
कृष्णसार अनलाइन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार रातिसम्म १ हजार ३ सय ३८ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा १ सय ६३ जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय १९ जना गरी १ हजार ३ सय ३८ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३० वटा शव माटो मुनि सुरक्षित राखिएको गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६९ र आफन्तका १ हजार ६७ गरी कुल २ हजार ३ सय ३६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । पहिचान नभएको १ हजार २ सय ९७ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ४४ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिहरूलाई राखिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।


