
प्रकाश पौडेल, गुलरिया । बर्दियामा अपाङ्गता भएकाहरूलाई हस्तकला सामग्री निर्माणसम्बन्धी तालिम दिइएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले हस्तकला सामग्री निर्माणसम्बन्धी तालिम दिइएको हो।
स्थानीय स्तरमा पाइने बेतलाई प्रयोग गरेर भान्सा मुढा, सादा मुढा, हाप स्टिक चियर, फूलदानी, किताब र्याक निर्माण गर्न सिकाइएको बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्रले जनाएको छ । बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले सुनाई र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बेतको सामग्री बनाउन सिकाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अपाङ्गका भएका व्यक्तिलाई सीप सिकाएर आयआर्जन गरी आत्मनिर्भर बनाउन तालिम दिइएको हो। अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाए अरूजस्तै काम गर्न सक्छन् र आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण तालिममा सहभागीले देखाएका छन्।’

सुनाई सम्बन्धी अपाङ्गता भएका बढैयाताल गाउँपालिका– ८ का नवराज पोख्रेलले तालिममा सिकेको सीपलाई व्यावसायिक रूपमा गर्ने चाहना भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ अहिलेसम्म भान्सा मुढा, सादा मुढा, हाप स्टिक चियर, फूलदानी बनाउन सक्छु। सिकेको सीपलाई अझै राम्रो बनाएर व्यावसायिक रूपमा काम गर्नेछु।’
बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्रले सीपमूलक तालिम दिएर सीप सिक्ने अवसर दिएको सुनाई र बोलाइसम्बन्धी अपाङ्गता भएका बढैयाताल– ८ का रुद्रबहादुर खड्काले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी घरमै बसेर आम्दानी गर्न सक्ने गरी तालिम सिक्न मन छ।’


