
प्रकाश पौडेल, गुलरिया ।सत्यनिरूपण तथा मेलमिलाप आयोगमा बर्दियाबाट नयाँ एक हजार एक सय ५३ ओटा उजुरी परेको छ ।नेपाल पत्रकार महासङ्घको आयोजनामा भएको पत्रकार सम्मेलन कार्यक्रममा आयोगले बर्दियाबाट नयाँ एक हजार एक सय ५३ ओटा उजुरी परेको जनाएको हो ।
आयोगमा जिल्ला सरकारी वकिल कार्यालय बर्दियाबाट चार सय २८ उजुरी तथा पीडित आफैँ गएर दर्ता गरेको सात सय २५ उजुरी गरी नयाँ एक हजार एक सय ५३ ओटा उजुरी परेको छ । बर्दिया द्वन्द्वकालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो । बर्दियामा दुई ६१ जना व्यक्ति बेपत्ता भएको भनी बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा उजुरी परेको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले एक महिनाको सूचना प्रकाशन गरी द्वन्द्वकालका पीडितसँग सूचना माग गर्दा देशभरबाट करिब नयाँ १५ हजारको उजुरी परेको आयोगका आयुक्त डाक्टर टिकाप्रसाद ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ देशभरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी उजुरी पर्ने जिल्ला बर्दिया हो । बर्दियाबाट मात्र नयाँ र पुरानो गरी करिब तीन हजार उजुरी आयोगमा परेको छ । पछिल्लो समय जबरजस्ती करणी र यौनजन्य हिंसाको शिकार भएका महिला दिदीबहिनीको पनि उजुरी समेत आयोगमा परेको छ ।
बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले बर्दियाबाट बेपत्ता भएको भनी बर्दियाबाट दुई सय ५८ जना पुरानो र तीन वटा नयाँ गरी दुई सय ६१ वटा उजुरी परेका बताउनु भयो । उहाँले उजुरी परेका मध्ये दुई सय ३१ जनाको परिवारलाई राहत पाइसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बेपत्ता परिवार मध्ये दुई सय २७ जनाको परिवारले राहत स्वरुप १० लाख रुपैयाँ प्राप्त गरेका छन् । भने पाँच लाख पाउने दुई परिवार, आठ लाख पाउने, एक परिवार र तीन लाख पाउने एक परिवार रहेको छन् ।’
आयोगमा देशभरबाट नयाँ र पुरानो गरि ८० हजार उजुरी दर्ता भएका छन्


