
कृष्णसार अनलाइन । डेँगु लामखुट्टेको टोकाइबाट हुने रोग हो । विशेष गरी डेँगु रोग गर्मी र बर्खा याममा बढी लाग्दछ । डेँगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी एडिस लामखुट्टे साँझ र बिहान समयमा सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिँदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नासाथ डेँगु लाग्छ भन्ने होइन । सङ्क्रमित लामखुट्टेले टोक्यो भने मात्र डेँगु लाग्नसक्छ ।
डेँगुबाट बाच्नका लागि कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोजकुमार तिमिल्सैनाले आठ वटा उपाय बताउनु भएको छ ।

१ लामखुट्टे बस्न र फैलन नदिन घर, कार्यालय तथा काम गर्ने ठाउँको राम्रोसँग सरसफाइ गर्ने ।
२ पानीको ट्याङ्की, ड्रम, बाल्टिनलाई राम्ररी छोप्ने त्यहाँ लामखुट्टे छिर्न नसकोस् भनी ख्याल गर्ने ।
३ पानी जम्ने खाल्डाखुल्डी, फूलदानी, घरबाहिर बित्तल, टायर, प्लाष्टिकमा पानी जम्न नदिने । त्यहाँ लामखुट्टेले आफ्नो वासस्थान बनाउन नसकोस् भनी ख्याल गर्ने ।
४ अँध्यारो कुना, पर्दा पछाडि, खाटको मुनी, शौचालय भित्र कीटनाशक औषधि छर्किने ।
५ लामखुट्टे लामखुट्टे सूर्यास्त र सूर्योदयको समयमा बढी सक्रिय हुन्छ । सकेसम्म पुरा शरीर ढाक्ने गर्मीबाट बच्न पातलो वा हल्का लुगा भएपनि शरीर ढाक्ने लुला लगाउने । लामखुट्टेको टोकाईबाट बचाउँछ ।
६ लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग दिउसोको समय घर वा कार्यलयमा बसेर काम गर्ने यसले केही हदसम्म जोखिमबाट बचाउँछ ।
७ साँझ र बिहान समयमा घरमा बस्दा, काम गर्दा वा कतै जाँदा ओडोमस नामक क्रिम लगाउन सकिन्छ । यसले पनि लामखुट्टेको टोकाईबाट केही हदसम्म बचाउँछ ।
८ घर, कार्यालय वा कुनैपनि भवनको झ्याल ढोकामा राम्ररी जाली लगाइएको छ भने लामखुट्टे भित्र छिर्न पाउँदैन त्यसैले झ्याल ढोकामा जाली लगाउने ।


