यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाको गाडी चुनावी प्रचार प्रसारको लागि दुृरुपयोग भएको आरोप लगाईएको छ । नेकपा एमाले लगाएतका पार्टीले रातीको समयमा चुनावी प्रचार प्रसारका लागि नगरपालिकाको भे १ झ २६५ नं गाडीको दुरुपयोग भएको आरोप लगाएको हो ।
राती करिब १० बजेको समयमा बारबर्दिया नगरपालिका वडा नं २ मा बारबर्दिया नगरपालिकाका लेखा अधिकृत बसन्तबहादुर शाही, शिक्षा शाखा प्रमुख एवं बारबर्दिया नगरपालिकाका सहायक मतदान अधिकृत टिकानाथ गोसाई र रोजगार संयोजक रामबहादुर थारु गाडी सहित फेला परेका थिए । नेकपा एमालेका कार्यकर्ता लगाएतका स्थानीयवासीले पिछा गरी बारबर्दिया नगरपालिका वडा नं ६ जयनगर बजारमा लेखा अधिकृत बसन्तबहादुर शाही सहित गाडी नियन्त्रणमा लिएका थिए ।
नेकपा एमालेका तर्फबाट बारबर्दिया नगरपालिकाका नगरप्रमुख उम्मेदवार पदम ढकालले चुनाव प्रचार प्रसारमा हिँडेको बेला नियन्त्रण लिईएको बताउनु भयो । उहाँले गाडी भित्र नेकपा माओवादीको झण्डा, पर्चा, घोषणा पत्र र १७ हजार रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको दावी गर्नु भएको छ । उहाँले रातीको समयमा सरकारी गाडीको दुरुपयोग गर्दै रकम बाँड्ने र चुनाव प्रचार प्रसार गरेको आरोप लगाउनु भएको छ ।
यता सहायक निर्वाचन अधिकृत समेत रहनु भएका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले साथीको घरमा खाना खान गएको र फर्कने बेलामा गाडी नियन्त्रणमा लिइएको बताउनु भयो । उहाँले भन्नु भयो –‘हामी एक जना शिक्षक साथीको घरमा खाना खाएर फर्कदै गर्दा बाटैमा गाडी रोकेर नियन्त्रणमा लिईयो । म र एक जना साथी भाग्न सफल भयौँ, लेखा अधिकृत शाहीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । ’ गाडीमा झण्डा, पर्चा र घोषणा पत्र केही पनि नभएको उहाँ बताउनु हुन्छ ।
रातीको समयमा सरकारी गाडीको दुरुपयोग गरेको र निर्वाचन आचारसंहिता विपरीतको क्रियाकलाप गरेको आरोप लगाउँदै नेकपा एमाले, नेपाली काँग्रेसका कार्यकता लगाएत स्थानीयवासीले तिनै जनालाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
आज विहान बसेको सर्वदलिय सर्वपक्षिय छलफलमा संलग्न रहेका कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने सहमती भएको छ । घटनास्थलमा रहेको गाडीको सर्जिमिन मुचुल्का समेत गरीएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले घटना स्थलमा रहेको गाडीमा नेकपा माओवादीको झण्डा र पुष्पकमल दहाल प्रचण्डले लेखेको ‘गणतन्त्रको पहिलो दशक’ नामक पुस्तक फेला परेको बताउनु भएको छ । गाडीको अवस्थाको बारेमा सर्जिमिन मुचुल्का गरी सम्बन्धीत निकायमा पठाईएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनु भयो ।
बारबर्दिया नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईले शिक्षक साथीको घरमा खाना खाएर फर्कदै गर्दा एमालेको मेयर सहितको उम्मेदवारहरु प्रचार गरेर फर्कदै गर्दा जयनगरमा भेटेर गाडीको साँचो र सामानहरु बरामद गरेको बताउनु भयो । उहाँले सहायक निर्वाचन अधिकृत सहित कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाई सकिएको बताउनु भयो ।