
कृष्णसार अनलाइन । बर्दियामा रगतको अभाव हुन नदिन कार्यक्रम गरेको छ । गेरुवा गाउँपालिका, ३ शान्तिबजारमा गगनसिंह फाउण्डेसन नेपालको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।
मृगौला रोगका बिरामी, सिकलसेल रोगका बिरामी, थालसेमिया रोगका बिरामी, सुत्केरी भएका महिला बढी रगत आवश्यक पर्ने गरेको छ । भने बिरामीको आवश्यकता अनुसार रगत नपाइने हुँदा बिरामीले पटक पटक रगतको समस्या भोग्ने गरेका छन् ।

रगतको अभावमा बिरामीले समस्या भोग्नु नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष शेरबहादुर कुँवरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रगतको अभाव हुँदा बिरामीलाई अस्पतालमा राखेर बिरामीका परिवार र आफन्त रगत खोज्न बाध्यतालाई थोरै भएपनि कम गर्नका लागि रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा ८३ पिन्ट रगत सङ्कलन भएको छ ।’
फाउण्डेसनको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लारी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग , रेडक्रस गेरुवा उपशाखा र नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वय र इलाका प्रहरी कार्यालय पाताभारसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो ।


