मानबहादुर चाैधरी/बर्दिया । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाको आयोजनामा २०७९ पुस ११ गते नेपाल मानवअधिकार वर्षपुस्तक वार्षीक सम्पादन पूर्वसमिक्षा कार्यक्रममा सरोकारवालाहरुले महिला र बालबालिका माथिको हिंसाका घटनाहरु बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विभिन्न गैर सरकारी संघ संस्था, स्थानीय तह तथा सरकारी संयन्त्र हुदाँपनि महिला र बालबालिका माथिको हिंसाका घटनाहरु बढिरहनु चिन्ताको विषय भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले बर्ष पुस्तकका लागि संकलित घटनाहरु नमुना मात्र रहेको र ग्रामिण क्षेत्रमा अझ धेरै घटना अभिलेख गर्न पर्ने र समुदायमा बिभिन्न प्रकारका घटनाहरुलाई सरकारी तथा गैरसरकारी माध्यबाट उजागर गर्न जरुरी रहेको बताउनु भएको छ ।
सो अवसरमा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरी कार्यक्रमको उद्देश्यबारेमा बोल्दै सन २०२२ जनवरी देखि डिसेम्बरसम्म संकलन गरि अभिलेख गरेको ८९ वटा घटना सहितको प्रतिवेदन सार्वजनिक गरेका थिए । सन २०२२ जनवरी देखि डिसेम्बर सम्म ८९ वटा आपराधिक घटनाको तथ्याङ्ग ईन्सेकले सार्वजनिक गरेको छ ।
मानव अधिकार वर्ष पुस्तक सार्वजनिक पुर्व सरोकारवालाहरुका विच छलफल कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । जसमध्ये सुरक्षाकर्मीको गोली लागि १ जनाको मृत्यु, महिला हत्या २ जना, महिला हत्या प्रयास १ जना, महिला आत्महत्या दुरुत्साहन १ जना, महिला बलात्कार २० जना, बलात्कार प्रयास ४ जना, दुव्र्यवहार ५ जना भएको ईन्सेक बर्दियाका प्रतिनिधि मान बहादुर चौधरीले जानकारी गराउनु भएको छ ।
सबैभन्दा बढि बालिका बलात्कार घटना तथ्याङ्कमा देखिएको छ । तथ्याङ्क अनुसार बालिका बलात्कार ३६ जना, बलात्कार्र प्रयास यौनर्दुव्यवहार ८ जना, मानव वेचविखन २ जना, बालविवाह ३ जना र बहुविवाह ६ जना छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डि.एस.पी. हिक्मतबहादुर बोहराले औपचारिक रुपमा घटनाको प्रहरीमा जाहेरी नआएसम्म घटनाले मुद्धाको स्वरुप लिन नसक्ने उहाँले प्रष्ट्याउनु भयो । बालविवाह र बहुविवाहलाइ अहिले पनि समाजले अपराधको रुपमा नलिने गरेकाले यस्ता किसिमका घटनाहरु घटिरहेको भएता पनि परम्परागत सोचका कारण यस्ता घटना प्रहरी समक्ष नआउने गरेको डीएसपी वोहोराले बताउनु भएको छ ।
धेरै घटनाहरु गाँउमै मिलापत्र गर्ने र उजुरी प्रक्रियामा नआउनाले कानुनी कारवाही प्रक्रिया शुरु गर्न नसकिरहेको बताउनु भएको छ । यसमा राजनीतिक दल तथा जनप्रतिनिधिहरु र गाँउका अगुवाहरुले नै घटना लुकाउने पक्षमा भएकोले अपराधिक घटनामा कमि आउन नसकेको बताउनु भएको छ
नागरिक समाज संजाल बर्दियाका अध्यक्ष हिमा सुनारले लैगिंक हिंसाका घटनाहरु समुदायमा धेरै भएको बताउनु भयो । हाडनाता पर्ने ब्यक्तिबाट घटाईएको घटना बढि आउने गरेको बताउनु भएको छ ।
समुदायमा अहिले वालविवाह, तथा अन्य घटानाहरु परिवार तथा समुदायमा मिलाउन सकिएन भने मात्र दर्ता हुने वा कानुनी बाटो रोज्ने गरेको बताउनु भएको छ । जाति, वर्ग, धर्म मिलेपछि चुप हुने र अन्तरजातीय वा धनि गरिब परेपछि मात्र मुदा दर्ताका लागि कानुनी प्रक्रियामा आउने गरेको बताउनु भएको छ ।
कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि, पत्रकार, प्रहरी, प्रमुख जिल्ला अधिकारी लगाएको सहभागिता रहेको थियो । सहभागिहरुले बालविवाहका घटना कानुनी प्रक्रियामा आउन नसकेको कुरामा जोड दिनु भएको थियो ।