bardiyahospital

आफ्नै पीडा भुलेर गाउँको स्वास्थ्य सेवामा खटिने महिला स्वास्थ्य स्वयंसेविका

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने गुलरिया नगरपालिका, ९ को बारबिगाहा टोलमा २८ वर्षीया रिना चौधरी बस्नुहुन्छ। उहाँ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। आफू सिकलसेल रोगसँग संघर्ष गरिरहे पनि गाउँका गर्भवती महिला र बालबालिकाको स्वास्थ्य प्रति उहाँ चिन्तित हुनुहुन्छ। गाउँमा कसैलाई स्वास्थ्य समस्या देखिएमा रिना आफ्नो व्यक्तिगत समस्यालाई थाती राखेर सहयोग गर्न पुग्नुहुन्छ। गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने, सुत्केरी आमाको अवस्थाबारे जानकारी लिने । बालबालिकालाई खोप लगाउन स्वास्थ्य संस्थासम्म पुर्‍याउने । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीको पहिचान गर्ने काममा उहाँ सक्रिय हुनुहुन्छ।

रिना  स्वयं स्वास्थ्य समस्याबाट मुक्त हुनुहुन्न। उहाँलाई सिकलसेल रोग छ । आफूलाई  आफूलाई सिकलसेल भएको स्वयंसेविका थाहा पाउनु भयो  उहाँको बुवालाई सिकलसेल रोग थियो। बुवाबाट आफूमा यो रोग सरेको उहाँ बताउनु हुन्छ।

cld

‘ बुवालाई सिकलसेल रोग रहेछ। मलाई सिकलसेल भएको स्वास्थ्य स्वयंसेविका भएपछि थाहा पाएँ। सायद म यो काममा नलागेको भए आफ्नो रोगबारे थाहा पाउने थिइनँ होला,” उहाँ भन्नुहुन्छ, “अहिले नियमित औषधि खाइरहेकी छु।”

सिकलसेल वंशानुगत रोग हो।  रोगी र बाहक अनुसार यसको असर र जोखिम फरक सक्छ। रिना आफ्नो स्वास्थ्यको ख्याल गर्दै गाउँका महिला तथा बालबालिकाको सेवामा निरन्तर खटिरहनु भएको छ। गुलरिया नगरपालिका, ९ मा नौ जना महिला स्वास्थ्य स्वयंसेविका छन्। जसमध्ये रिना एक हुनुहुन्छ । रिनाले गर्भवती तथा सुत्केरी आमालाई नियमित घरभेट गरी परामर्श दिने, पोषण र खोपबारे जानकारी गराउने तथा स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थासम्म जान प्रोत्साहित गर्ने जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ।

गाउँघरमा कतिपय महिला तथा बालबालिकाले स्वास्थ्य समस्या लुकाएर राख्ने वा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने समस्या छ । त्यस्ता व्यक्तिको पहिचान गरी आवश्यक स्वास्थ्य सेवा लिन प्रेरित गर्नु स्वयंसेविकाको महत्त्वपूर्ण काम हो। ‘ गाउँमा कसैलाई स्वास्थ्य समस्या भयो भने सकेको प्राथमिक सहयोग गर्छु र आवश्यक उपचारका लागि स्वास्थ्य संस्थामा पठाउँछु,’ रिना  भन्नुहुन्छ, ‘ गर्भवती तथा सुत्केरी आमालाई नियमित भेट्ने, खोप लगाउन र स्वास्थ्य जाँच गराउन लैजाने काम गर्दै आएकी छु। यस्तो काम गर्दा घामपानी र दिनरात भन्न पाइँदैन।’

 ऋणको बोझमा रामचन्दी

रिना जस्तै गाउँघरमा स्वास्थ्य सेवा पुर्‍याउन निरन्तर खटिने अर्की महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, ४९ वर्षीया रामचन्दी थारू। बढैयाताल गाउँपालिका, ९ की रामचन्दी विगत १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दै आउनु भएको छ।

गाउँमा गर्भवती महिलाको पहिचान गर्ने, उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी राख्ने, बालबालिकाले नियमित खोप लगाए नलगाएको निगरानी गर्ने र आवश्यक परामर्श दिने उहाँको दैनिकी हो। गाउँका महिला तथा बालबालिकालाई स्वास्थ्य सेवासँग जोड्न उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।  तर गाउँको स्वास्थ्य सेवामा समय खर्चिरहेकी रामचन्दीको आफ्नै परिवार भने आर्थिक समस्यासँग जुधिरहेको छ। मुक्त कमैयाका रूपमा पाएको पाँच कठ्ठा जग्गामा निर्भर उहाँको परिवारलाई जीविकोपार्जन गर्न समेत कठिन छ।

केही समयअघि मोटरसाइकल दुर्घटनामा परेका छोराको उपचारमा १८ लाख रुपैयाँ खर्च भएपछि परिवार थप आर्थिक संकटमा परेको उहाँ बताउनु हुन्छ। छोराको उपचारका लागि तीन महिनासम्म घर र अस्पताल धाउँदा उहाँले ठूलो रकम खर्च भएको थियो। त्यसका लागि ऋण लिनुपरेको उहाँले जानकारी दिनुभयो ।

‘ परिवारको आर्थिक अवस्था कमजोर छ। छोराको उपचारमा लागेको १८ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ। श्रीमानको पनि मृत्यु भइसकेको छ । मैले कसरी तिर्ने यति धेरै ऋण भन्ने चिन्ता लाग्छ ,’ रामचन्दी भन्नुहुन्छ, ‘ म गाउँघरमा कसैलाई स्वास्थ्य समस्या परे अस्पतालसम्म पुर्‍याउने काम गर्छु। अहिले मेरो दैनिकी यही हो।’

रामचन्दीलाई एकातिर गाउँका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने जिम्मेवारी छ  । अर्कोतिर छोराको उपचारमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता। रामचन्दीका लागि स्वयंसेवाको कामसँगै परिवारको आर्थिक व्यवस्थापन गर्ने काम चुनौतिपूर्ण बन्दै गएको छ ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराउने भत्ता र पोशाक बापतको रकमले दैनिक खर्चसमेत धान्न कठिन हुने उहाँहरूको गुनासो छ। गाउँघरमा स्वास्थ्य सेवा पुर्‍याउन आफ्नै समय र स्रोत खर्चिनुपर्दा कतिपय स्वयंसेविकाले घरबाटै पैसा खर्च गर्नुपर्ने अवस्था रहेको उहाँहरु बताउनु हुन्छ ।

स्वास्थ्य सेवाको आधार बन्दै स्वयंसेविका

नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम आर्थिक वर्ष २)४५र)४६ देखि सुरु गरिएको हो। महिला तथा बालबालिकाको स्वास्थ्य सुधार, मातृ तथा शिशु मृत्युदर घटाउने र आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम अहिले पनि समुदायस्तरमा स्वास्थ्य सेवाको महत्त्वपूर्ण आधार बनेको छ।

महिला स्वास्थ्य स्वयंसेविकाले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म आमाको स्वास्थ्यबारे जानकारी लिने  । बालबालिकाको खोप तथा पोषण सेवामा सहयोग गर्ने । परिवार नियोजनका साधनबारे परामर्श दिने । र स्वास्थ्य संस्थामा उपलब्ध सेवाबारे समुदायलाई जानकारी गराउने काम गर्दै आएका छन्।

त्यसैगरी, आमा समूहको बैठक सञ्चालन तथा सहजीकरण, सरसफाइसम्बन्धी सचेतना, नसर्ने रोगको रोकथाम, राष्ट्रिय स्वास्थ्य अभियानमा सहभागिता तथा अभिलेख र प्रतिवेदन तयार गर्ने जिम्मेवारी समेत महिला स्वास्थ्य स्वयंसेविकाहरूले निर्वाह गर्दै आएका छन् ।

सरकारका स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पुर्‍याउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण मानिन्छ। स्थानीय समुदाय र स्वास्थ्य संस्थाबीच सम्पर्क सूत्रका रूपमा  स्वयंसेविकाहरूले काम गरिरहेका छन् । सीमित स्रोतसाधनका बीच घरदैलोमा पुगेर स्वास्थ्य समस्या पहिचान गर्ने र उपचारका लागि प्रेरित गर्ने  स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वयंसेविकाहरुले वर्षौदेखि योगदान गर्दै आएको छन् ।

योगदान अनुसार सुविधा नपाएको गुनासो

समुदायको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले भने आफूहरूले पाउने सुविधा पर्याप्त नभएको गुनासो गर्दै आएका छन्। सरकारले उपलब्ध गराउने रकमले यातायात, खाजा र अन्य आवश्यक खर्च धान्न कठिन हुने उहाँहरुको भनाइ रहेको छ ।

स्वयंसेविकालाई वार्षिक १२ हजार रुपैयाँ यातायात खर्च, १० हजार रुपैयाँ पोशाक भत्ता तथा खोप कार्यक्रमसँग सम्बन्धित कामका लागि वर्षमा दुई पटक गरी एक हजार दुई सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ । लुम्बिनी प्रदेशमा ८ हजार  ८ हजार ९ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको विवरण छ। प्रदेश सरकारले सेवा निवृत्र् हुने स्वयंसेविकालाई ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। नेपाल स्वास्थ्य स्वयंसेवी संघ, लुम्बिनी प्रदेश समितिले भने ६० वर्ष उमेर पूरा गरी सेवा निवृत्र् हुने स्वयंसेविकालाई सेवामा बिताएको वर्षका आधारमा प्रत्येक वर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउन माग गर्दै आएको छ। यसले लामो समयसम्म समुदायको स्वास्थ्य सेवामा योगदान गरेका स्वयंसेविकाको अवकाश पछिको जीवन सहज बनाउन सहयोग पुग्ने संघको अपेक्षा छ।

स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा भएको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७८ औँ बैठकमा नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको थियो। यसलाई समुदायस्तरमा स्वास्थ्य सेवा पुर्‍याउन स्वयंसेविकाले गरेको योगदानको सम्मान हो ।

सम्मानसँगै सेवा र सुविधाको सुनिश्चितता

स्वयंसेविकाले सरकारी स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। तर,योगदानको प्रशंसासँगै कामको प्रकृति, समय र जिम्मेवारी अनुसार आवश्यक सुविधा सुनिश्चित गर्नुपर्ने माग स्वयंसेविकाहरुले गरिरहेका छन् । गर्भवती महिलाको नियमित निगरानीदेखि बालबालिकाको खोप, पोषण, परिवार नियोजन, सरसफाइ र रोग नियन्त्रणसम्मका काममा सक्रिय स्वयंसेविकालाई यातायात तथा अन्य आवश्यक खर्च धान्न पुग्ने सुविधा उपलब्ध गराउनु आवश्यक देखिन्छ। लामो समय सेवा गरेका स्वयंसेविकाको अवकाश पछिको सुरक्षा हुनुपर्ने स्वयंसेविकाहरुको  माग छ।

 रिना आफ्नै स्वास्थ्य समस्यासँग जुध्दै गाउँका गर्भवती महिला र बालबालिकाको सेवामा खटिरहनु भएको छ।  रामचन्दी छोराको उपचारमा लागेको ऋण तिर्नुपर्ने चिन्ताका बीच पनि गाउँका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने काममा सक्रिय हुनुहुन्छ। रिना र रामचन्दीले गरेको कामको योगदान हेर्दा महिला स्वास्थ्य स्वयंसेविकाको कामस्वास्थ्य सम्बन्धी जानकारी दिने वा खोप अभियानमा सहयोग गर्ने काममा सीमित नभएको देखाउँछन्। समुदायको स्वास्थ्य सुधारका लागि  उहाँहरुले आफ्नो समय, श्रम र कहिलेकाहीँ व्यक्तिगत स्रोत समेत खर्चिरहनु भएको छ ।

त्यसैले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा र सम्मानसँगै उहाँहरुको आर्थिक सुरक्षा, काममा आवश्यक सहयोग र सेवा निवृत्र् िपछिको जीवनलाई सहज बनाउने विषयमा पनि सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने देखिन्छ। समुदायको स्वास्थ्यका लागि वर्षौँदेखि खटिरहेका स्वयंसेविकाको श्रमको उचित कदर र आवश्यक सुविधा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.