कृष्णसार अनलाइन, ठाकुरबाबा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादन मूलक र रोजगार मूलक शिक्षा आजको आवश्यकता रहेको बताउनु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षा माथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगार मूलक शिक्षा आवश्यक रहेको बताउनु भएको हो ।
मुख्यमन्त्री चौधरीले हाम्रो मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रीत भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा, शिक्षक माथि उठ्ने गरेका टिप्पणी र प्रश्न अब हामी सबैका साझा भइसक्यो । यसलाई निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडी बढ्नु पर्छ ।’
शिक्षाले कुुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाई छ ।
शिक्षालाई आवश्यकता अनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
ठाकुरबाबा नगरपालिका–३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको अबसरमा विद्यालय स्थापनाकाल देखिका संस्थापक सदस्य तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । बर्दिया जिल्लाको तेश्रो पुरानो अग्रणी शिक्षण संस्थाको रुपमा रहेको यस विद्यालयको स्थापना २०३० पौष ३ गते भएको थियो ।