
प्रकाश पौडेल, गुलरिया । बर्दियामा रेबिज विरुद्धको एन्टी रेबिज भ्याक्सिन छ महिनादेखि अभाव हुँदा कुकुर लगायत जनावरको टोकाइमा परेका बिरामीले सास्ती भोग्नु परेको छ।
जिल्ला रहेका स्वास्थ्य संस्थामा भ्याक्सिनको अभाव भएपछि बिरामीहरू भ्याक्सिन लगाउन बाहिर जान बाध्य भएका छन् । रेबिज कुकुर, बिरालो तथा जङ्गली जनावरको टोकाई वा सम्पर्कबाट सर्न सक्ने प्राण घातक रोग हो। रेबिजका लक्षण देखिएपछि उपचार नहुने भएकाले समयमा एन्टी रेबिज भ्याक्सिन लगाउनु पर्ने बर्दिया अस्पताल, गुलरियाका मेडिकल अधिकृत डा. भरत भण्डारीले बताउनुभयो।

सरकारले एन्टी रेबिज भ्याक्सिनलाई अत्यावश्यक औषधिका रूपमा राखेको छ । सोही अनुसार भ्याक्सिन निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । तर सरकारले भ्याक्सिन पर्याप्त मात्रामा नपठाउँदा बर्दियामा चैतको पहिलो सातादेखि अभाव भएको हो। लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले अहिलेसम्म भ्याक्सिन उपलब्ध नगराएको स्वास्थ्यकर्मीले बताएका छन्। यद्यपि बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिकाले आन्तरिक बजेटबाट एन्टी रेबिज भ्याक्सिन खरिद गरी आफ्ना स्वास्थ्य संस्थामा अभाव हुन दिएका छैनन्।
बर्दिया अस्पतालमा कुकुरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि मागअनुसार भ्याक्सिन उपलब्ध नहुँदा कतिपय बिरामी खोप नलगाई फर्किनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो। उहाँले पछिल्लो समय एन्टी रेबिज भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।‘एण्टी रेबिजको भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढेको छ। तर लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप पठाएको छैन। जसका कारण बिरामी खोप नलगाएर फर्किनुपर्ने बाध्यता रहेको छ,’ उहाँले भन्नुभयो।
प्रत्येक वर्ष जनावरको टोकाइबाट स्वास्थ्य संस्थामा आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि सरकारले मागअनुसार पर्याप्त भ्याक्सिन उपलब्ध नगराउँदा बर्दियामा हरेक वर्ष खोप अभाव हुने गरेको छ।


