
प्रकाश पौडेल गुलरिया । बारबर्दिया नगरपालिकाले किसानलाई पावल टेलर , मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको छ । पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लागि किसानलाई पावर टेलर, मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको हो ।
पालिकाका नगरप्रमुख छविलाल थारूले पालिका भित्र बसोबास गर्ने अधिकांश मानिसको मुख्य पेशा कृषि पेशा भएकोले पनि किसानलाई कृषि यन्त्र वितरण गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ किसानहरूले अझै पनि किसानहरूले परम्परागत रुपमा खेती गर्दै आउनु भएको छ । परम्परागत खेतीलाई आधुनिकीकरण गर्न पनि कृषि यन्त्र वितरण गरिएको हो । भने नयाँ पुस्तालाई कृषि पेशामा जोड्न कृषि यन्त्र वितरण गरिएको हो ।’

पालिकाले ८७ वटा पावर टेलर, १ सय वटा मिनी टेलर र ३९ वटा सिँचाइ मोटर वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पावर टेलरको मूल्य १ लाख ४८ हजार ९ सय र मिनी पावर टेलरको मूल्य ६३ हजार ९ सय रुपैयाँ तोकिएको थियो । जसमध्ये कृषि उपकरण वितरण गर्दा कृषकहरूले ५० प्रतिशत अनुदान दिइएको थियो ।’
पालिकाले ८७ वटा पावर टेलर र १ सय वटा मिनी टेलर १ करोड ९३ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिद गरेको कृषि शाखा प्रमुख झलक खड्काले बताउनु भयो । त्यसैगरी सिँचाइ मोटरका ३९ वटा सिँचाइ ९ लाख ९३ हजार ५ सय रुपैयाँमा खरिद गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पालिकाले कृषि उपकरणमा अनुदानका लागि १ महिने सूचना जारी गरेको थियो । किसानले दिएको निवेदनका आधारमा कृषकको सक्रियता, कृषकको व्यावसायिकता र कृषि तथा सहकारीमा भएको आबद्धताका आधारमा उपकरण वितरण गरिएको हो ।’


