bardiyahospital

धर्मः धारण गर्नु, धारणा बनाउनु र धारणा अनुसार व्यवहार गर्नु !

Geruwa GIF

महाभारतमा लेखिएको छ, ‘धारणाद्धर्ममित्याहुः धर्मो धारयते प्रजाः अर्थात्, धारण गर्नुलाई धर्म भनिन्छ, धर्मलाई मानिसले धारण गर्दछन् ।’ धारण गर्नु भनेको अवलम्बन गर्नु पनि हो । प्राकृतिक हिसाबले सबैका धारणका विषय हुन्छन् । मानिसले भने कुनै पनि कुरा जानीबुझी धारण गर्दछन् । यसको अर्थ हो, मानिसले आफू, परिवार, समुदाय, समाज, राष्ट्र आदिको हित हुने गरी धर्म ग्रहण गर्दछन्, स्वीकार गर्दछन् र त्यसका आधारमा चल्दछन् । सामान्यतया सामाजिक परिवेशमा बुझिने धर्म यही नै हो । इतिहासले पनि यही कुराको पुष्टि गरेको छ ।

cld

धर्मका विषयमा अत्यन्त धेरै बहस हुने गर्दछ । धेरैजसो मानिसहरूले धर्मलाई खास नाम गरेका ‘भगवान’ लाई समेत जोड्ने गर्दछन् । जस्तै ः राम, कृष्ण, महादेव, येशु, बुद्ध, मोहम्मद आदि आदि । शब्द संरचनाका हिसाबले हेर्दा कुनै कुरा धारण गर्नु, धारण गरिनु र धारण गरिएकोलाई धर्म भनिन्छ । जस्तै ः गुरु नानकका विचार धारण गर्ने शिख, बुद्धका विचारलाई धारण गर्ने बौद्ध, महाबीरका विचारलाई अपनाउनेहरू जैन, शिवलाई सर्वोपरि ठान्ने शैव, शक्तिलाई सर्वोपरि धारण गर्ने शाक्त, मोहम्मदका विचारलाई धारण गर्ने इस्लाम, येशूका विचारलाई धारण गर्ने इसाई आदि ।

धारण गर्ने भनेको वैचारिक हिसाबले स्वीकार गर्नु हो । व्यवहारमा तदनुसार गर्नु पनि धारण गर्नु हो । धारण गर्नु भनेको कुनै प्रकारका चिन्ह, संज्ञा, प्रतीक आदि भौतिक रूपमा ग्रहण गर्नु वा अपनाउनु पनि हो । देखिने वा नदेखिने गरी कुनै वस्तु वा विचारलाई बहन गर्नु, लिनु, स्वीकार गर्नु पनि धारण गर्नु नै हो । धारणा बनाउनु पनि धर्म नै हो ।

चरित्रका हिसाबले हेर्दा धर्म भनेको निरपेक्ष नियम हो भन्ने स्पष्ट हुन्छ । जस्तैः आगोको धर्म तातो हुनु, पोल्नु, डढाउनु हो । पानीको धर्म तरलता हो, यसलाई भिजाउने, बगाउने, पखाल्ने आदि काममा उपयोग गरिन्छ । घिउ—तेलको धर्म चिल्लो हुनु हो । यी त वस्तुहरू भए ।

शरीर तथा यसका अङ्ग—प्रत्यङ्गका पनि आआफ्ना धर्म छन् । जस्तै ः कानको धर्म सुन्नु (श्रवणधर्म) हो । आँखाको धर्म हेर्नु हो (दृष्टिधर्म) हो । हातको धर्म समाउनु हो । के समाउने भनेर निर्णय दिने काम यसले गर्दैन । यस्तो सोच्ने र आदेश दिने धर्म मस्तिष्कको हो । खुट्टाको धर्म हिँड्नु हो, कहाँ हिँड्ने भन्ने कुरा खुट्टाले सोच्न सक्दैन । नाकले सँुघ्ने हो, सुगन्ध, गन्ध र दुर्गन्ध भन्ने जाँच्ने काम नाकले गर्दैन, जे आए पनि यसले नाइँनास्ती गर्दैन । सुगन्ध वा दुर्गन्ध भन्ने कुरा निरपेक्ष हुँदैन, मानिसको रूची अनुसार हुन्छ । जिब्रोले स्वाद पाउनु, छालाले स्पर्शको अनुभव गर्नु आदि ती ती अङ्ग—अवयवका धर्म हुन् ।

यी काम सबैले कसैको सापेक्षता विना नै गरिरहेका हुन्छन् । नदेख्नेले पनि सुन्न सकिन्छ । नसुन्ने पनि हिँड्न सकिन्छ । हिँड्न नसक्ने पनि बोल्न सकिन्छ । बोल्न नसक्नेले पनि समाउन सकिन्छ आदि । र, मानिसको सन्दर्भमा सिङ्गो मानिसको धर्म मानवीयता हो । मानवीयता आफैमा समग्र धर्म हो । तर, धर्म मानिसको मात्र हुन्छ भन्ने हुँदैन । पशु—पंक्षीका पनि आआफ्नैखाले धर्म हुन सक्दछन् । किन कि उनीहरू पनि नियमानुसार नै गरिरहेका छन् ।

वेदमा धर्मलाई ‘ऋत’ भनिएको छ । ‘ऋत’ शब्दको अर्थ निरपेक्ष वा बाहेक भन्ने पनि लाग्दछ । यस हिसाबले धर्मको अर्थ तटस्थ वा निरपेक्ष नियम हो भन्न सकिन्छ । यसलाई अनुशासनको रूपमा पनि लिएको पाइन्छ । नियम भएको हुनाले तटस्थ हुनु र तटस्थ भएको हुनाले यो न्यायको विषय पनि हुन सक्दछ । किन कि न्यायको आँखा जहिलेसुकै तटस्थ हुने गर्दछ । विद्वानहरूले ‘तटस्थ नियम नै धर्म हो’ भनेको पाइन्छ । धर्म यता वा उता ढल्केको नभई यसप्रति नै मानिसहरू ढल्केका हुन्छन् ।

यी सबैको विश्लेषण गर्दा प्रकृति पनि धर्म हो भन्ने बुझिन आउँछ । किन कि प्रकृति र प्रकृतिमा रहेका हरेक वस्तु कुनै खास—विशेषका लागि मात्र हुँदैनन् । प्रकृति सबैका लागि समान र निरपेक्ष रहेको हुन्छ । कुनै पनि धर्मले प्रकृतिले जस्तै कसैप्रति पनि न कुनै प्रकारको आसक्ति, न कुनै प्रकारको द्वेष नै राख्दछ । यो सबैका लागि, सधैका लागि एक समान रहेको पाइन्छ । पक्ष—विपक्ष, आसक्ति र उदासीनता त मानिसको देन हो । यो भौतिक अवस्था र वातावरणले निर्धारण गर्ने विषय हो ।

आधारको कुरा गर्दा उही भएर पनि फरक र फरक भएर पनि उस्तै हुने धेरै छन् । मानिसमा, पशुमा, पङ्क्षीमा, वनस्पतिमा जहाँतहीँ यस्ता उदाहरण प्रसस्त पाइन्छन् । धर्मको विविधता, शास्त्रीय मतहरूको विविधताका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ भनेर बुझ्न गाह«ो नपर्ला ।

अहिले हिन्दू धर्म र धर्मशास्त्रका बारेमा विभिन्न कोणहरूबाट विविध प्रश्नहरूसँगै अनेकौँ प्रकारका प्रहारहरू समेत ओइरिएका छन् । यस्तो देख्दा के भन्न सकिन्छ भने मानिसले धर्म बुझ्दा पनि भएको भन्दा बढी बुझे, धर्म गर्दा पनि गर्नुपर्नेभन्दा बढी नै गरे, अहिले प्रश्न र प्रहार पनि गर्नुपर्नेभन्दा बढी नै गरिरहेका छन् भन्ने जस्तो लाग्दछ ।

एउटा मानिसले अर्को मानिसको आचरण भिन्न भएकोले मार्न हुने, फरक वर्गीय चिन्तन र मान्यता राख्ने भएको मानिस मार्दा हुने, आफूलाई चित्त नबुझ्दा बिच बाटोमा नै समातेर झ्याँको झार्न हुने विषयका अगाडि हिन्दू धर्मको के नै पो चल्छ र ? फेरि पनि मानिस यसबाट यति आतङ्कित किन छन् कुन्नि ? एउटै राजनीतिक सिद्धान्तको, एउटै काल र परिस्थितिमा फरक—फरक अर्थ र प्रयोग भइरहेको देख्दादेख्दै मानिसहरू किन अबुझजस्ता बन्न हतारिएका हुन् कुन्नि ? जनवादीले जनवाद विपरीत काम गरेकै छन्, समाजवादीले समाजवाद विपरीत व्यवहार गरिरहेका छन् । यी त धेरै मानिसका जीवन र राष्ट्रको वर्तमान र भविष्यसँग जोडिएका विषय हुन् नि ! तर, यस्ता विषयमा उठेका प्रश्नको उत्तर दिन जरुरी ठानिँदैन ।

यसै पनि सबैले जानेबुझेकै विषय हो कि परिस्थिति र प्रतिबद्धताको प्रभाव कुनै पनि सिद्धान्तको प्रभावभन्दा प्रबल रहन्छ । सामाजिक परिवेश र परिस्थितिले जुनसुकै सिद्धान्तलाई मात्र होइन सिद्धान्तनिष्ठतालाई समेत बङ्ग्याउने तागत राख्दछ । त्यसैले कसैले भनेका पनि छन्, ‘जनताका स्वार्थका सामुु ज्यामितिको सरल रेखा पनि बाङ्गिन बाध्य हुन्छ ।’

कुनै शासकका बलमा कुनै सिद्धान्त या विचार टिकिरहन सक्दैन, तर जनताको मनमा रहँदासम्म कुनै शासनले कुनै विचार र मान्यता भत्काउन सक्दैन । धर्मका आधारभूत र शाश्वत मान्यताका विषयमा पनि यिनै कुरा लागू हुन्छ ।

अरुले भन्ने कुरा आआफ्ना ठाउँमा सुरक्षित नै राखेर शास्त्रले नै धर्मका बारेमा भनेको यो भनाइ हेरौँ

धृति क्षमा दमस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।

१.धृतिः धारण गर्ने, धारणा बनाउने [to hold, preserve, be steady]

२.क्षमाः अर्काको गल्तीमा माफ गर्न सक्ने क्षमता [forgiveness]

३.दमः आफुलाई आफ्नो नियन्त्रणमा राख्ने [self control]

४.अस्तेयंः चोरी नगर्ने [non stealing]

५.शौचंः शूचि वा शुद्ध, सफा हुने [cleanliness]

६.इन्द्रियनिग्रहः आप्mना इन्द्रियहरूलाई नियन्त्रणमा राख्ने [sense control]

७.धीःः बुद्धि [sense of reasoning]

८.विद्याः ज्ञान [knowledge]

९.सत्यंः सही, साँचो [truth]

१०.अक्रोधः नरिसाउने [never to lose temper]

दशकंः (यी माथि उल्लेख भएका) दस वटा विषय, (धर्म लक्षणम्) धर्मका लक्षण हुन् ।

के यी धर्मका विषयहरू ज्यादती नै हुन् ? यी विषय समाज विरोधी र विखण्डनकारी नै छन् ? छैनन् । जुनकुनै कोणबाट हेरे पनि यी विषयमा खोट लगाउन मिल्ने ठाउँ भेटिँदैन । यस्तो व्यवहार नगर्नेलाई मानिसहरू के भन्छन् ? बरु यो विषय सोचनीय हुन सक्दछ ।

कुनै कुरा धारण नै नगरेको वा धारणा नै बनाउन नसकेको मानिसलाई समाज राम्रो मानेको हुन्छ ? हुँदैन । आफ्ना गल्ती लुकाउने र अरुका गल्ती प्रति उदारता अपनाउन नसक्ने व्यवहार गर्नेलाई सभ्य मान्न सकिन्छ ? सकिँदैन । छाडा र अराजक, चोर, फोहरी(कामका सिलसिलामा मैलोधैलो हुने कुरा छुट्टै हो), इन्द्रियहरूलाई नियन्त्रणमा राख्न नसक्ने, बुद्धि नभएको, ज्ञानहीन, झूटो बोल्ने, रिसाहा मानिस नै सर्वश्रेष्ठ हुन्छ त ? हुँदैन ।

समाजले सुनिश्चित धारणा भएको, अरुका कठिनाइ तथा बाध्यता बुझ्न सक्ने, अनुशासित भएको, अर्काको धनमालमा कुदृष्टि नभएको, स्वच्छ—सफा भएको, अरुको हितका बिरुद्धमा आफ्ना शाारीरिक तथा मानसिक क्षमताको दुरूपयोग नगर्ने, गर्न हुने—नहुने कामको विचार गरी होस पु¥याएर काम गर्ने र कामका दौरान् कामबाट सिकिरहने, विषयवस्तुका बारेमा जानकारी लिइरहने गुण भएको, सत्यको पक्षमा र सत्यका लागि प्रतिबद्ध भएको, अरुबाट भएका कमीकमजोरीप्रति क्रोधी नहुने मानिसलाई नै समाजले रुचाउँछन् । समाजका अगुवाहरू, नेताहरू यस्तै भइदिए हुन्थ्यो भन्ने कामना जनताबाट भइरहेको विषय हामी सबैलाई थाहा छँदैछ । यिनै विषयलाई शास्त्रले धर्म भनेको छ । र, धर्म शास्त्रले यस्तोको विपरीत भएकोलाई पाप या पापको परिणाम मानेकोछ । अब धर्मका बिरुद्ध लाग्ने या पापको पक्षपोषण गर्ने भन्ने विषय आफ्नो विवेकमा भरपर्ने विषय हो । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

साभार : mechikalinews.com 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.