
बर्दिया । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन थालिएसंगै प्रशासनमा नागरिकता लिनेहरुको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले जोर विजोर प्रणाली लागु गर्ने भएको छ ।
लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ । सोही अनुुसार प्रशासनमा नागरिकता लिनेहरुको चाप बढेपछि जोरविजोर प्रणाली लागु गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले नागरिकता लिने सेवाग्राहीको संख्या अत्याधिक बढेकाले गुलरिया नगरपालिका क्षेत्रभित्रका सेवाग्राहीको लागि असार १५ (विहिबार) देखि जोरविजोर प्रणाली लागु हुने बताउनु भयो । जोरविजोर प्रणाली अन्र्तग जोर गते जोर वडा र विजोर गते विजोर वडाका सेवाग्राहीलाई मात्र सेवा दिने प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।
प्रशासकीय अधिकृत ढकालले प्रशासनको सूचना अनुसार सेवाग्राहीलाई जानकारी गराउन सबै वडाहरुलाई अनुरोध गर्नुभयो ।


