

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाको ९ नं. वडा कार्यालयले शैक्षिक क्यालेन्डर निर्माण गरेको छ । वडा कार्यालयले वडा भित्र रहेका विद्यालयका लागि आफ्नै शैक्षिक क्यालेन्डर निर्माण गरेको हो ।
विद्यालयले प्रत्येक महिना गर्नुपर्ने कामको विवरण सहित वडाले शैक्षिक क्यालेन्डर निर्माण गरेको छ । वडाले निर्माण गरेको शैक्षिक क्यालेन्डरले विद्यालयको पठनपाठन व्यवस्थित गर्ने र शिक्षामा एकरूपता कायम हुने वडा अध्यक्ष विरबहादुर थारुले बताउनु भयो । उहाँले शिक्षाको विकास नभएसम्म अन्य विकास हुन नसक्ने भएकोले वडाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको बताउनु भयो ।

विद्यालयको पठनपाठनमा सुधार गर्दै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको शैक्षिक विकास गर्दै जाने योजना वडा कार्यालयको रहेको छ । वडा अध्यक्ष थारूले भन्नुभयो –‘शैक्षिक क्यालेन्डरमा बालबालिकाको व्यक्तित्व विकास हुने गरी विभिन्न अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको छ । विद्यालयमा हुने पठनपाठन र अतिरिक्त क्रियाकलापले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास लिएको छु । शैक्षिक क्यालेन्डरमा कक्षा ६–१२ का विद्यार्थीका लागि ढकिया बुन्ने, छात्राहरूको लागि सेनेटरी प्याड निर्माण गर्ने , वक्तृत्व कला प्रतियोगिता गर्ने कक्षा १–५ का विद्यार्थीको हिज्जे प्रतियोगिता गर्ने , चित्रकला प्रतियोगिता गर्ने , मेमोरी गेम , दौड प्रतियोगिता शैक्षिक अवलोकन भ्रमण जस्ता कार्यक्रम गर्ने योजना रहेको छ ।’
उहाँले शैक्षिक क्यालेन्डरमा कुन विद्यालयले कुन कार्यक्रम गर्ने, कुन महिनाको के÷के गर्ने भन्ने प्रष्ट योजना भएको बताउनु भयो ।
बढैयाताल गाउँपालिका वडा –९ मा १ माध्यामिक, १ आधारभूत र २ प्राथमिक विद्यालय रहेका छन् ।