ऋषि वाग्ला
राजापुर ।
विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि युनिक नेपालले छात्रवृत्ति वितरण गरेको छ । राजापुरका विभिन्न विद्यालयबाट छनौट भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो ।
राम्रो पढ्ने, मेहनती विद्यार्थी पैसाकै अभावले किताब कापी कलम जस्ता अति आवश्यक शैक्षिक सामाग्री खरीद गर्न नसक्ने अवस्थाका उदाहरण हरू अझ पनि हाम्रो समाजमा देखिने गर्दछ । यस्तो परिस्थितिमा विद्यार्थीहरूको पढ्ने रहर हुँदाहुँदै पनि स्कुल छोड्न बाध्य भएका हुन्छन। अझ बर्दियाको गाउँले परिवेश र भारत सित खुल्ला सिमाना जोडिएका भेगमा विपन्न परिवारका विद्यार्थी आफ्नो बुवा आमा सँगै पढाइ छोडेर भारततिर कमाउन जाने प्रचलन छ । यस्तै प्रकारका विद्यार्थीहरूलाई शिक्षा ग्रहण गर्नका लागी युनिक नेपालले वर्षेनी ६० जनालाई छात्रवृत्ति दिने गरेको छ। युनिक नेपालले यस बर्ष पनि १० जनालाई १० हजार र ५० जनालाई ७ हजारका दरले रकम वितरण गरेको छ ।आज छात्रवृत्ति पाउने विद्यार्थीको भाेली गएर सक्षम बन्ने र उनीहरूले भोलि गर्ने कमाइ बाट सानो रकम छुट्टाएर फेरी गरिब जेहेन्दारलाई छात्रवृत्ति दिनु अपेक्षा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री डा गोपाल दहितले बताउनु भयो ।
छात्रवृत्ति प्रदान गर्नका लागी युनिक नेपाल द्वारा छनौट समिति बनाइएको थियो । बिभिन्न स्कुलका विद्यार्थीहरूबाट आएका निवेदनहरुमा छलफल पछि पढाइमा उत्कृष्ट एवं जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइएको युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले बताउनु भयो।
कार्यक्रमका विशिष्ट अतिथी राजापुर नगरपालिकाका मेयर दिपेश थारूले शिक्षामा प्रगति हुँदै गर्दा पछिल्लो समयमा बिकृती पनि सँगसँगै मौलाएको बताउनु भयो । सूचना र प्रविधिको अहिलेको जमानामा प्रविधिको गलत प्रयोग बढ्दो भएकाले यसलाई निरुत्साहित गर्न सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भयो ।
सोही अवसरमा डा गोपाल दहित द्वारा लिखित एवं सङ्कलित थारू नाच हुरडुङग्वा पुस्तकको विमोचन पनि गरिएको थियो। सो पुस्तकमा बिभिन्न पर्व एवं सांस्कृतिक कार्यक्रममा गाइने हजारौँ वर्षको इतिहास बोकेको र रचेका बिभिन्न कला, सँस्कृती, परम्परा ,गितबास, नाचगान हस्तकला आदि सामेल छ।
कार्यक्रमका सभापति युनिक नेपालका अध्यक्ष प्रितम बहादुर थारूले युनिक नेपालले समुदायको उत्थानका लागी बिभिन्न समयमा गर्दै आएका बिभिन्न कार्यहरुमा बारेमा जानकारी गराउनु भएको थियो । युनिक नेपालले हालसम्म दर्जन बढी पुस्तकहरु प्रकासन गरेको छ । यि पुस्तकहरु बिक्रि गरेर नाफा कमाउनु भन्दा पनि दस्तावेजीकरण र प्रवर्दन गर्ने प्रमुख उदेश्य रहेको युनिक नेपाल कि सचिव बिमला चौधरीले बताउनु भयो। कार्यक्रममा राजापुर नगरपालिका गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिकाका वडाअध्यक्षहरुको पनि उपस्थिति थियो ।