
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन भइरहेको रात्रिकालीन गेरुवा मेलामा स्थानीय थारू परिकार आकर्षणको केन्द्र बन्दै गएको छ। मेला अवलोकन गर्न आउने दर्शकको रोजाइमा स्थानीय थारू परिकार पर्न थालेपछी थारू परिकार मेलाको मुख्य आकर्षण बन्न थालेको हो।
स्थानीय थारू महिलाहरूले स्थानीयस्तरमा पाइने अनदीको चामलबाट बनाइएका रोटी, ढिक्री, घोँगी, लोकल कुखुरालगायतका मौलिक थारू परिकार तथा खाजा बिक्रीवितरण गरिरहेका छन्।

गेरुवा गाउँपालिका, ४ गोबिन्दपुरकी सम्पती थारू सहित पाँच जना महिलाले संयुक्त रूपमा अर्गानिक थारू परिकारको नास्ता पसल सञ्चालन गरिरहेका छन्। नास्ता पसलमा विशेषगरी थारू समुदायको लोकप्रिय परिकार ढिक्रीलगायत विभिन्न परिकार बिक्री हुँदै आएको सम्पती थारूले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मेलामा थारू परिकारको माग बढेसँगै दैनिक रूपमा राम्रो आम्दानी भइरहेको छ।”
मेलाले स्थानीय उत्पादन तथा मौलिक थारू परिकारको प्रचारप्रसारसँगै स्थानीय महिलाको आयआर्जनमा समेत सहयोग पुगेको थारू को भनाइ छ।


