यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलिबाट मुत्यु भएको छ भने मधुवन नगरपालिकाकै २२ बर्षिय राकेश कुमार चौधरी घाईते भएका छन् ।
बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु र एक जना घाईते भएका हुन् । टाउकोमा गोली लागेको थारुको घटनास्थलमा मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
आज विहान मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए ।
स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द खुलाउनका लागि गरेपछि प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा गोली चलेको स्थानीय कृष्ण परियारले जनाकारी दिए । गोली लागेर थप एकजना घाइते भएको र नेपालगञ्जमा उपचार भैरहेको स्थानीयको भनाई छ । त्यसैगरी प्रहरीका अनुसार आन्दोलनकर्मीको आक्रमणबाट ११ जना प्रहरी र ७ जना शशस्त्र प्रहरी घाईते भएका छन् । आन्दोलनकर्र्मी माथि प्रहरीले दमन गर्न खोजेपछि ओरालीबजार क्षेत्र थप तनाव ग्रस्त भएको स्थानीयवासीले बताएका छन् । गोली लागी घाईते भएपछि आन्दोलनकर्मीले प्रहरीको मोटरसाईकल र साईकल समेत जलाईदिएका छन् ।
केही दिन अघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले बताए । खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।