

जीवन युगीन
रुमाल लुकाइ खेल्थ्यौं–
परिभाषा मुक्त !
खिलखिलाएर हाँस्ने जादु हुन्थ्यो,
रुमालको गाँठोभित्र ,
पिटाईभित्र
आहा !
जीवन चस्का चस्कामा जागृत हुन्थ्यो
लखेट्नु
र पिटिनुभित्र ।
कुन गाँठो फुकाउन बिस्र्यौं
जीवन फुक्दैन ,
ज्योत्स्ना भरिँदैन
माया, जादुवी, मनोहरा जीन्दगीको छोईंदैन
दुखाई छोटिदैन
नीलडाम भेटिँदैन
न पिट्ने देखिन्छ
न लखेट्ने भेटिन्छ
न पलेटी कस्न सकिन्छ
न त छामछाम छुमछुम पार्न सकिन्छ
यो कुन खेल हो ?
बस् !
पिटाई छ
निरन्तर,
विश्रान्ति विहिन ।
जीवनका प्रत्येक प्रहर
पग पग,कदम कदम
आँखा आँखा
चेहरा चेहरा
आकृती आकृती
गाँठैगाँठा छ

जहाँतहीँ
गाँठैगाठाँ छन्
कुनै फुक्दैनन्
परेपछि – पर्यो
पर्यो ।
पर,
कुमसोदको एउटा पाखोमा
झ्याउरेको मादकता
उत्कर्षमा छ,
तर मन ………
माथी–निलिमा भन्दा माथी
एक टिकुली जून
हाँसिरहेकी छे,
आकाश सफा छे स्निग्ध
उज्यालो
पूर्णिमाको
शितल गृष्मको साँझ
बस् !
अल्झिएको त्यहीँ छु
जहाँ –
पिट्दा पिट्दै कसैको परिधिभित्र
थुनिएकी थिई ।
थुनिएकी त ऊ हो
छेकवार !
मभरि लाग्यो ।
रहरभरि
बादलघेरो उठ्छ
उमंगभरी
असिना खस्छ
आँखाभरि
खहरे बग्छ
एकान्तभरि
मौनता
र मौनताभित्र तिनै
बालापनको चित्र
बोल्छ
खेल्छ
दौडिन्छ
कुवा,खोला, खहरेहरुमा पौडिन्छ
र उत्ताउलिएर नजिकिन्छ
स्पर्श
सुगन्ध
माया भएर खेलिरहन्छ
आँऊ
दोहोर्याउँ
त्यो सुखद बालापन
मात्र एकफेर ।
कि चुँड्दैन घेरो
कि फुक्दैन रुमालको गाँठो ?
–कावासोती