
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नेकपा (समाजवादी) पार्टी रित्तिएको छ । नेकपा (समाजवादी) मधुवन नगर अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमाल सहित नगरकमिटी पुरै नेकपा (एमाले) मा फर्किएपछि नगरपालिकाबाट पार्टी नै रित्तिएको हो । अध्यक्ष रिमाल सँग सँगै जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी र सदस्यहरू आफ्नै घर (नेकपा एमाले) मा फर्किएका छन् ।
मधुवन नगरपालिकामा नेकपा (एमाले)ले आयोजना गरेको नगर स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले खादा लगाई पार्टीमा स्वागत गर्नु भएको हो । मधुवनबाट नेकपा एमालेमा फर्कनेमा नेकपा(समाजवादी) का ११ जना जिल्ला कमिटी सदस्य सहित २५ जना रहेका छन् ।

नेकपा (समाजवादी) बाट घर फर्क अभियानमा सहभागी हुनेहरूमा नगर अध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं २ समन्वय कमिटी सचिव दुर्गाबहादुर रिमाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा मधुवन वडा नं ५ इन्चार्ज यज्ञ मल्ल, जिल्ला कमिटी सदस्य मान बहादुर मल्ल रहेका छन् । त्यसैगरी जिल्ला कमिटी सदस्य एवं नगर उपाध्यक्ष टिकाराम थारू, जिल्ला कमिटी सदस्य एवं नगर सचिव पुष्कर राज केसी, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ जिल्ला उपाध्यक्ष पुष्पा शाही, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ बर्दिया सदस्य पदम बूढा रहेका छन् । त्यसैगरी जिल्ला कमिटी सदस्यहरू कर्ण बहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहार नेकपा एमालेमा फर्किएका छन् । त्यसैगरी नगरकमिटी उपसचिव खेमकुमारी थापा सहित नगरकमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, राम रतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मिना खड्का, देवी गुरुङ्ग, कल्पना थापा मगर, रामबहादुर गुरुङ्ग नेकपा एमालेमा फर्किएका छन् ।

आफूले मेहनत गरेर बनाएको पार्टीमा फर्कन पाउँदा हर्षित भएको बताउँदै अध्यक्ष दुर्गाबहादुर रिमालले नगरकमिटीको अत्याधिक बहुमतले निर्णय गरेर नगरको सिंगो पार्टी नै नेकपा एमालेमा फर्किएको घोषणा गर्नुभएको छ ।

त्यसैगरी राजापुर नगरपालिकामा भएको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (समाजवादी) बाट जिल्ला कमिटी सचिवालय सदस्य जय बहादुर शाहु, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा एमालेमा फर्कनु भएको छ । त्यसैगरी २०७४ मा वडाध्यक्ष हुनुभएका फुलाराम थारू नेकपा (माओवादी) परित्याग गरी पुनः एमाले मै फर्कनु भएको छ ।
बर्दियामा नेकपा एमालेले साउन १५ गते देखि २२ गते सम्म जिल्लाका ८ ओटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम कार्यक्रमको आयोजना गरिएको छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री, पोलिटब्युरो सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरीको नेतृत्वमा भएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।


