bardiyahospital

मादल बज्छ, मुजुरा झन्किन्छ : सखियामा नाच्छ बालापुर गाउँ 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  साँझ परेपछि बालापुर गाउँ संगीतमय बन्छ। दिउँसोको काम सकेर सबैजना एउटै ठाउँमा जम्मा हुन्छन् । कोही मादल बोकेर आउँछन्। कोही मुजुरा लिएर। परम्परागत पोशाकमा सजिएका थारू समुदायका महिला पुरुष गोलाकार भएर उभिन्छन्। र मादलको तालसँगै मुजुरा बज्न थाल्छ। अनि सुरु हुन्छ सखिया नाच।

गुलरिया नगरपालिका, ५ बालापुरमा साँझ साढे सात बजेपछि आजकाल यस्तो दृश्य देखिन्छ। यो नाचमा भगवान कृष्णको जीवनी वा चरित्रको व्याख्या गरिन्छ । प्रत्येक बर्ष दशैँ नजिकिन थाालेपछि शुरु गरि करिव एक महिनासम्म नाचिने गरिन्छ सखिया नाच । पहिले प्रत्येक वर्ष चौधरी गाँउमा देखिने सखिया अहिले पातलिदै गएको छ । जसको निरन्तरता भने बालापुर गाँउले  दिइरहेको छ । 

cld

दशैँ नजिकिएसँगै बालापुर गाउँमा सखिया नाचको अभ्यास सुरु भएको छ। पुरानो पुस्तासँगै नयाँ पुस्ता बालबालिका, युवायुवती पनि नाचमा सहभागी हुन्छन् । मादलको तालमा खुट्टाका चाल मिल्छन्। मुजुराको आवाजले वातावरणलाई थप लयात्मक हुन्छ। केहीबेर अघिसम्म सामान्य गाउँजस्तो देखिएको बालापुर गाउँ साँझ परेपछि सखिया नाचको संस्कृतिमा रङ्गमा रङ्गिन्छ। 

विवाह, भोज तथा विभिन्न चाडपर्वमा डिजेको प्रयोग बढेसँगै मादलको आवाज सुनिन छाडेको छ। तर, बालापुरमा अवस्था केही फरक छ। यहाँका स्थानीयले आफ्नो पुरानो संस्कृति जोगाउन हरेक साँझ सखियाको अभ्यास गरिरहेका छन्। ‘सखिया नाच हाम्रो संस्कृति हो। यसलाई नयाँ पुस्ताले पनि सिक्नुपर्छ,’ स्थानीय दिनेश चौधरी भन्नुहुन्छ, ‘अहिलेका बालबालिका र युवायुवतीलाई पनि सहभागी गराएर  नाच सिकाउने प्रयास भइरहेको छ।’

चौधरीका लागि सखिया एउटा नाच मात्र होइन। यो पुर्खाले छाडेर गएको सांस्कृतिक चिनारी हो । अब यो चिनारीलाई अर्को पुस्तासम्म पुर्‍याउने आवश्यक छ । सखिया नाचको अभ्यासमा पुरानो पुस्ता मात्र हैन  नयाँ पुस्ताका युवायुवती र बालबालिका पनि सहभागी छन् ।  पुरानो पुस्ताले नाचेको हेर्दाहेर्दै नयाँ पुस्ताले नाचको चाल सिक्न पाएका छन् । मादलको तालसँग खुट्टा मिलाउन ज्ञान पाएका छन् । मादलको ताल र मुजुराको आवाजसँग आफ्नो चाल कसरी मिलाउने भनेर सिक्न पाउनु नयाँ पुस्ताको लागि अवसर हो ।

कुन चाल कहाँबाट सुरु हुन्छ रु कुन तालमा शरीरको गति परिवर्तन हुन्छ रु कसरी समूहमा एकैपटक चाल मिलाउने रु  यो पढेर होइन, अग्रजहरूले गरेको देखेर सिक्ने अवसर नयाँ पुस्ताले पाएको छ। नियमित अभ्यासले सखियाको मौलिक शैली सिक्न सहज हुने गरेको  चौधरी बताउनुहुन्छ। उहाँले भयो ‘अहिलेका नयाँ पुस्ता पनि चासो दिएर आउन थालेको छन्  यसरी नै सिकाउँदै गएपछि संस्कृति हराउँदैन  संस्कृति  जोगाउन सकिन्छ।’ 

साँझपख एउटै ठाउँमा भेला भएर नाच्दा मनोरञ्जन मात्र हुँदैन। गाउँका मानिसबीच भेटघाट हुन्छ। कुराकानी हुन्छ। एकअर्कासँगको सम्बन्ध बलियो हुन्छ। सामूहिक रूपमा नाच्दा सहकार्य र सामूहिकताको भावना पनि बढ्छ । थारू गाउँमा दशैँको आगमनसँगै सखिया नाचको रौनक बढ्दै गएको छ ।गाउँका चोक, चौराहा तथा सार्वजनिक स्थानमा महिला पुरुष भेला भएर सखिया नाच्न थालेका छन् । मादल र मुजुराको तालमा नाचिने सखियाले थारू समुदायको मौलिक जीवनशैली, कला र सांस्कृतिक पहिचान बोकेको छ। त्यसैले बालापुरमा भइरहेको अभ्यास दशैँका लागि गरिने तयारी मात्रै होइन, संस्कृतिलाई निरन्तरता दिने एउटा प्रयास पनि हो। प्रतिबद्धता हो ।

आफ्नै पुर्खाले छाडेको नाच, बाजा र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने चुनौतीको बिचमा  बालापुरका स्थानीयले सखियालाई साँझको नियमित अभ्याससँग जोडेर सखिया नाच संरक्षण गर्न खोजेका छन् ।आधुनिकताको प्रभावसँगै कतिपय मौलिक कला, संस्कृति र परम्परा हराउँदै जाने जोखिम बढेको छ। परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने अभ्यास कमजोर हुँदै गएमा पुस्तौँदेखि चलिआएको संस्कृति नयाँ पुस्ताले नचिन्न सक्ने अवस्था आउन सक्छ । त्यसैले सखिया नाचको संरक्षणका लागि समुदायले सचेत हुन जरुरी छ । नयाँ पुस्तालाई सहभागी गराउने, नियमित प्रशिक्षण सञ्चालन गर्ने र परम्परागत बाजा तथा नाचका अभ्यासलाई निरन्तरता दिने कामले सखियालाई जीवन्त राख्न मदत गरेको छ ।

बालापुरमा हरेक साँझ जम्मा हुने मानिसहरूका लागि त्यो केही घन्टाको नाच मात्रै होइन्। त्यो आफ्नै पहिचानसँग जोडिने  पुर्खाले सिकाएको संस्कृतिको संरक्षण पनि हो ।साँझ परेपछि गाउँमा बिस्तारै कोलाहल हराउँछ। अनि बज्न थाल्छ मादल । झन्छिन्छ मुजुरा र गोलाकार भएर उभिएका महिला पुरुषका पाइला एकै तालमा ताल मिलाएर नाच्न थाल्छन्  सखिया नाच ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.