bardiyahospital

भोटेकोशी बाढीः बर्दियाका ९० जना सम्पर्कविहीन

Geruwa GIF

कृष्णसार अनलाइन । रसुवा र धादिङमा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका बर्दियाका ९० जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बर्दियाका विभिन्न स्थानीय तहबाट मजदुरी तथा अन्य कामका लागि रसुवा र धादिङ पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन हुनेमा बारबर्दिया नगरपालिकाका २६ जना, बाँसगढी नगरपालिकाका १८ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना, राजापुर नगरपालिकाका १६ जना, गुलरिया नगरपालिकाका दुई जना, मधुवन नगरपालिकाका एक जना र गेरुवा गाउँपालिकाका १४ जना रहेका छन्।

cld

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले विभिन्न स्थानीय तहबाट प्राप्त विवरणअनुसार ९० जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो।

बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले आफ्ना नागरिकको अवस्था यकिन गरी तत्काल खोजी तथा उद्धारका लागि पहल गर्न प्रशासनसँग आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।

रसुवामा आएको बाढीका कारण मजदुरी तथा अन्य कामका लागि पुगेका बर्दियाका नागरिक प्रभावित भएपछि उनीहरूका परिवारमा चिन्ता बढेको छ। प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायले सम्पर्कविहीन व्यक्तिहरूको थप विवरण संकलन गरी खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.