
बर्दिया। बर्दियामा प्रहरीले अवैध रुपमा भन्सार छली गरेर ल्याइएको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीले अवैध रुपमा भन्सार छली गरेर ल्याइएको सामान बरामद गरेको छ ।
मधुवन नगरपालिका, ९ गाउँ नं. १२ मा रहेको ताज एग्रोमेट सेन्टरमा भन्सार छलीका सामान राखिएको विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा १ लाख १९ हजार २ सय रुपैयाँ बराबरका सामान बरामद गरेक प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले सेन्टरका सञ्चालक ताज मोहम्मद गुजरको भाइ अजमल गुजरलाई खानतलासीको पुर्जी दिई पसल तथा गोदाममा खानतलासी गरेको थियो । खोजतलास गर्दा ५० किलोको १८ बोरा युरिया मल, २५ किलोका १० बोरा मोनी जिंक, दुई थान हाइमेटिक ट्याङ्की, २६ पिस फिटर इन्सेक्टिसाइड, कुखुराको दाना राख्ने साना ५० र ठूला २५ वटा भाँडा तथा कुखुराको पानी राख्ने साना ५० र ठूला २५ वटा भाँडा पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छोटी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।


