चितुवा आक्रमणबाट मृत्यु भएकी बालिकाको अझै भएन दाहसंस्कार
माग पुरा नभएसम्म दाहसंस्कार नगर्ने परिवारको निर्णय

प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट मृत्यु भएकी ६ वर्षीया बालिका सायरा थारूको परिवारले माग सुनुवाइ नभएसम्म दाहसंस्कार नगर्ने भएका छन् । थारूलाई आक्रमण गर्ने चितुवालाई पक्राउ नगरेसम्म मृतक बालिकाको परिवारले दाहसंस्कार नगर्ने भएका हुन । \
बुधबार बिहान शौचालय गएर फर्किने क्रममा थारूलाई चितुवाले आक्रमण गरेको थियो । सोही दिन दिउँसो स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि सडक अवरुद्ध समेत गरेका थिए । यस अघि गत वैशाख १५ गते गुलरिया नगरपालिका –८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीय मेलिना खड्काको मृत्यु भएको थियो भने गत चैतमा गुलरिया नगरपालिका –४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका –५ बालापुरमा ७ वर्षीय सिर्जन थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

यसरी पटक पटक चितुवा आक्रमणबाट बालबालिकाले ज्यान गुमाउँदा र घाइते हुँदा समेत स्थानीयको गुनासो डिभिजन वन कार्यालयले नसुनेपछि स्थानीय समेत पछिल्लो समय आक्रोशित बन्दै गएको छन् । मृतक बालिकाको अङ्कल लक्षिराम चौधरीले चितुवालाई पक्राउ नगरेसम्म मृतक भतिजी सायराको दाहसंस्कार नगर्ने परिवारमा सल्लाह भएको बताए । उनले भने,ु छोरीको शव बर्दिया अस्पतालमा राखेको छौ । मेरो भतिजी जस्तै अरूको ज्यान नजाओस् भनेर यस्तै निर्णय गरेको हौ ।
त्यसैगरी गुलरिया नगरपालिका ( ५ का वडा सदस्य सोमेन्द्र थारूले स्थानीय चाहना अनुसार चितुवालाई पक्रेर लैजाओस् भन्ने हो उहाँले भन्नुभयो , स्थानीयको पहिलो माग भनेको चितुवा पक्रेर लैजाने भन्ने हो भने दोस्रो माग भनेको चितुवालाई मार्न अनुमति दिनुपर्छ भन्ने हो ।
बुधबार साँझ करिब ४ बजेबाट चितुवा पक्राउ गर्न बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षणको टोली परिचालन भएको छ । भने बिहीवार चितुवाको गतिविधि हेर्नका लागि ५ वटा क्यामरा ट्याप गरिएको छ । भने रातिभर जङ्गलभित्रै मचानमा बसेर समेत चितुवाको गतिविधि समेत हेरिएको थियो । भने बिहीवार दिउँसोबाट २ हात्ती समेत परिचालन गरेर चितुवाको खोजी गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज पशु चिकित्सक डाक्टर आयुष महर्जनले बताउनु भयो ।


