bardiyahospital

बर्दियामा बन्द हुँदै उद्योग व्यवसाय : संकटमा अर्थतन्त्र

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा तीन वर्षमा करिब एक हजार दुई सय उद्योग व्यवसाय बन्द भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार तीन वर्षमा एक हजार एक सय ९३ उद्योग व्यवसाय बन्द भएको हो ।

उद्योग तथा व्यवसाय बन्द गर्नेको संख्या बढ्दै गएपछि अर्थतन्त्रमा संकट पर्नुका साथै उद्योगी–व्यवसायी पलायन हुँदै गएका छन्। विगत तीन वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्ष ०८२र८३ मा ३०६, आर्थिक वर्ष ०८१र८२ मा ५२२ र आर्थिक वर्ष ०८०र८१ मा ३६५ उद्योग तथा वाणिज्य फर्मका बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

cld

उद्योग व्यवसायहरू बन्द भएसँगै स्थानीय स्तरमा रोजगारीका अवसरहरू गुम्दै गइरहेको छ । बन्द हुने उद्योग व्यवसायको तुलनामा नयाँ दर्ता हुने उद्योग व्यवसायको संख्या भने निकै कम छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ मा १३, आर्थिक वर्ष ०८१/८२ मा १२ र आर्थिक०८०/८१ मा १५ उद्योग तथा वाणिज्य फर्म दर्ता भएको कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख इन्द्रराज खत्रीले कार्यालयमा उद्योग व्यवसाय दर्ता गर्न आउनेभन्दा बन्द गर्ने आउनेको संख्या बढी रहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘स्थानीय तहमा पनि व्यापार–व्यवसाय दर्ता गर्न सकिने व्यवस्था भएको हुँदा यहाँ उद्योग–व्यवसाय दर्ता गर्न आउनेको संख्यामा कमी आएको हुन सक्छ ।’

उद्योग व्यवसाय स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भए पनि स्थायी लेखा नम्बर लिन कर कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय आउनुपर्ने हुन्छ।

कोष तथा लेखा नियन्त्रक, कार्यालयका अनुसार आर्थिक वर्ष ०८२र८३ मा तीनवटा साझेदारी फर्म तथा ३० वटा प्राइभेट कम्पनी, त्यसैगरी आर्थिक वर्ष ०८१र८२ मा ६ वटा साझेदारी फर्म, १७ वटा प्राइभेट कम्पनी र आर्थिक वर्ष ०८०र८१ मा दुईवटा साझेदारी फर्म, २६ वटा प्राइभेट कम्पनीले स्थायी लेखा नम्बर लिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त प्रमुख कोष नियन्त्रक सुरेन्द्र बहादुर थारूले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय उद्योग व्यवसाय स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भए पनि स्थायी लेखा नम्बर लिन नआउने समस्या रहेको छ । स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर पनि स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ । तर, कतिपय व्यवसायीले स्थायी लेखा नम्बर नलिएको र कारोबार नगरेको पाइएको छ । स्थायी लेखा नम्बर नलिएको र कारोबार नगएको उद्योग व्यवसायीलाई आर्थिक विधेयक ०८३ अनुसार विभिन्न छुट दिएर दर्ता प्रक्रियामा आउन आह्वान गरिएको छ । यो सेवा लिन आन्तरिक राजस्व कार्यालय र कोष तथा नियन्त्रक कार्यालयबाट लिन सकिन्छ ।’

उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले स्थानीय उपभोक्ताहरू सीमावर्ती बजारमा किनमेल गर्न जाने हुँदा बर्दियाको व्यापार घटेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘कोभिडको समयमा व्यापार–व्यवसाय ठप्प भयो । व्यवसाय चल्न सकेन । लामोसम्म व्यापार व्यवसाय बन्द हुँदा धेरै व्यवसायीले बैंकबाट लिएको ऋण तिर्न सकेनन् । त्यसको असर अहिले देखिन थालेको छ।’

उद्योग–व्यवसाय बन्द हुनुमा कोभिड, बैंकबाट सहज रूपमा ऋण नपाउनु, ऋण लिने बैंकिङ प्रक्रिया झन्झटिलो हुनु र ब्याजदर चर्को हुनुका साथै उपभोक्ताले पनि भारतीय सीमावर्ती क्षेत्र किनमेल गर्न जानु रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

बबई बहुमुखी क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक श्यामबहादुर थारूले व्यापार–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी गुम्ने र बेरोजगारीको समस्या बढ्ने बताउनु भयो । । ‘उद्योग–व्यवसाय बन्द हुँदा उद्योगबाट उत्पादन हुने वस्तुको उत्पादन घट्छ । उत्पादन घटेसँगै बजारमा वस्तुको अभाव हुन्छ र वस्तुको अभाव हुँदा त्यसको असर मूल्य वृद्धिमा पर्ने परेको छ,’ उहाँले भन्नुभयो, ‘व्यापार व्यवसाय बन्द हुँदा आर्थिक कारोबार घट्ने हुनुका साथै र बैंकमा पुर्जीको सञ्चितदर बढ्छ जान्छ। जसले गर्दा अर्थतन्त्र चलायमान हुन सक्दैन । र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा नकारात्मक रूपमा देखिन्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.