार गाउँले मष्ट, खापर मष्ट, उडि शिला मष्ट, काला शिल्लो मष्ट, द्यौ मष्ट, बर्मा वा कूर्मी मष्ट, लटे मष्ट, लाटो मष्ट, लिउणे मष्ट, डढी सितल मष्ट, आदी विभिन्न मष्टहरु मध्य अधिकांशलाई रक्त वली चढाएर पुजा गरिन्छ भने दाह्रे मष्टले आफ्नो धामी मार्फत बोकाको गर्धन दाँतले नै काटेर वली ग्रहण गर्ने गर्दछन् ।
यसरि आ-आफ्नो रित भाँत, संस्कृति र परम्परा अनुसार पुजा गरिने मष्टबाट अन्य विशेष बरदान र मृत्यू पछि स्वर्गलोक वा कुनै मोक्ष र मुक्ति मागिँदैन । मष्टले आफ्नो कुलको रक्षा गर्दछन भनिन्छ र कुल देउता वा मष्ट सँग हाम्रा कुलका दाजु भाई जुन भाई जो जहाँ रहे बसेका भए पनि सबैको रक्षा गरिदेउ भनी पुजा गरिन्छ । मष्टले जिवित अवस्थामा नै आफ्नो वंश, घर, गोठ, परिवार, सन्तान, दरसन्तानको रक्षा गर्छन भन्ने, आफ्नो क्षेत्र भित्रका अन्य देव देउता मध्य श्रेष्ठ देउता मात्र नभई सो क्षेत्रका नकारात्मक शक्तिहरुलाई समेत वशमा राख्छन भन्ने विश्वास वोकिन्छ ।त्यसैले मष्ट पुजाको मुख्य अभिप्राय र उद्वेश्य भनेको रक्षा नै हो ।
मष्ट देवता अत्यन्तै दयालु, सानो कुराले पनि छिट्टै खुशी हुने र न्यायका देवता हुन भनी मानिन्छ । मष्टका कुनै सन्तान छैनन । उनी वाल ब्रह्मचारी हुन । दिदी बहिनी, चेली वेटी र भान्जा भान्जीलाई राम्रो गरिएमा मष्ट खुशी हुन्छन भनिन्छ । उनी आफुले पनि आफ्ना दिदी बहिनी र भान्जाको विशेष कदर गर्ने गर्दछन् । त्यसैले मष्ट पुजाको दिनमा मष्टको बहिनी र भान्जाको पहिला पुजा गरेर त्यस पछि मात्र मष्टको पुजा गर्ने गरिन्छ ।
मष्टको एउटा थान घरमा हुन्छ जहाँ केहि मिठो चोखो पाक्दा, कुनै नयाँ फलफुल पाक्दा र मकै, धान आदी जातका नयँ अनाज वाली पाक्दा, नयाँ अन्न खाने दिनलाई न्वागी खाने पर्व भनिन्छ र सो न्वागी खाने चाडमा नयाँ अनाज पकाई सके पछि पहिला मष्टलाई घरमा भएको मष्टको थानमा चढाएर मात्र ग्रहण गरिन्छ जस्लाई घरमाणु भनिन्छ भने एक वर्ष, तीन वर्ष, वा पाँच वा सात विजोर वर्षमा कुल र वंशका दाजु भाईहरु जुटेर भेला जम्मा भएर मष्टको पुजा गरिने गाउँ नजिकै बनाइएको मष्टको पुजा गर्ने ठाउँलाई वनमाणु भनिन्छ जहाँ पुजाको समयमा छुट्टै ध्वजा पताका र आलमहरु, पुजाको समयमा चढाइन्छ र कुल वंश भित्रका भाई हरु र अन्य कसैले पनि चाहेमा घण्ट आदी सो मष्टको पुजा गर्ने स्थानमा चढाउन सकिन्छ ।
खास गरी मष्टको पुजा मन्दिर विना रुखको मुनी गरिने प्रचलन र परिपाटी भएता पनि आजकाल भने दाजुभाई जुटेर पुजा गरिने स्थानमा मन्दिर बनाइने र मन्दिर भित्र मष्टको कुनै मुर्ति र प्रतिमा वा भनौ मष्टको रुप अदृष्य वायू रुप मानिने हुँदा मन्दिर भित्र आफ्नो गोत्रको ऋषिको मुर्ति राखिने परम्परा र प्रचलनको पनि विकाश भएको छ । यसबाट पनि मष्ट पुजा र प्रभावमा बृध्दि नै भएको पाइन्छ ।
मष्टको पुजा गर्दा बझाङ्ग तथा कर्णाली प्रदेशमा होस वा अन्यत्र समेत जहाँ मष्टको प्रभाव रहेको स्थान छ त्यहाँ, मष्ट आफ्नो धामीको शरिरमा चढेर धामी काम्ने पतुर्ने गर्दछन् । यसरी धामी काम्दा र पतुर्दा देवभाषा बोल्ने र सो देवभाषा सबैले नबुझ्ने भएकाले अन्य मानिसहरुबाट उठेका कुरा देवता सँग सोध्न र देवताले देवभाषामा बोलेका कुरा आम मानिसलाई बुझाउन दोभाषेको ब्यवस्था गरिएको हुन्छ । कर्णाली प्रदेशको जुम्ला अन्तरग सिंजा क्षेत्रमा नेपालका हाल स्वर्गिय शताब्दी पुरुष सत्य मोहन जोशी तत्कालमा कर्णाली प्रदेश मा रहेको खसान सभ्यता र संस्कृतीको विषयमा खोज अनुसन्धान गर्न जाँदा तत्कालका सिंजाका प्रधान पन्चले मष्टको धामी बसाल्ने ब्यवस्था मिलाएका थिए र त्यतिबेला अर्थात २०२३ सालमा जबकी त्यतिबेलाका त्यहाँका मानिस प्राचिन खश भाषा नै बोल्ने गर्थे तापनि धामीले बोलेको देउ भाषा दोभाषेले जम्मा जम्मी ६० प्रतिशत मात्र बुझ्न सकेका र त्यस्लाई उल्था गरेर अरुलाई बुझाउन सकेका थिए । ती बाहेक स्थानमा पुजा गर्दा पुजारीलाई सहयोग गर्न खटाइका मानिसलाई डाङ्गरे भनिन्छ । मष्ट चढेर काम्ने मानिसलाई कहिँ कतै डाङ्रग्रे भन्ने गरिएता पनि उनलाई मष्टको धामी नै भनिन्छ ।
यसरि मष्टका धामी सबै ठाउँमा र सँधै काम्छन नै भन्ने पनि हुँदैन । प्राचिन र कसै कसैले त अन्य सबै मष्ट भन्दा जेठो मष्ट भनी दावी पनि गर्ने गरेका, थुप्रै गाथा, कथा, घट्ना विवरणको इतिहास रहेको बझाङ्गको ढँढार मष्ट पनि उन्को पुरानो धामीको मृत्यू पछि हाल केहि वर्ष सम्म कुनै धामीको शरिरमा चढेका छैनन । धनन्जय गोत्रिय खुलाल खड्का हरुको बाग्लुङ्ग जिल्ला अन्तरगत हालको काँठेखोला गाउँ पालिका वाडा नं. १ पालामा रहेको स्थानमा मिति २०८१।०३।०८ गतेका दिन पुजा हुँदा, सो स्थानमा वि.सं. १८६४ सालको जेष्ठ पुर्णीमा वा मष्ट पुर्णिमाको दिन देखि शुरु भई मष्टको पहिलो धामी इन्द्रविर खड्काको समय देखि मष्टको धामी मार्फत मष्टले रक्त वली लिँदै गरी आएकोमा हालका सो स्थानमा रक्तवली लिँदै आएका सातौँ धामीले प्रत्यक्ष सोझै रक्त वली ग्रहण नगरी देवीका शक्तिपीठहरु र स्थानमा बोका वली चढाइएको जसरी रक्त वली चढाई पुजा गरिएको छ भने केहि वर्ष अगाडी पाँचौ धामी पदम बहादुर खड्काको समयमा सो स्थान पालामा दुई पुजा गराए पछि सो स्थानबाट कुल र वंशका भाईहरु फुटेर सोही हालको काँठेखोला गाउँ पालिका वडा नं. ३ धम्जाको माझकटेरी गाउँमा गरिएको पुजामा त्यहाँको पुजामा मष्टको त्यता तर्फ भने छैटौँ धामी टिका बहादुर खड्का मार्फत मष्टले प्रत्यक्ष रक्त वली ग्रहण गरी मष्ट बराहको पुजा ग्रहण गरेका छन । त्यतिबेला पालाबाट फुटेर पुजा गर्दा कश्यप गोत्रिय भण्डारीका कुल मष्ट र बराह समेत माझकटेरीमा रहने बस्ने भण्डारीका दाजुभाईहरुमा उत्रिएर पालामा पुजा हुने परम्परा अनुसार नै खड्का र भण्डारीको पुजा सँग सँगै स्थान केहि तल भण्डारीका मष्ट मामा र केहि माथि खड्काका मष्ट भान्जाको स्थान स्थापना गराई पुजाको शुरुआत भएको थियो । अहिले साठीमा टेकेको कानून ब्यवसायी र त्यतिबेला आठ दश वर्षको एक वाख्रा गोठालो यो रचनाकार पनि त्यो कुराको प्रत्यक्षदर्शी थियो ।
यसरि गरिने पुजामा, पुजा विधि र शैली भिन्न स्थान, थर र गोत्रमा भिन्न किन नहोलान तापनि मष्ट पुजा र जात्रा नै मष्ट संस्कृति र सभ्यताको लागी महत्वपूर्ण कुरा हो ।मष्ट पुजाको जात्राको मार्फतबाट खस आर्यहरुको संस्कृत धनी र सम्पन्नशाली रहेको छ । मष्ट पुजाको जात्राको समयमा नौमति बाजा पुजाको अभिन्न अंग जस्तै हुन । बाजाको धुन र नगराको साथमा जेष्ठी घरबाट देउता निकाल्न जम्मा हुने भिड र देउता सो घरबाट अनमाई सब भन्दा अगाडी नौमती बाजा, त्यसको पछाडी अग्लो बाँसमा तयार पारिएको रातो र सेतो कपडाको ठूलो ध्वजा पताका सहितको लिँगो, त्यस पछि आलम र धामी अनि वली दिइने वोका सहितको पुजामा सामेल हुने र पुजा हेर्नेहरुको लावा लश्कर सहितको जात्रा जुन वनमाणु वा कुल वा मष्टको सामुहिक पुजा गर्ने स्थान वा मन्दिर सम्म पुगेर पुजा गर्न तिर लाग्छ जसबाट मष्ट पुजा र जात्रा को आधारमा खश आर्य संस्कृति र सभ्यता धनी र सम्पन्न रहेको छ भन्ने प्रमाणीत र पुष्टी हुन्छ ।
टाढा टाढा रहने बस्ने दाजु भाईहरु मष्ट पुजाको लागी आफ्नो बाबु बाजेको उदगम थलोमा जाँदा घर परिवार मध्य त्यहाँ जानेले मात्र आफ्नो मष्ट पुजाको परम्परा र संस्कृति देख्न, जान्न र बुझ्न पाउने अन्य सन्तानहरु भने, आफ्नो यस्तो महान जात्रा र पर्व देखि विमुख रही सो बारेको ज्ञान र जानकारीबाट शुन्य अवस्थामा रहनु र बस्नु पर्ने भएकाले, देश विदेशमा रहेका सबै दाजु भाई एकै ठाउँमा भेला जम्मा भई जुटे जम्मा भएर पुजा गर्न पाउँदा त अति राम्रो नै हो । सायद यहि कुरा नै मध्य नजर गरेर पनि होला हामीहरुको कुलपुजा वा मष्ट पुजा प्रत्यक पाँच वर्षमा एक पटक गर्ने गरिन्छ । तापनि, सबै भाई बन्धु हरु जो जहाँ रहे बसेको भएता पनि आफु र आफ्ना सन्ततीहरुलाई यस्तो आफ्नो महान संस्कृति र सभ्यता सँग चिर परिचित तथा जानकार गराई राख्न, सो पुजा र जात्रामा सामेल गराउन र सबैमा आफ्नो सभ्यता संस्कृति प्रति मायाँ र अपनत्वको विकाश गराई आफ्नो संस्कृति सभ्यताको संरक्षण र निरन्तरताको लागी समेत आफ्नो पुर्खाहरुको उदगम स्थलबाट बसाइ सरी अन्यत्र गई रहे बसेका दाजु भाईहरु यदि बाह्र भाई हरु सम्म जुट्न सक्ने अवस्था भयो भने (यो मैले किन भनेको भने वि.सं. 1864 मा पालामा हाम्रो मष्टको स्थापना गरी पुजा गर्दा बाह्र जना भाईहरुले शुरुआत गरेकाले हाम्रो मष्टको धामी पतुर्दा हेर ! वाह्र भाई खड्काको कुल भनेको मै हूँ, भनी भन्ने गरेकाले यो लेखकको दाजु भाई वंशमा यो सन्दर्भ, लागु हुन सक्ने भएकाले ) मष्ट पुजा आफुहरु रहे बसेको स्थान र ठाउँमा नै गर्दा बेश हुन्छ भन्ने मेरो ठम्याई छ । यसो गर्दा कुलको वनमाणुको स्थान को लागी जग्गा जमिनको पनि आवस्यक्ता पर्ने भएकाले केहि आर्थिक भार भने पक्कै पर्छ होला नै तापनि आफ्नो संस्कृति आफु सँग लिएर हिँड्दा नै राम्रो हो जस्तो लाग्छ । किनभने जहाँ क्षेत्रिय छाइलो, त्यहाँ मेरो पाइलो भनी मष्ट स्वयंले भनेका छन भन्ने कुरा कुशा भट्ट रचित मष्टको फागमा पनि पाइन्छ ।
त्यसैले, हामी जो जहाँ छौँ, आफ्नो मष्ट पुजाको शुरुआत पनि त्यहिँ गरौँ ।
अस्तु,


