

यज्ञप्रसाद सापकोटा ,बर्दिया ।गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले गुलरिया नगरपालिकामा यस वर्ष एक विद्यालयलाई तिन तारे विद्यालय बनाउने घोषणा गर्नु भएको छ । बेस बर्दियाले आयोजना गरेको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीको आधारस्तम्भ र बाधा अड्चन विश्लेषण कार्यशालामा सो कुरा बताउनु भएको हो ।
कार्यशालाकी प्रमुख अतिथि समेत रहनु भएकी उपप्रमुख गौतमले विद्यालय स्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीलाई सुधार गरेर गुलरिया नगरपालिका नमुना बन्ने बताउँदै विस्तारै सबै विद्यालयलाई एक दुई हुँदै तिन ताराको स्तरमा पुर्याउने योजना रहेको बताउनु भयो । उहाँले विद्यालयको स्तर वृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न आव्हान गर्नुभयो ।
त्यसैगरी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले विद्यालयलाई खानेपानी सरसफाइ र स्वच्छतामा स्तर वृद्धि गर्नका लागि देखा परेका बाधा अड्चनहरू हटाउनका लागि गुलरिया नगरपालिकाले कार्ययोजना बनाई लागू गर्ने बताउनु भयो । गोष्ठीले निष्कर्षमा निकालेका सुझावहरूलाई मनन गर्दै नगरपालिकाका विद्यालयहरूलाई क्रमशः तिन तारा घोषणा गर्ने कार्यक्रम रहेको बताउनु भयो । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरूमा थप योजनाहरूमा बनाई नेपाल सरकारले लागू गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ पूर्णरुपमा लागू गर्ने बताउनु भयो ।

कार्यविधिमा विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मल्याङ्कन गरी स्तरीकरण गर्नका लागि सूचक तोकिएको छ । जसमा न्यूनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी सङ्ख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ । बर्दियामा केही विद्यालय बाहेक अधिकांश विद्यालय एक ताराको मापदण्डमा समेत पर्दैनन् ।
वाटरएड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास गेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतिक सहयोग गर्न लागेको हो । तिन ताराको स्तरमा विद्यालय बनाउनका लागि के कस्ता समस्या बाधा अड्चन रहेका छन भन्ने पत्ता लगाउन गोष्ठिको आयोजना गरीएको आयोजकले जनाएको छ । यस अघि अन्तर्गत विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूसँग विद्यालयलाई खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा अब्बल बनाउनका लागि के कस्ता बाधा अड्चनहरूको छन् भने बेसलाइन सर्वे गरिएको थियो । सो बेसलाइन सर्वेमा धेरै बाधा अड्चनहरू देखा परेपछि गुलरिया नगरपालिका लगाएत सरोकारवालाहरूको सहभागितामा कार्यशालाको आयोजना गरिएको वास गेन्स परियोजनाका प्रोजेक्ट म्यानेजर उमाशंकर यादवले बताउनु भयो । कार्यशालामा उहाँले आधार रेखा सर्वेक्षण, विद्यालयमा वास सुविधाको सुरक्षा तथा पहुँचयुक्त परिक्षण, विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छताको स्वमूल्यांकन र जोखिम तथा क्षमता विश्लेषण बाट प्राप्त बाधा अड्चनहरुको बारेमा प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयमा हुने खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी समस्याहरुलाई ५ वटा आधार स्तम्भहरू क्रमशः नीति, रणनीति तथा योजना र सरकारी नेतृत्व, संस्थागत व्यवस्था, क्षमता र समन्वय, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, व्यवहार परिवर्तन र प्रकोप उत्थानशील पूर्वाधार, तथा अनुगमन, जवाफदेहिता र नियमनका विषयमा समुह विभाजन गरेर वर्तमान अवस्था, बाधा र अवरोध, अवसर र कार्यदिशा तथा योजनाहरूमा रहेर छलफल गरिएको थियो । जसबाट नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्याविधी नरहेको, मर्मत सम्भार सम्बन्धी स्पष्ट योजना नरहेको र विद्यालयलाई ३ तारा घोषणाका लागि नीति तथा कार्यक्रममा समावेश गरिए तापनि स्पष्ट कार्ययोजनाको अभाव रहेको, विद्यालयमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधाको अभाव रहेको निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा वाटर एड नेपालका राष्ट्रिय निर्देशक तृप्ती राइले वास गेन्स परियोजनाले विद्यालयका किशोर किशोरीहरूको क्षमता विकास गरी विद्यालयमा पहुँचयुक्त वास सुविधा निर्माण तथा नगरपालिकाको नीति, रणनीति र कार्यविधि निर्माणमा सहयोग गर्ने बताउनु भएको छ ।
परियोजना बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन, गुलारिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा सञ्चालनमा रहेको छ । गुलरिया नगरपालिकाको सबै १० वटै माध्यमिक तहका सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको छ । त्यसैगरी मधुवन नगरपालिकामा दुई ओटा मावि, बारबर्दिया नगरपालिकामा चार ओटा मावि र दुई ओटा आधारभुत, ठाकुरबाबा नगरपालिकामा एक मावि र चार ओटा आधारभुत विद्यालय र गेरुवा गाउँपालिकामा चार ओटा मावि र दुई ओटा आधारभुत विद्यालयमा परियोजना सञ्चालन भएको छ । परियोजनाले ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार पाँच सय किशोरकिशोरीहरुलाई लक्षित गरि सञ्चालन हुने निर्देशक राइले बताउनु भयो । परियोजना सन् २०२३ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुने छ । कार्यक्रममा वाटरएड नेपालका कार्यक्रम प्रमुख श्री सर्वज्ञ श्रेष्ठ र सल्लाहकार राजेश हमालले सहजीकरण गर्नु भएको थियो ।
बेस बर्दियाका अध्यक्ष श्री विष्णु थारूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर उपप्रमुख सावित्रा गौतम, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, योजना शाखा प्रमुख मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, विभिन्न विद्यालयका शिक्षक, खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो ।