
– अधिवक्ता सोम खड्का
आगोको शक्ति नै

कुनै पनि चिज बस्तुलाई डढाएर
छिनमै स्वाहा
निमेश भरमै खरानी बनाइ दिने हो
आगोले काँचो वन पनि डढाइदिन सक्छ
भीर पहरामा पनि डढेलो लगाई दिन सक्छ
यदि, अति प्रज्वलनशील पदार्थ भेटाओस् त
पानी माथि पनि दन दनी दन्किन सक्छ आगो
त्यसैले आगो देखि डराउन सिकौँ ।
आगो लगाउनेले बद नियत बोकेर वा नबोकेर
चाह वा जनचाहना एवं
जान वा अनजानमा
यदि, एउटा माचिसको तिली मात्र खर्च गरोस्,
र खरको छाना वा घरको छानामा झोसि देओस्,
वा कतै सुकेको खर पतवार रहे भएको ठाउँमा
फ्याँक्ने लापरवाही सम्म नै किन नगरोस्,
त्यो बल्दो माचिसको एउटा मात्र तिली,
तब त, एक छेउबाट शुरु भएको
त्यो आगोले पल भरमै यति विकराल रूप देखाउँछ नि
फैलँदा फैलँदै केही समय अगाडिको
शान्त र सुरक्षित महसुस गरी बसेको
सारा सुन्दर बस्ती नै डढाइ दिन सक्छ
त्यसैले, आगो देखि डराउन सिकौँ ।
हाम्रै बूढा, पाका र पुराना मानिसहर त भन्ने नै गर्छन त,
नेपाली जनजिब्रोले त फटकारी नै रहेछ त,
आगोलाई सानो कहिल्यै नदेख्नु है, आगोलाई सानो कहिल्यै नदेख्नु, !
र आगो बोकेर हिँड्ने मान्छेलाई पनि सानो नदेख्नु,
के यो त्यत्तिकै मजाकमा भनिएको होला र ?
मानव इतिहासको विकास क्रममा,
कहिँ कतै, विगतमा,
हाम्रा पूर्वजहरूले
आगोको त्यस्तो विकराल र प्रलयकारी रुप
देखे, भोगेर र पीडा बोध गरेर नै त
आगत र भावी पुस्ताको शिक्षाको लागी न भनेका होलान्
त्यसैले, आगो देखि डराउन सिकौँ
यस्तै गरी आगोले डढेलोको रूप लिन्छ भन्ने के कुनै नियम छ र !
मानिसको जन्म देखि मृत्युसम्म आवश्यक नै आवश्यक छ आगो,
यसको श्रोत यस्तै हुने भन्ने कुनै नियम नै छैन ।
माथिबाट खसेको एक ढुङ्गा
तल रहेको अर्को ढुङ्गामा बज्रिन पुग्दा वा
दुई ढुङ्गा एकापसमा ठोक्किँदा पनि
निस्किन सक्छ आगो
दुईवटा रुखका हाँगा वा दुई काठ
एकापसमा रगडिन पुगे पनि उत्पन्न हुन सक्छ आगो
त्यसकारण यहाँ यस्तो र यसरी नै आगोले विकराल रूप लिन्छ भन्ने नै छैन
त्यसैले आगो देखि डराउन सिकौँ ।
सानोमा
विजुली नभएको बेला
साँझ पखको समयमा,
आगो सँग खेल्न रमाइलो लागेर
आमाले खाना पकाउँदै गरेको
अगेनाको एउटा झरिलो अगुल्ठो झिकेर
खेलाउँदै गर्दा
हजुरआमाले आगो खेलाउनु हुन्न बाबु, आगो नखेलाउ भनेर सम्झाउनु हुन्थ्यो ।
वाल सुलभ कौतहलता लागेर सोधनी गर्थ्यौँ
आगो किन खेलाउनु हुन्न हजुरआमा
हजुआमा भन्नु हुन्थ्यो
राती सुतेको बेला
वन जङ्गल तिर कतैको
ठूलो ढुंगा माथि चढेर
लघुशंका विसर्जनको सपना देखिन्छ र
त्यति नै बेला
त्यो सपना यथार्थ हुन्छ
वामे नसर्दैको वच्चा अवस्थामा
हजुर आमाले बताउनु भए जस्तै
आखिर हो त रहेछ वावै
त्यसैले आगो सँग डराउन सिकौँ ।
भलही सिङ्ग बलिया होलान
तर
ती बलिया साँढेहरु,
आफ्ना बलिया सिङ्गले सिङ्गौरी खेल्दा,
डुक्रिँदा र
राता राता आँखा तर्दै ताण्डब नाच्दा पनि त,
आखिर दन्कने त आगो नै रहेछ ।
बरु
सहकार्य र सह अस्तित्वको माध्यामबाट
मिलेर जान सकिएमा
सायद
डढेलोको सम्भावित खतरा केही कमी हुन्थ्यो की
आगो लागी सके पछि
निभाउँला त अ हँ कुरै नगरौँ हजुर
किनभने आगोको धर्म निभ्नु हुँदै होइन
डढाउनु नै हो
त्यसैले आगो सँग डराउन सिकौँ ।
आगो को ले लगायो,
किन लगायो,
वा आगो के कसरी लाग्यो
भन्ने जान्न र बुझ्न नपाउँदै
आगो आफुले गर्न सक्ने सबै गरि सक्छ र
खरानी मात्र हात लाग्ने हुन्छ
त्यसैले आगो देखि डराउन सिकौँ ।
नेपालमा यतिबेला
सचेत नागरिकहरुको एक स्वरमा
एउटै आह्वान छ
हे! नेपाल निर्माण गर्छौँ भन्नेहरु हो !
विन्ति कृपया हामीलाई
अब कसैले आगो लगाउनु नपर्ने र
कसैले आगो लगाउन नसक्ने
नेपाल दिनुहोस ।
यदि देशमा भ्रष्ट्राचार रही नै रहयो भने
सुशासनको लक्षण दखिएन भने
यस्तै यस्तै
भ्रष्ट्राचार कुशासनका कुरालाई आधारमा राखेर
त्यतिबेला फेरी
पुनः आगो नै लाग्ने छ
विकराल डढेलो नै लाग्ने छ ।
त्यसैले अब आगो नलाग्ने नेपाल दिनुहोस,
किन भने
देशले पटक पटक आगजनी थेग्न पक्कै सक्दैन
त्यसैले आगो देखि डराउन सिकौँ ।
यदि ध्यैर्यता, सहन शिलता र सह अस्तित्वको पाठ
मेल मिलाप, भाईचार र मित्रताको पाठ
पुर्खाको पसिनाको मूल्य र देशको मायाँ अनि
सदभाव र भाईचाराको पाठ
शिक्षाबाट हराउने हो भने र
यस्तै आग्रह र पुर्वाग्रहको भावनामा बढोत्तरी हुने हो भने,
त्यतिबेला पनि
कहिँ न कहिँ
कतै न कतै र
कोहि न कोहि बाट फेरी पनि
जाज्वल्यमान आगोको ज्वाला नदन्किएला भन्ने के छ ˀ
यदि पुनः त्यसो भयो भने पनि त
दन्किने भनेको
उहि आगो, त्यहि आगो जुन आगो यतिबेला जे जसरि लाग्यो ।
त्यसैले आगो देखि डराउन सिकौँ ।
उहिल्यै त्रेता युगमा
अर्थात रामायण कालिन युगमा
रामका दुत हनुमानको पुच्छरमा
लगाइ दिएको आगो सल्किएर आफ्नो प्यारो
लंका डढेर सखाप भएको देखेको रावण
यो कली युग आइ पुग्दा पनि
स्वर्ग बाट बेला बेला पृथ्वीलोक तर्फ हेर्छ रे
र पृथ्वीमा यहाँ
वनभोजमा खाना बनाउन फुकेको आगो देख्दा पनि
डराउँ छ रे !
भनिए जस्तै
कतै भोली आजको हाम्रो पुस्ता पनि
आजको डढेलो देखि को त्रसित र भयभित मानसिकताको कारण
मरेर स्वर्ग पुगे पछि पनि
बेला बेलामा
झसङ्ग हुँदै पृथ्वी लोक तिर
पटक पटक हेर्ने र
आगो देख्यो की तर्सिने रोग नलागोस
त्यो स्वर्गमा पनि
त्यसैले
आगो देखि पनि नडराउने वीर र बहादुर नेपाली नबनौँ
अर्थात, आगो देखि डराउन सिकौँ ।


