
कृष्णसार अनलाइन । बर्दियाको गुलरिया नगरपालिका– ८ सर्जु टपरा टोलमा बाढी तथा विपद् प्रभावित परिवारका लागि निर्माण गरिएको सुरक्षित आवास क्षेत्र नै डुबानमा परेको छ। बाढी तथा विपदबाट प्रभावित २७ परिवारका लागि निर्माण गरिएको आवास क्षेत्रमा लगातारको वर्षापछि डुबान भएको हो।
सर्जु टपरा टोलको पानी नलाग्ने क्षेत्रमा बस्दै आएका २७ परिवारलाई अहिले बसिरहेको स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने भन्दै पालिकाले सर्जु नदी तटीय क्षेत्रमा सारेको थियो। बस्ती सार्दा पालिकाले सुरक्षित आवास क्षेत्र भन्दै प्रतिपरिवार एक कठ्ठा जग्गा, भान्सा सहितको तीनकोठे घर र शौचालय निर्माण गरिदिएको थियो।

बाढी तथा विपद्का कारण घरमा क्षति पुगेका र जोखिमपूर्ण अवस्थामा रहेका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले गुलरिया नगरपालिकाले ‘आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण कार्यक्रम’ सञ्चालन गरेको थियो। घर निर्माणका लागि पालिकाले दुई लाख रुपैयाँ, कारितास नेपालले एक लाख ६९ हजार ७१४ रुपैयाँ र समुदायले दुई लाख ६१ हजार ५०६ रुपैयाँ बराबर योगदान गरेका थिए। तीनवटै पक्षको योगदानमा घर निर्माण गरिएको हो। पालिकाले सुरक्षित आवास क्षेत्र भनेर सारेको बस्ती नदी तटीय क्षेत्र भएकोले अहिले सुरक्षित आवास क्षेत्र डुबानमा परेको छ।
त्यसबाहेक १७ भूमिहीन सुकुम्बासी पनि डुबानको जोखिममा छन्। नदी तटीय क्षेत्रमा निर्माण गरिएको बस्ती नै डुबानको जोखिममा परेपछि बाढी प्रभावित परिवारका लागि बनाइएको ‘सुरक्षित आवास’ असुरक्षित बनेको छ। आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत २०८२ असार १७ गते पुनर्निर्माणको काम सुरु भएको थियो। २०८३ असार १६ गते निर्माण सम्पन्न भएको उक्त आवास क्षेत्र अहिले वर्षाका कारण डुबान भएको हो।


