बुटवल । नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्दा केन्द्रीय नेतृत्व कुनै उम्मेदवारको पक्षमा नलाग्ने बताउनु भएकाे छ ।
रुपन्देहीमा सम्पादकहरूसँगको छलफलमा अर्यालले सकेसम्म सहमतिमा नेतृत्व चयन हुने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामा चुनाव हुने स्पष्ट पार्नुभयाे । शीर्ष नेताहरू स्वयम कुनै गुट नबनाएको तर बीचका नेताहरुले आफ्नो स्वार्थ पुर्तिका लागि आफू अनुकुलका उम्मेदवारको पक्षमा लबिङ गरेको दावी गर्नुभयाे।
सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताउनु भयाे ।
‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन ’– उहाँले भन्नुभयाे –‘ उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले गुट बनाउने कुरा असम्भव हो ।’
उहाँले गुट सिर्जना गर्न खोजको हल्ला वाहियात भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गर्नुभयाे।
तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्,त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ सचिव अर्यालले भन्नुभयाे ।
एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आयाेजना गरेकाे छ ।