bardiyahospital

चन्द्रबहादुरले पाए नयाँ घर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका–४ गिद्दरपुरका भूमिहीन दलित चन्द्रबहादुर दमाईको परिवारले नयाँ घर पाएको छ । बुढी कुलोको किनारमा बस्दै आएको दमाई परिवारका लागि पत्रकार, कलाकार, समाजसेवी तथा स्वदेश र विदेशमा रहेका सहयोगी मनहरूको आर्थिक सहयोगमा दुई कोठा र एउटा भान्सासहितको घर निर्माण गरिएको हो ।

चन्द्रबहादुरकी पत्नी बोलाइ तथा सुनाइसम्बन्धी अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ भने छोरा रोशन परियार स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । कमजोर आर्थिक अवस्थाका कारण परिवार झ्यालढोका नभएको र छानो चुहिने सानो घरमा बस्दै आएको थियो । असोज १७ गते कृष्णसार अनलाईनमा ‘चन्द्रबहादुरको दुःख स् चुहिने छानो र छोराको उपचारको चिन्ता’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । 

cld

रोशनको उपचारका लागि इन्सेक बर्दिया प्रतिनिधि एवम् पत्रकार प्रकाश पौडेलले पहल गर्नुभएको थियो भने परिवारको घर निर्माणका लागि गेरुवा अपडेटका पत्रकार पुष्कर काफ्लेले समन्वय गर्नुभएको थियो । पत्रकार काफ्लेको पहलमा कलाकार नरेश एमसी, समाजसेवी राजु अर्याल र इजरायलमा रहनुभएकी सिमा क्षेत्रीले सहयोग जुटाउन पहल गर्नुभएको थियो ।

घर निर्माणका लागि इजरायलमा रहनुभएका गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य अलि मोहम्मद मियाले ५० हजार, अंशु क्षेत्रीले २५ हजार, विष्णु चौधरीले १० हजार र राजु लिम्बूले ४ हजार ५ सय रुपियाँ सहयोग गर्नुभएको छ । त्यसैगरी अमेरिकामा रहनुभएका राजु गुरुङले ५० हजार, हङकङमा रहनुभएकी अनिता लिम्बूले ५ हजार, बेलायतमा रहनुभएका विकास गुरुङले १५ हजार र बेल्जियममा रहनुभएका यशु थापाले १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । सहयोग रकमबाट दमाई परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।

रोशनको उपचारका लागि इन्सेक प्रतिनिधि प्रकाश पौडेल, पत्रकार पुष्कर काफ्ले, नेपाल टेलिभिजनका पत्रकार होमेन्द्र थापा, स्थानीय समाजसेवी कमल आचार्य, कन्सल्ट्यान्ट फिजिसियन डा। मनोजकुमार तिमिल्सिना र न्युरोसाइकियाट्रिस्ट डा. एम.ए. बागवानले सहयोग गर्नुभएको थियो । उपचारपछि रोशनको स्वास्थ्यमा सुधार आएको छ । पहिले घरबाट बाहिर ननिस्किने रोशन अहिले आफ्ना काम आफैँ गर्न सक्ने हुनुभएको छ ।

नयाँ घर र छोराको उपचारमा सहयोग गर्ने सबैप्रति चन्द्रबहादुरले आभार व्यक्त गर्नुभयो । ‘वर्षौंदेखि हाम्रो परिवार दुःखकष्टमा बस्दै आएको थियो । हाम्रो पीडा हामीमै सीमित थियो । समाचारमा हाम्रो दुःखबारे लेखिएपछि सहयोगी मनहरूको साथ पायौँ । अहिले नयाँ घर पाएका छौँ भने आर्थिक अभावका कारण उपचार गर्न नपाएको छोराले पनि उपचार पाएको छ,’ उहाँले भन्नुभयो ।

चुहिने छानो भएको जीर्ण घरमा बस्दै आएको दमाई परिवार अहिले सुरक्षित नयाँ घरमा सरेको छ । समाचार सार्वजनिक भएपछि चन्द्रबहादुरको परिवारको समस्या समाधान गर्न विभिन्न व्यक्तिले सहयोग गरेपछि घर निर्माण र स्वास्थ्य उपचार दुवै सम्भव भएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.