प्रकाश पौडेल/बर्दिया(गुलरिया) । अविरल बर्षाका कारण बाढी र डुवानमा परेका १२५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको सहकार्यमा प्लान ईन्टरनेशन नेपालका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप, स्याक नेपाल, थारु महिला उत्थान केन्द्र लगायत संस्थाहरुको पहलमा राहत वितरण गरिएको हो ।
प्लान ईन्टरनेशन नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लान नेपाल विपदको समयमा बर्दियाली नागरिकको साथमा रहेको बताउनु भयो । उहाँले प्राकृतिक विपत्तिमा लगायत अन्य मानवीय कार्यमा पनि सहयोग गर्दै जाने बताउनु भयो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले विपदको समयमा पीडितले प्राप्त गरेको राहतले मल्हमको काम गरेको बताउनु भयो । उहाँले प्राकृतिक विपद र अन्य संकटको समयमा पनि हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो ।
बाँके युनेस्को क्लबका सुपरभाइजर डम्बरबहादुर परियारले बाढी र डुवानबाट प्रभावित गुलरिया नगरपालिकाका ७६ घरपरिवार र बारर्दियाका ४९ घरपरिवारलाई राहत वितरण गरिएको बताउनु भयो । उहाँले पीडित घरपरिवारका लागि त्रिपाल, पिफम, झुल र कम्बल वितरण गरिएको बताउनु भयो ।
गत असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र डुवानले धेरै घरपरिवार प्रभावित भएका छन् ।