
प्रकाश पौडेल
गुलरिया /
वाङ्गमय विकासका लागि संस्कृत भाषाको अपरिहार्यता रहने बर्दियाको गुलरियामा आयोजित साहित्यिक कार्यक्रममा सहभागी स्रष्टाको निष्कर्ष रहेको छ ।
११४ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा ८५ औँ कविगुरु यज्ञप्रसाद सुवेदीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीय अध्यक्षले यो कुरा औंल्याउनु हुँदै महाकवि देवकोटा सहरमा जन्मेर गाउँ र जनजीवनका विषयमा र कविगुरु यज्ञप्रसाद सुवेदी गाउँमा जन्मेर सहरका विसङ्गतिहरू कलम चलाएको स्मरण गर्नुभयो । कविगुरुको लेखनमा सैद्धान्तिक प्रयोग तथा अभ्यासमा कमी भयता पनि वहाँको सरल लेखन शैलीका माध्यमबाट समाजलाई योगदान दिनुभएको स्मरण गर्नुभयो । साहित्यका क्षेत्रमा बोल्ने भन्दा पनि सिर्जनशील काम गरेर देखाउनुपर्ने आजको आवश्यकता रहेको औँल्याउनु हुँदै भेरी साहित्य समाजले सिङ्गो काठमाडौँलाई मोफसलमा ल्याउन सफल भएको बताउनुभयो ।


महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वका बारेमा कवि तथा भेरी साहित्य समाजका केन्द्रीय सदस्य ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ र कवि यदु नन्दन पौडेलले कविगुरु यज्ञप्रसाद सुवेदीको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको कार्यक्रममा कविगुरु यज्ञप्रसाद सुवेदीको १६ औँ औपन्यासिक कृति ‘सपना’ को आवरण पृष्ठको लोकार्पण गरिएको थियो । आवरण पृष्ठको कला सज्जा कलाकार विक्रम शिशिर र गोपाल राज न्यौपानेले गर्नु भएको हो ।

यसैगरी कार्यक्रममा गीत सङ्गीतका माध्यमबाट सानै उमेरमा नै बर्दिया जिल्लालाई चिनाउन सफल युवा प्रतिभा संजीव चौधरीलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । संजीव चौधरीले महाकवि देवकोटा तथा नारायण गोपालका सुगम सङ्गीत लगायत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय सदस्य टीकाराम तिमिल्सिना, समाजसेवी तथा साहित्यकार किशोर गौतम, प्रगतिशील लेखक सङ्घ बर्दिया अध्यक्ष हरिप्रसाद जोशी, कृष्णसार पाठक मञ्चका प्रकाश पौडेल, सोमनाथ लुइँटेल, भूमिराज लामिछाने, प्रश्ना सुवेदी, विजया सुवेदी, सभ्यता पण्डित, लक्ष्मण भण्डारी, जनकराज पोख्रेल, लक्ष्मी खनाल ‘अभि’, विष्णुप्रसाद तिमिल्सिना लगायतले साहित्यिक रचना वाचन गर्नुभएको थियो । वि.सं. १९६६ साल कात्तिक २७ गते लक्ष्मी पूजाका दिन जन्मिएका नेपाली साहित्यको क्षेत्रका जाज्वल्यमान नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य भण्डारमा दर्जनौं कृतिहरू दिएर वि.सं. २०१६ सालभाद्र २९ गते भौतिक रुपमा विदा हुनुभएको थियो भने कविगुरु यज्ञप्रसाद सुवेदी पर्वत जिल्लामा १९९५ साल कात्र्तिक १२ गते जन्मिनु भई बर्दिया जिल्लामा चार दशक लामो समय सम्म साहित्य, शिक्षा, कर्मकाण्डका जीवन व्यतित गर्नुभई वि.सं. २०७० सालकात्तिक १ गतेका दिन स्वर्गारोहण हुनुभएको थियो । वहाँले धार्मिक तथा साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदानका कारण समाजले वहाँलाई कविगुरुको उपनाम दिएको हो । कविगुरुका जीवनकालमा १० ओटा कृति तथा तत्पश्चात ६ ओटा गरी १६ ओटा कृतिहरू प्रकाशित भइसकेका छन् भने अन्य कृतिहरू प्रकाशनको तयारीमा रहेका वहाँका कान्छा सुपुत्र प्रभात सुवेदीले बताउनुभयो ।
कविगुरु यज्ञप्रसाद सुवेदीकी धर्मपत्नी भीमा सुवेदीको उपस्थिती रहेको यो कार्यक्रमको सहजीकरण भेरी साहित्य समाज बर्दियाका सचिव प्रभात सुवेदीले गर्नुभएको थियो ।


