नगर क्षेत्रभित्र हुने रक्तदान कार्यक्रममा नगरपालिकाले सहयोग गर्छ : नगर प्रमुख यादव
संविधान दिवसमा रक्तदान
प्रकाश पाैडेल बर्दिया (गुलरिया) । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले आगामी दिनमा नगरपालिका क्षेत्रभित्र आयोजना हुने रक्तदान कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
संविधान दिवसको अवसरमा विकास प्रेमी युवा समूह गुलरिया नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले सो कुरा बताउनु भएको हो । रगतको अभावका कारण जीवन जोखिममा परेकाहरुको लागि रक्तदान कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरप्रमुख यादवले युवाहरुको मानवीय कार्यको प्रशंसा समेत गर्नु भयो ।
विकास प्रेमि युवा समूह गुलरियाका केन्द्रीय अध्यक्ष गोपाल निरौलाले सामाजिक कार्यमा निरन्तर लाग्ने र समाज परिवर्तनमा योगदान गर्न विकास प्र्रेमि युवा समुह सदैव लाग्ने बताउनु भयो ।
नेपाल स्यमंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष प्रेम लम्सालले बर्दियालाई देशकै रक्तदान गर्ने उत्कृट जिल्ला बनाउने योजना बनाएर रक्तदाता समाज लागेको बताउनु भयो । साथै अध्यक्ष लम्सालले आफूले ६१ पटक रक्तदान गरेको र रक्तदान गर्दा कुनै असर नगर्ने भएको हुँदा रक्तदान गर्न सबैमा आग्रह गर्नु भयो ।
विकास प्रेमि युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महेमुद सिद्दिकीले रगतको अभावले कसैको ज्यान नजाओस भनेर रक्तदान कार्यक्रम गरेको बताउनु भयो । अध्यक्ष सिद्दिकीले सम्पूणलाई रक्तदान जस्तो पवित्र दानमा सहभागी हुन अपिल गर्दै रक्तदातालाई धन्यबाद दिनु भयो ।
नेपाल रेडक्रस सोसाइटी शाखा लारी रक्तसञ्चारकी ल्याब असिस्टेन्ट साबित्री थारुले ४८ पिन्ट रगत संकलन गरिएको बताउनु भयो । ल्याब असिस्टेन्ट थारुले समय समयमा हुने रक्तदान कार्यक्रमले गर्दा रगतको आवश्यक परेका विरामीलाई सहज हुने बताउनु भयो ।
गुलरिया नगरपालिका वडा नं. ६ राधाकृष्ण चोकमा भएको वृहत रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित ४८ जना सर्वसाधरण नागरिकले रक्तदान गर्नु थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ,जिल्ला प्रहरी कार्यालय बर्दिया, युथ ब्लड डोनर्सको समन्वय रहेको थियो ।