गुलरिया नगरपालिकाले बाँड्यो करिब ३९ लाख रुपैयाँको धोती, कम्बल र झुल
महालेखा भन्छ, अनुत्पादक एवं वितरणमुखी खर्च नियन्त्रण गर्नुपर्छ

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाले करिब ३९ लाख रुपैयाँ बराबरको धोती (साडी), कम्बल र झुल लगायतका सामाग्री वितरण गरेको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो नगरपालिकाले आ.व. २०७७/०७८ मा जनप्रतिनिधि मार्फत उक्त सामाग्रीहरु वितरण गरेको खुलेको हाे।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले अधिकतम प्रतिफल दिने र पूँजी निर्माण हुने योजना छनौट तथा कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख छ । तर, गुलरिया नगरपालिकाले भने ३८ लाख ५६ हजार रुपैयाँ बराबरको धोती, कम्बल, झुल लगायतका अन्य अनुत्पादक सामान खरीद गरी बाँडेको छ ।


सामाग्री वितरण गर्नुपर्ने आधार र लाभग्राही छनौटको आधार समेत स्पष्ट नभएका अनुत्पादक र प्रतिफल नदिने यस्ता वितरणमुखी कार्यक्रमको खर्च नियन्त्रण गर्नुपर्ने निष्कर्ष समेत महालेखाको रहेको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार बर्दियाका आठपालिका मध्ये बेरुजु रकम धेरै हुनेमा गुलरिया नगरपालिका तेश्रो स्थानमा छ । प्रतिवेदन अनुसार २ अरब १० करोड ४१ लाख ८६ हजार रुपैयाँ रकम लेखापरीक्षण गरिएकोमा ३.०६ प्रतिशत अर्थात ६ करोड ४४ लाख ६० हजार रुपैया बेरुजु देखिएको छ ।


