bardiyahospital

बुट

कविता

Geruwa GIF

_भुपेन्द्र बुढाथोकी

 

यो केवल एउटा बुट होइन

cld

यो फर्किन बाँकी एउटा वीरको पाइला हो। 

 

हिजोसम्म यही बुटभित्र

एउटा राष्ट्रसेवकका साहसी पाइला थिए—

जो आफ्नो ज्यानको चिन्ता नगरी

अरूको जीवन बचाउन लडिरहेका थिए।

 

तर आज 

बुट किनारामा भेटियो,

त्यो बुट लगाएर हिँड्ने पाइला अझै भेटिएन। 

 

सायद यो निर्जीव बुटलाई थाहा छ—

अन्तिमपटक ती पाइला कहाँ टेकिएका थिए,

कसैको जीवन बचाउन कति जोडले दौडिएका थिए,

र उर्लिएको भेलसँग कति बेर संघर्ष गरेका थिए।

तर अफसोस

बुटसँग कथा छ, आवाज छैन;

नदीसँग उत्तर छ कि छैन, कसैलाई थाहा छैन।

 

कतै एउटी आमा

ढोकातिर आँखा बिछ्‌याएर

“मेरो छोरो आउँछ” भन्दै होलिन्

कतै श्रीमतीको हरेक धड्कन

एउटै खबरको प्रतीक्षामा अडिएको होला

कतै साना छोराछोरीले अझै सोधिरहेका होलान्—

“बाबा कहिले घर आउनुहुन्छ ?”

 

यी प्रश्नको उत्तर कसले दिने ?

किनारामा एक्लै भेटिएको यो बुटले  ?

कि मौन भएर बगिरहेकी त्यो नदीले  ?  

 

राष्ट्रसेवा केवल पोसाक लगाउनु होइन रहेछ,

कहिलेकाहीँ अरूको जीवन जोगाउन

आफ्नै जीवनलाई भेलको जिम्मा लगाउनु पनि रहेछ।

 

आज त्यो बुट मौन छ,

तर त्यसको मौनताभित्र

कर्तव्यको गर्जन छ,

परिवारको चित्कार छ,

सिंगो राष्ट्रको प्रार्थना छ।

 

हे भगवान् 

त्यो परिवारको आशाको दियो निभ्न नदिनू।

यो बुट लगाएर देशका लागि दौडिएका

ती वीर पाइला फेरि आफ्नै घरको आँगनमा टेकून्।

एउटी आमाले आफ्नो सन्तानलाई अँगाल्न पाऊन्,

परिवारको प्रतीक्षा खुसीमा बदलियोस्।

 

बुट भेटिएको छ…

अब हाम्रो एउटै प्रार्थना छ—

त्यो बुट लगाउने हाम्रा साथी पनि सकुशल भेटिऊन् । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.