

काठमाडाैं । गर्मी बढेसँगै लस्सी खान चाहनेको संख्या बढ्छ । लस्सीले मुड फ्रेस राख्न भूमिका खेल्छ । पाचन प्रणाली मजबुत बनाउन, रोग प्रतिरोधी क्षमता बढाउन तथा एसिडिटी कम गर्न यसले सहयोग गर्छ । तौल नियन्त्रणका लागि पनि यो सहयोगी साबित हुन सक्छ । तपाईंले केही सामग्री जोहो गरेर घरमै विभिन्न फ्लेबरका लस्सी तयार गर्न सक्नुहुन्छ ।
एभोकाडो लस्सी : बोक्रा र दाना निकालिएको एभोकाडोलाई पहिले उमाल्नुपर्छ । त्यसपछि चिसो पारिएको आधा लिटर दूध हाल्नुस् र भिजाइएका सात–आठवटा आल्मन्डका गेडा त्यसमा मिसाउनुस् । थोरै आइस, दुई चम्चा मह र दुई चम्चा कागतीको रस हालेर घोलेर यसलाई सर्भ गर्न सकिन्छ ।

ड्रागनफ्रुट लस्सी : यो लस्सी बनाउन पाकेको ड्रागन फललाई तास्नुपर्छ र टुक्रा–टुक्रा बनाएर जारमा हाली एक स्कुप भेनिला आइसक्रिम हाल्नुपर्छ । त्यसमा एक कप चिल मिल्क र दही एक कप, एक चम्चा चिनी हाली घोलेर सर्भ गर्न सकिन्छ ।
म्याङ्गो लस्सी : यो लस्सी बनाउन कोया र बोक्रा हटाइएको आँपलाई ब्लेन्डरमा राख्नुपर्छ । एक चम्चा मह, आधा–आधा कप चिल दही र दूध हालेर घोल्नुपर्छ ।
स्ट्रबेरी लस्सी : राम्ररी पाकेको सातदेखि १० दाना स्ट्रबेरीमा आधा कप दही, सय एमएल दूध, स्ट्रबेरी सिरप दुई चम्चा, एक स्कुप स्ट्रबेरी आइसक्रिम हालेर घोलेपछि यो लस्सी तयार हुन्छ ।