डा. विजय ज्ञवाली । आत्महत्या हाम्रो लागि नयाँ विषयवस्तु होइन । यो एउटा गम्भीर जनस्वास्थ्य सँग गाँसिएको गम्भीर विषयवस्तु हो । विश्वमा वर्षेनी लगभग १ मिलियन व्यक्तिले आत्महत्या गर्छन । आत्महत्याको प्रयास गर्नेको संख्या त्यो भन्दा २५ गुणाले बढी भएको मानिन्छ । विश्वमा प्रत्येक सेकेन्ड ४० जना व्यक्तिले आत्महत्या गर्छन । नेपाल आत्महत्या बढी गर्ने मुलुकमा सातौँ नम्बरमा पर्छ । प्रजनन उमेर समूहको महिलाको आत्महत्यामा हामी विश्वको तेस्रो स्थानमा पर्छौं । आत्महत्याको प्रमुख कारण डिप्रेसनलाई मानिएको छ । आत्महत्याका घटना मध्ये ९० प्रतिशत घटनामा मानसिक स्वास्थ्य प्रमुख कारण मानिएको छ ।
नेपालीमा कति प्रतिशत व्यक्ति मानसिक रोगबाट पीडित छन् भन्न कठिन छ । केन्द्रिय तथ्यांक विभागको जनगणना सन् २०११ अनुसार नेपालमा मात्र ३०९९७ जना गम्भीर मानसिक समस्याले ग्रसित छन् । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूको स्रोत अनुसार कुल जनसंख्या २ प्रतिशतमा गम्भीर मानसिक समस्या र २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग भएको कुरा बताइन्छ । नेपालमा १० वर्ष चलेको द्वन्द्व , त्यस पछि बढेको वैदेशिक रोजगारी र पछिल्लो भुकम्पले नेपाली समाजमा मानसिक स्वास्थ्य क्षेत्रमा कस्तो असर गरेको छ हामी सित प्रस्ट जवाफ छैन ।
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा पाँच हजार सात सय ५४ जनाले , आर्थिक वर्ष २०७६÷०७७ मा छ हजार दुई सय ४१ जनाले , आर्थिक वर्ष २०७७÷०७८ मा सात हजार एक सय १७ जनाले, आर्थिक वर्ष २०७८÷०७९ मा छ हजार सात सय ९२ जनाले आर्थिक वर्ष २०७९÷०८० मा छ हजार नौ सय ७४ जनाले आत्महत्या गरेका छन् ।
कतिपय घटनाको सूचना प्रहरीसमक्ष नआउने भएकाले आत्महत्याका घटना अझ धेरै हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार असफलता, तनाव, आवेग, गरिबलगायत कारणले धेरैले आत्महत्या गर्ने गरेका छन् । समस्याबाट भाग्नका लागि धेरैले आत्महत्या गर्ने गरेको प्रहरीको विश्लेषण छ । नेपालमा सामान्यतया घरेलु हिंसा प्रेम सम्बन्ध, बलात्कार अनिच्छित गर्भधारण, पारिवारिक बेमेलका, पति या पत्नीले अर्को विवाह गर्ने, पर्याप्त दाइजो नल्याएको नदिएको निहुँमा पाउने मानसिक यातना, पढाईमा असफलता अत्यधिक ऋण, मानसिक विचलन जस्ता कारण नै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछन् ।
आत्महत्याको रोकथाममा अहिले नेपालको प्रमुख समस्या भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धी भ्रम र जनचेतना हो । अर्को समस्या भनेको मानसिक रोगको उपचारमा पहुँचको कमी हो । एक तर्फ मानसिक रोगको बारेमा जनमानसमा थुप्रै मिथ्याहरू रहेको छ । अर्को तर्फ रोगको पहिचान र उपचारको लागि प्रयाप्त पहुँच छैन । हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ । जनचेतनाको कमी या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टामा आफूमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त समेत गर्ने परम्पराको नै विकास भएको छैन । मानसिक रोगी प्रति हेरिने नकारात्मक दृष्टिकोण र यस्तो समस्यालाई पूर्व जन्मको पापको संज्ञा दिने हाम्रो जस्तो समाजमा आफूमा मानसिक र व्यवहारिक परिवर्तन हुँदा हुँदै पनि समाजमा अपहेलित हुने डरले लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ । परिणाम स्वरुप समाजमा मानसिक समस्याको बारेमा गलत मिय्या व्याप्त रहेको छ ।
अर्को तर्फ परिवारको चाहना हुँदा हुँदै पनि मानसिक रोगको उपचारको सुविधा र पहुँचको अभावमा धेरै मानसिक रोगीले समयमा उपचार नपाउने अवस्था सिर्जना भएको छ । शहरी क्षेत्रमा पनि यो सुविधा कम रहेको छ । ग्रामीण छेत्रमा अहिलेको अवस्थामा मानसिक स्वास्थ्य सुविधा छँदै छैनको अवस्थामा रहेको छ । भएका अस्पतालहरुमा कि त मानसिक रोगको उपचार गर्ने विभाग छैन कि त भएकामा पनि पर्याप्त दक्ष जनशक्ति छैनन् । र सबै भन्दा ठुलो कुरा आम मानिसमा मानसिक रोगको उपचारको लागि अस्पताल जानु पर्छ भन्ने संस्कारको विकास भएको छैन । नेपालमा अहिले आत्महत्या रोकथामको हेल्पलाइनको पनि अत्यन्त कमी छ । निजी क्षेत्रको प्रयास अप्रयाप्त छ । सरकारी क्षेत्रबाट हेल्प लाइनको कुनै व्यवस्था छैन । तसर्थ सम्बन्धित क्षेत्रले ध्यान दिनु अत्यन्त जरुरी छ ।
जीवन परिवर्तनका लागि एक मिनेट
एक अध्ययन अनुसार आत्महत्याका घटनामा ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । उनीहरूले आफ्नो समाज परिवार साथीभाइ सित ति सङ्केतहरू कुनै न कुनै रुपमा प्रस्तुत गरेका हुन्छन । मानसिक समस्या भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् । र चिकित्सकको सेवा लिनको निम्ति नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन् । वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन् । आत्महत्याको जोखिममा भएका व्यक्तिको पहुँचमा पुगेका व्यक्तिहरू सित सबै प्रश्नको उत्तर नभएता पनि केवल उनीहरूलाई सुनिदिँदा मात्र पनि धेरै व्यक्तिलाई बचाउन सकिन्छ । आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै उसको खुसी भएर बाँच्ने इच्छासमेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । सहानुभूतिको आश गरिरहेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुझन सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ । तसर्थ जीवन परिवर्तनको लागि एक मिनेट काफी छ प्रत्येक व्यक्ति हेल्प लाइन हो । जीवनको महत्व सिकाउने शिक्षा घरबाट सुरु गरौँ । आत्महत्या रोकथाम अभियानको सुरुवात घरैबाट हुन्छ । यदि त्यस्तो गर्दा पनि जीवन असहज छ भने कुरा गरौँ वा कुरा गर्न प्रेरित गरौँ । जीवन अन्त्य गर्ने सोच आएर कुनै सहयोग निकायमा पुगेको व्यक्तिले आत्महत्या गर्ने सम्भावना अत्यन्त कम हुन्छ । तसर्थ आफ्नो कुरा सहज रुपमा भन्ने र अरुको कुरा निर्धक्क सुन्ने समाजको निर्माण गर्न के गर्न सकिन्छ विचार गरौँ । मानसिक रुपमा एक्लो भएको व्यक्तिको लागि तपाईंले गर्ने हाई , हेल्लो , नमस्ते , आरामै छौ ? , सबै ठीक छ नि? , चिया खायौ ? ले ठुलो अर्थ राख्छ । मेरो जीवन अन्त्य गर्छु भन्ने सोच भएको व्यक्तिको लागि समाजका प्रत्येक व्यक्ति हेल्प लाइन हुन् । तसर्थ आत्महत्या शून्य समाजको निर्माणमा सबैले आ–आफ्नो स्थानबाट भूमिका खेलौँ । आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै उसको खुसी भएर इच्छासमेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । सहानुभूतिको आश गरिरहेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुझन सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ ।
आत्महत्या गर्नसक्ने मानिसको प्रकृति
आत्महत्या कस्तो अवस्थामा हुन सक्छ भन्नु गार्हो भएयता पनि मनोविज्ञानको विश्लेषणको आधारमामा आत्महत्या गर्न सक्ने व्यक्तिको प्रकृति यस प्रकारको हुन सक्छ ः
– जीर्ण मानसिक रोगी, डिप्रेसनको रोगी
– धेरै संवेदनशीलता बोकेका व्यक्ति , प्रेम सम्बन्धमा परेका धोका खाएका ,सम्बन्ध विच्छेद गरेका
– जीवनमा आउने सानोतिनो उतारचढावबाट डराउने मानसिकरूपमा अपरिपक्व तथा कमजोर मानिस,
– आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको प्रयास गरिसकेका व्यक्ति।
– रक्सी तथा मादक पदार्थको प्रयोग गर्ने व्यक्ति
– विगतमा विभिन्न हिंसाबाट पीडित भएको व्यक्ति
– १५ देखि २५ वर्ष सम्मका व्यक्तिहरू आत्महत्या को उच्च जोखिम भएका उमेर समूह हुन । यसै गरि ४५ वर्ष माथिका व्यक्तिहरू पनि यो वर्गमा पर्छन् ।
– गर्भवती महिला
के आत्महत्या आवेगको प्रतिफल हो ?
यो प्रश्नको उत्तर खोज्न सर्वप्रथम आत्महत्या विचार र क्रियाको बारेमा बुझ्न जरुरी छ । कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ, त्यस्तो विचार बारम्बार मनमा ल्याउँछ, आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्छ भने त्यसलाई हामी (Suicidal thought) अथवा (Suicidal ideation) भन्न सक्छौँ। यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन् भन्ने छैन। त्यस्तो प्रकारको विचार र आत्महत्या क्रिया (Suicide Action) बीच अन्त्यतः सानो दूरी हुन्छ। त्यही दूरीको कारण अधिकांश आत्महत्या आवेगमा गरेको जस्तो देखिन्छ किनकि त्यहाँ क्रिया देखिन्छ तर उसमा पहिलेदेखि रहेको आत्महत्या विचार देखिँदैन । त्यसैले धेरै मानिसमा आत्महत्या आवेगको प्रतिफल भन्ने मिथ्या धारणा रहेको हुन्छ ।
तपाईंले कसरी सहयोग गर्न सक्नु हुन्छ ?
कतिपय अवस्थामा तपाईंको साथी ,परिवारका सदस्यले आत्महत्याको लागि संकेत गरेको हुनसक्छ । त्यो अवस्थामा तुरुन्त मनोविज्ञको सहयोग लिनु आवश्यक हुन्छ । तर कतिपय अवस्थामा मनोविज्ञसँग तुरुन्त सम्पर्कमा पुग्न सकिदैन त्यो अवस्थामा तपाईंले साथी लाई यसरी सहयोग गर्न सक्नुहुन्छ ः–
–स्थिर र सन्तुलित हुनु होस् ।
–आत्महत्या गर्ने विचार मनमा आएको छ कि ? भनी सिधा रुपमा सोध्नु होस् ।
–समस्या सुन्नु होस् , गलत र सहिको निधान नगर्नु होस् ।
–निरन्तर निगरानी राख्नुहोस् ्र एक्लै नछोडी दिनुहोस् ।
–घरमा आत्महत्या लाई सहज पर्ने कुराहरू छन भने त्यसलाई हटाउनु होस् ।
–तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताको मा लानु होस् ।
–एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ । तसर्थ एकपल्ट आत्महत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुपमा नलिएर समस्याको निराकरणको लागि विज्ञको सहयोग लिनु होस् ।
–आत्महत्याबाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो । आफ्ना नजिकका मानिसको सधैँ प्रशंसा गर्नु होस् । उनीहरूलाई सुन्नुहोस् ।
–त्यस्तो अवस्थामा गाली गर्ने , उसको कुरा सुन्न छोडेर आफ्नो अर्ति उपदेश दिने नगर्नुहोस् । धर्य गरेर उसको कुरा सुन्नुहोस् । सल्लाह मागेको खण्डमा उसको विचार लाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्नुहोस् ।
– आफूलाई लागेका कुरा अरुलाई खुलस्त भन्न प्रेरित गर्ने, एक्लो अवस्थामा सोसिएल साइटहरुको सहारा लिने, बाहिर घुम्न जाने खुला वातावरणमा बस्न सुझाब दिन सकिन्छ ।
– प्रेम र अध्यात्मले आत्महत्या को विचार त्याग गर्न सहयोग गर्छ ।
– सम्भव भए सम्म छिटो मनोविज्ञको सम्पर्कमा जाने । अधिकांश मुलुकमा फ्री टेलिफोन परामर्श केन्द्र हुन्छन् । त्यहाँबाट पनि सल्लाह लिन सकिन्छ । त्यो नभएको खण्डमा प्रत्येक हस्पिटलमा मनोविज्ञ वा परामर्शदाताको व्यवस्था गरिएको हुन्छ उक्त ठाउँमा सम्पर्क गरेर सल्लाह लिन सकिन्छ ।
आत्महत्या घटना पछिका पीडा
परिवारको सदस्य अथवा आफ्नो नजिकको मनिसले आफ्नो जीवनको अन्त्य गर्दा सबै भन्दा पहिला मनमा प्रश्न उब्जिन्छ किन ? यसको उत्तर यदि हामीले खोज्ने प्रयास गरेउ भने यो जटिल प्रश्न होइन । प्रत्येक घटनाले उत्तर छोडेर गएका हुन्छन, कारण भित्र केही जटिलता पक्कै पनि हुन्छन तर अस्पट्ट हुदैनन । यसका सम्भावित उत्तरहरू निम्न अनुसार हुन सक्छन् ।
–मानसिक समस्या हुन सक्छ ।
–जीवनमा केही निश्चित कुराको तनाव
–केही जीर्ण रोग, पीडा
–असफलता , पारिवारिक समस्या आदि ।
कतिपय अवस्थामा यस्ता घटना पश्चात परिवारका सदस्यमा को दोषी ? भन्ने प्रश्न मनमा उब्जिन सक्छ । अतिरञ्जित र सम्भावित कुरा मनमा लिएर आफू लाई दोषी ठान्नेहरू पनि हुन्छन । तर यो प्रवृत्ति एकदम गलत हो । आत्महत्यामा कोही दोषी हुदैन । यो एकदम व्यक्तिगत रूप मन भित्र उब्जेको अन्तर द्वन्द्वको परिणाम हो । कतिपय अवस्थामा ति अन्तर द्वन्द्वलाई परिवार र साथीभाइलाई पहिचान गरि उसलाई राम्रो मार्गदर्शन दिन सक्छन् अथवा विज्ञको सल्लाह लिन अभिप्रेरित गर्न सक्छन् आत्महत्याको लागि कसैलाई दोषी ठान्नु एकदम गलत हो ।
घटना पछिको पीडा
आफ्ना प्रियजनले छोडेर जाँदा हुने पीडा अत्यन्त स्वभाविक हुन्छ । अझ हाम्रो जस्तो आत्महत्याको बारेमा भ्रम रहेको समाजमा त झन् यो झन् अप्ठ्यारो अवस्था हो । यस्तो अवस्थाबाट बाहिर निस्कन केही समय लाग्छ । ती अवस्थामा परिवार साथीभाइ र उस्तै समस्या भोगेका परिवारको सहयोग अत्यन्त महत्वपूर्ण रहन्छ । कतिपय अवस्थामा जीवनको अन्त्य गर्ने व्यक्ति कठोर पीडाबाट पीडित भएको अवस्था हो भने परिवारको सदस्यले घटनालाई उसको मुक्तिको रूप पनि लिने गर्छन ्सलाई पनि सामान्य प्रतिक्रियाको रूप लिन सकिन्छ । यदि परिवारका कुनै सदस्य पीडाबाट बढी नै पीडित भएको अवस्था छ भने त्यो अवस्थामा मनोविज्ञको सहायता लिनु आवश्यक हुन आउँछ ।
कतिपय अवस्थामा विभिन्न गलत मिथ्या र भ्रमका कारण आत्महत्यालाई समाजका केही व्यक्तिले सम्पूर्ण परिवारको असफलताको रुपमा लिने गर्छन । त्यस्ता व्यक्तिबाट परिवारलाई विभिन्न कुरा गरेर अनावश्यक तनाव दिन सक्छन् त्यो अवस्थामा परिवारका सदस्यले एक अर्कालाई साथ दिने गर्नु पर्छ । आत्महत्याको घटना परिवारको असफलताको प्रतीक होइन । कतिपय अवस्थामा परिवारको प्रयासका बावजुत पनि अप्रिय घटना घट्न सक्छन् । यसलाई कायरता मान्नेहरू पनि छन् । त्यो पनि एकदम गलत हो । आत्महत्या पीडा मुक्त जीवन जिउने प्रयासमा गरिएको गलत रोजाइ मात्र हो । जीवनको माया नभएर गरिने क्रियाकलाप नभएर पीडाको मुक्तिको लागि रोजिएको एउटा उपाय मात्र हो ।
संसारभरि आफ्ना प्रियजनले आत्महत्या कै कारण जीवन गुमाए पछि उनीहरूको सम्झनामा खोलिएका अभियानहरूले राम्रो काम गरेका छन् । नेपालमा यो समस्याबाट पीडित परिवारहरूको संख्या बढी रहेको छ ्र यो अवस्थामा समान पीडा भएका परिवारलाई एकीकृत गरेर आत्महत्या नियन्त्रणको अभियानमा सरिक हुन सकिन्छ । समान पीडा भएका व्यक्ति एक ठाउँमा जम्मा भएर आफूसँग भएका समस्यालाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समस्याबाट तपाईंले कसरी मुक्ति पाउनु भयो भनेर विभिन्न मिडिया मार्फत आफ्ना विचारलाई अगाडि ल्याएर आत्महत्या नियन्त्रणको अभियानमा सरिक हुन सकिन्छ ।
नेपालमा बढी रहेको आत्महत्या सबै परिवारको साझा समस्या हो । यस्ता घटना घट्न नदिन सबैले प्रयास गर्नु पर्छ । यदि घटी हालेमा पीडित परिवार ,साथीभाई र समाजले यो अवस्थालाई शक्तिमा रूपान्तरण गरेर आत्महत्या रहित समाज निर्माणमा पहल गर्नु आवश्यक छ ।
मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवाली अमोहा क्लिनिकका सञ्चालक हुनुहुन्छ ।