प्रकाश पौडेल‚ गुलरिया । पाठ्यपुस्तकका चित्रमा मात्रै देख्ने पञ्चेबाजाहरु आफै बजाउन जान्ने भएपछि त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा आकृति थापा दंग हुनुहुन्छ । १० दिन अगाडी बाजा समाउन पनि नजान्ने उनी दर्शकहरू छम छम नाच्ने गरी बाजा बजाउन सक्नुहुन्छ । शिक्षा सँग सँगै पञ्चेबाजा बजाउने तालिम लिनुभएको उहाँ उनी अहिले यसैमा भविष्य देख्न थाल्नुभएको छ ।
अर्कि छात्रा रुचि मिजार पञ्चेबाजा तालिम अतिरिक्त ज्ञान भएको बताउनुहुन्छ । उहाँले अब विवाह पूजाआज लगायतका विभिन्न कार्यक्रममा बाजा बजाउन सक्ने भएको बताउनु भयो । तालिममा सहनाई‚ नरसिंहा‚ दमाहा‚ झ्याली‚ ट्याम्को र ढोलक जस्ता बजाउन सिकाइएको छ । ठाकुरबाबा नगरपालिकाको कार्यालयले सञ्चालन गरेको व्यावसायिक पञ्चेबाजा तालिमबाट बालबालिकाले बाजा बजाउन सिकेका हुन् ।
नगरपालिकाले सञ्चालन गरेको तालिममा कक्षा ७ ‚८‚ ९ र १० मा अध्ययनरत नगरपालिकाका ४ ओटा विद्यालयका १४ विद्यार्थी सहभागी रहेका थिए जसमा चार जना छात्रा र १० जना छात्र सहभागी भएका थिए । पढाईको लागि असर नपर्ने गरी बिहान र साँझको समयमा तालिम दिइएको थियो ।
आधारभुत पञ्चेबाजा तालिममा विद्यार्थीहरूले राष्ट्रिय धुन मगल धुन‚ ख्याली भाका र झ्याउरे भाका बजाउन सक्ने भएको संस्कृतीकर्मी खगेन्द्र नेपालले बताउनु भयो । आजकाल पुजाआजा‚ विवाह लगाएत शुभ कार्यमा डिजे र बैन्ड बाजा बजेको सुनिन्छ उनले भने –‘ यसलाई विस्थापित गर्न लोक बाजाको संरक्षण गर्न आवश्यक भएकोले बालबालिकालाई तालिम दिइएको हो । उनीहरु व्यवसायीक रुपमा पनि बाजा बजाउने कार्यमा अगाडि बढ्न सक्ने उनले बताए । विगत्मा हरेक शुभकार्यमा पञ्चेबाजा बजाएर सुरुवात गरिन्थ्यो तर अहिले यो परम्परा हराउँदै गएको छ ।
महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आर्चायले परम्परागत लोप हुने अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्ने र व्यवसायिक आय आर्जनमा पनि जोड्न सकिने भएकोले तालिम गरिएको बताउनु भयो । उहाँले बालबालिका छिटो सिक्ने र भविष्यमा यो सीपलाई व्यावसायिक बनाउन भनेर उनीहरूलाई रोजिएको बताउनु भयो । १० दिनको पहिलो चरणको तालिम सम्पन्न भएपछि एक महिना सम्म अभ्यासको लागि छोड्ने र पुन: अर्को चरणको तालिम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।