Division forest_Ads
Barabardiya PSA_Final

गुमनाम गाउँ

Bidhut Notice
Rajapur_Final

हेर्दै डर लाग्ने गाउँ । माथितिर ठूल्ठूला ढुड्गाका चट्टान । तलतिर खतरनाक भीर । पहिलो चोटी यहाँ पुगेका मान्छे बस्नै डराउँछन् । डाँडाका ढुङ्गा  खसेर आउँछन् कि भनेर मानिसहर डरले आत्तिन्छन् । तर, आजसम्म एक ढुङ्गा खसेको छैन् गाउँमा । ठुलो वर्षा भएपछि  अन्ततिर पहिरो जान्छ । मान्छेहरू बिचल्लीमा पर्छन् । मान्छेहरू ज्यान जोगाउन गाउँका छाडेर भाग्छन् सात कोस टाढा । तर यो गाउँमा भने जति ठुलो वर्षा भए  पनि कुनै असर पदैन ।

बढी वर्षा हुने भएकोले परापूर्व कालमा बाजेहरूलाई यहीँ ठाउँ रोज्नेछन् । प्रशस्त वन जङ्गल भएको । न धेरै जाडो न धेरै गर्मी । अनुकुल वातावरण भएकोले सायद त्यति बेला हाम्रा पुर्खाले यो ठाउँ रोजेको हुनुपर्छ । सानो छदाँ घम्क घट्ट लगाएको देखेको थिएँ । त्यतिबेला त्यो घट्ट भत्केको अवस्थामा थियो । बाबुबाजेहरू पालामा त्यहीँ घट्टमा पिस्थे रे । घम्ककै पानीले स्याउ खेत, पटाहा, घरजिउलो, सबै ठाउँमा रोपाइँ हुन्थ्यो । घम्क मात्र होइन तलीखोला, न्उँम्दानी खोला लगायत धेरै ठाउँमा पानीका ठुल्ठुला  महानहरू थिए । वर्षाको समय लाग्ने बितीकै बुबाआमा, दाजु भाउजूहरूले फुर्सद हुँदैनथ्यो धान रोप्नलाई । घरका खेतमा पनि धान उतिकै फल्थ्यो । त्यतिबेला प्रमुख बाली धान थियो । तर, समय बदलिएको छ । अहिले यहाँ वर्षेनी खडेरी पर्छ । पानीका मुहान सुक्दै गएका छन् । खानेपानीको पा हाहाकार हुने गर्छ । भोकमरी पर्छ बेलाबेला ।
गाउँका आधिकांश मान्छेहरू सोझा र सिधा छन् । कसैले अन्याय गरेमा प्रतिवाद गरेको म पाउँदिन । सहेर बस्छन् । कसैले गल्ती गर्यो भने पनि माफी दिन्छन् ।

पहिलोचोटी । गल्ती स्वीकार्न र सुधार गर्न प्रेरित गर्छन् । त्यसपछि भएन भने रिसाउँछन् । र बन्छन् साँपजस्तै । मेरो बुवा राणा शासनमा जन्मिनु भयो । पञ्चायत कालमा हुर्कनुभयो । राणा र  पञ्चायत कालमा उनीहरूको भारी बोकेर जुम्ला जानुपर्थ्यो रे । त्यो पनि मास मसुरो र स्थानीय धानको चामल लिएर । त्यतिबेला पञ्चायती शासकहरूको लागि घरघरमा घिउ, मह, दही, मासु धानको चामल, दाल सबै छुट्याएर राख्नुपर्थ्यो रे । यो कुरा बुबाले मलाई सुनाउनु भएको थियो ।

एकदिन जुम्लाबाट पञ्चेहरुको एक टोली गाउँमा आएछ । उनीहरूलाई खाना पकाउने पालो बुबाको परेछ । खाना खुवाउँदा मह, घिउ, दालभात, सबै दिनु भएछ । खाना खुवाउँदा गाउँबाट सबै कुरा उठाउनु पथ्र्यो रे । तर पञ्चेहरुले मासु नभइ नखाने भनेछन् । ‘ मासु त छैन साहेब, खोज्दाखोज्दा हैरान भयौँ’ बुबाले भन्नु भएछ । बुबाको कुरा नसुनी मण्डलेले बुबालाई गाली गरेर थर्काउन थालेछ । बुवाको कन्सिरी तातेछ । तातो पन्युँ उठाएर हिर्काउन थाल्नु भएछ । त्यसपछि उसले भैगो भैगो भन्दै उल्टे माफी मागेछ । अनि त्यस पटक बुबाको भारी बोक्ने पालो कट्टी भएछ । त्यसबेला गाउँमा पढेलेखेको मान्छे नभएकोले अन्य ठाउँका हेला गर्थे रे ।

सताले कर्णालीलाई ठगेको छ । कर्णालीले हुम्लालाई र हुम्लामा पनि दक्षिणी भेक पछि परेको छ । यसमध्ये पनि अझ श्रीनगरको कल्खेपछि पारिएको छ । पहिला पहिला तल्लो कल्खेलाई त झन ‘कुखुरे खोल ’ भनेर  नीच भावनाले बोल्ने गरिन्थ्यो । अहिले पनि सबै कामका लागि गल्फा नै जानुपर्छ । त्यसैले पनि यो गाउँ दुर्गम र पिछडिएकै क्षेत्रमा पर्छ । त्यस क्षेत्रमा वर्षेनी भोकमरी पर्छ । महामारी फैलिन्छ । यहाँका जनता समस्यामा परिरहेका हुन्छन् । बेलाबखत सुत्केरी महिलाहरूले अकालमा ज्यान गुमाउन पर्ने बाध्यता रहेको छ । तर ती कुरा राष्ट्रियस्तरका सञ्चार माध्यमहरुबाट बाहिर आउँदैनन् । यदि आइहालेको खण्डमा राज्य सुन्दैन ।

बाटोघाटो, खानेपानी, बिजुली बति राम्रो प्रबन्ध भएको छैन । यहाँका धेरै मानिसहरू बेरोजगार छन् । मौलिक अधिकार मात्र होइन , नैसर्गिक अधिकारबाट बञ्चित छन् । कुनै सङ्घसंस्थाहरूको पनि त्यतातिर नजर गएको छैन । लोकतान्त्रिक गणतन्त्र आएको पनि धेरै भयो । अहिलेसम्म यो गाउँ गुमनाम छ । यहाँका मानिसलाई  न भौगोलिक बनावटले साथ दिएका छ, न प्रकृतिले नै । सबै ठाउँबाट ठगिएको छ यो गाँउ । यो गाउँ मुक्ति खोजिरहेको छ । त्यो मुक्तियोद्धा प्रतीक्षामा रहेको छ । कुनै दिन यहाँको पनि दिन आउला भनेर स्थानीय बासिन्दाहरूले प्रतीक्षाको घडी कुरिरहेको छन् ।

जति समस्या परेपनि कहिल्यै आत्तिँदैनन्  यहाँका मान्छे ।  नआत्तिने, नमात्तिने र न तात्तिने उनीहरूको बानी रहेको छ । हो, म त्यहीँ गाउँमा मेरा जन्म २०३८ साल असोज ७ गते बुधवार जन्मेको हुँ । आमाले भन्नुभएको थियो, ‘ तो छकाल घाम झल्किने बेला भएको होस ।’आमाको भनाइ अनुसार म बिहान ७ बजेतिर जन्मेको थिए । किनभने असोज कात्तिकतिर यहाँ बिहान सात बजेतिर झल्किन्छ । एसएलसी मार्कसिट अनुसार नागरिकता बनाउँदा दुई दिन जेठो भएछु जन्मदिनभन्दा । मेरो शैशवकाल यहीँ ठाउँमा बित्यो । शिक्षाको आरम्भ भयो । मैले जीवनको सुन्दर सपना यहीँबाट बुनेन हुँ ।

यहाँ उत्पादनका हिसाबले हिमालदेखि तराईसम्म फल्ने सबै अन्नबाली र फलफूल पाइन्छन् । सिँचाइको  सुविधा पुर्याउन सक्ने हो भने यो ठाउँ स्वर्ग नै हो । स्याउ सुन्तला, ओखर, चुली आरुबखडा, आरु, खामूँ, केरा लगायतका फलफूल पाइन्छन् । अन्नबाली धान, मकै, गहुँ, चिनो, कागुनो, कोदो, फापर, जौ, उवा, जुनेलो, उत्पादन, हुन्छ । तोरी, चिउरी, ढँटेलोबाट तेल उत्पादन हुन्छ । सिमी मास भट्ट बोडी लगायत दलहन बाली पनि यहाँ फल्छ । यसरी हेर्दा यहाँको माटो त हिरा नै हो भन्न सकिन्छ । तितेपाती पाँचऔँले कटुस, चिताउलो, च्याउ, मच्याकयार, बुकी लगायत जडिबुटी पाइन्छ । तर पनि यसको संरक्षण र सम्बद्र्धन भएको देखिदैन । यी वस्तुहरूको संरक्षण  गर्दै उत्पादन बढाउनतिर लाग्ने हो भने यहाँको भोकमरी र बेरोजगारी समस्या हटाउन सकिन्छ र सम्रग देशको आर्थिक अवस्थामा सुदृढ  गर्न सकिन्छ ।

वनपैदावार, वन्यजन्तु, जडीबुटी, फलफूल, अन्नबाली, मात्र होइन यहाँको रहनसहन भेषभूषा तथा सामाजिक सांस्कृतिक आदि विषयहरू पनि महत्वपूर्ण छन् । यसलाई मध्य नजर गर्दै यहाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यहाँ समस्या मात्र होईन अनेक सम्भावना पनि छन् । अहिलेसम्म यी सम्भावनाको खोजी भएको छैन । त्यतातिर सरोकारवालाहरूको ध्यान गएको छैन । मेरो यो गाउँ एक प्रतिनिधि मूलक घटना मात्र हो । यस क्षेत्रमा यस्ता अनेक सम्भावना बोकेको यस्तै कयौं ठाउँहरू रहेका छन् । यसलाई चिनेर विकास गर्ने हो भने आर्थिक श्रोतको मुख्य आधार बन्न सक्छ ।

यति धेरै सम्भावना  भरिएको ठाउँ छ । जसलाई विकास गर्न सकियो भने स्वर्गको एक टुक्राजस्तै बन्न सक्छ । यस्तो विविधताले भरिएको ठाउँमा जन्मिएँ हुकिएँ । खेलियो र रमाइयो पनि । जुन ठाउँ र जहाँ रहे पनि जन्मस्थान सबैलाई प्यारो लाग्छ । त्यसैले जन्मभूमि प्रति माया लागेर दुईचार शब्द लेखियो । कवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मभूमि ओखलढुङ्गालाई सम्झेर कविता लेखेका छन् । ।त्यहाँ हाँसेको, खेलेको, रमाएको र जुन ठाउँमा गए पनि ओखलढुङ्गाकै स्मृतिको प्रियगङ्गामा शयर गरेको उल्लेख गरेका छन् ।मैले भने मेरो गाउँको  कविता लेख्न सकिनँ । दुई  चार ओटा हरफ लेखेर आफ्नो सम्झना मेटाउने कोसिस गरे । मलाई पनि सिद्धिचरण लाई जस्तै जन्मभूमि प्रति अगाध माया र स्नेह लागिरहेको छ । जन्मभूमि भनेको जननी हुन ।

सरकारले सुनिदिओस् यहाँका व्यथा । पढियोस् यहाँका कथा । छिट्टै यस ठाउँ स्वर्ग जस्तो भएको देख्न पाइयोस् । यहाँका सबै घरमा बिजुली बति बलेको देख्न पाइयोस् । कर्णालीको पानी तानेर मदना  र मनेलेख जस्ता पहाड टुप्पोमा लिएर सिचाइँ सुविधा पुगेको, यहाँका डाँडाहरूमा केबुलकार जोडिएको, जडीबुटी प्रशोधन केन्द्र निर्माण भएको  देख्न पाइयोस् । यहाँका मान्छेले मागेको होइन, अरुलाई  दिएको समाचार पढ्न पाइयोस् । स्वास्थ्य, शिक्षा, यातायात लगायत भौतिक पूर्वाधारको विकास  भएको देख्न पाइयोस् ।

डबल महतरा ‘रोशन एमसी’को जुग जगाउँदाखेरीबाट साभार 

Leave A Reply

Your email address will not be published.