bardiyahospital

महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच बाहिर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ । बर्दियामा रहेको ८ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविका मध्ये ४ सय ९५ जना स्वास्थ्य बिमाको पहुँचबाहिर रहेको पाइएको हो।

स्वास्थ्य बिमा बोर्डको तथ्याङ्क अनुसार जिल्लामा ३ सय ४१ जना महिला स्वास्थ्य स्वयंसेविका मात्र स्वास्थ्य बिमामा आबद्ध छन् ।बर्दियाका आठ स्थानीय तहमा गरी ८ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । जसमध्ये बारबर्दिया नगरपालिकामा १ सय ३०, ठाकुरबाबा नगरपालिकामा ८३, मधुवन नगरपालिकामा १ सय ७, गुलरिया नगरपालिकामा १ सय ९, राजापुर नगरपालिकामा १ सय ३३, बाँसगढी नगरपालिकामा १ सय ३, गेरुवा गाउँपालिकामा ७२ र बढैयाताल गाउँपालिकामा ९९ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

cld

महिला स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा स्वास्थ्य सेवा र जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि ठूलो संख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न चालू आर्थिक वर्ष २०८३/०८४ मा बारबर्दिया र ठाकुरबाबा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमाका लागि बजेट विनियोजन गरेका छन् ।मधुवन नगरपालिकाले भने गत आर्थिक वर्ष २०८२/०८३ मा महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो । चालू आर्थिक वर्षमा भने बिमाका लागि बजेट विनियोजन नगरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।गुलरिया, राजापुर, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गराउने विषयमा बजेट तथा कार्यक्रममार्फत उल्लेख्य चासो नदिएको जनाइएको छ ।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाका प्रमुख डिकेन्द्र बिष्टका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य बिमा गर्दा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । छुट प्राप्त गर्न सरकारले उपलब्ध गराएको महिला स्वास्थ्य स्वयंसेविकाको परिचयपत्र दर्ता सहयोगीलाई उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।  स्वास्थ्य बिमामा आबद्ध महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थामा उपचार गराउँदा सहभुक्तानी समेत उहाँले  तिर्नु नपर्ने बताउनु भयो ।  “महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमामा आबद्ध गराउँदा उहाँहरूलाई मात्र नभई परिवारका सदस्यलाई समेत स्वास्थ्य उपचारमा सहज पहुँच हुन्छ,” बिष्टले भन्नुभयो ।

हालसम्म बर्दियामा ३ सय ४१ जना महिला स्वास्थ्य स्वयंसेविकासहित उहाँहरूका २ हजार ८ सय ३० जना परिवारका सदस्य स्वास्थ्य बिमामा आबद्ध भएर सेवा लिइरहेका छन् ।समुदायमा स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, सरसफाइ र स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा अग्रपङ्क्तिमा रहेर काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको ठूलो संख्या नै स्वास्थ्य बिमाको पहुँचबाहिर रहनु चुनौतीका रूपमा देखिएको छ ।

स्थानीय तहले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमामा आबद्ध गराउन आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गर्न सके उनीहरू र परिवारका सदस्यले उपचारमा सहज सेवा पाउनुका साथै जिल्लामा स्वास्थ्य बिमामा आबद्ध हुने नागरिकको सङ्ख्यासमेत बढाउन सकिने देखिन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.