

प्रकाश पौडेल, गुलरिया । प्रहरी तथा पूर्व प्रहरीहरूको लागि एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
बाँसगढी भएको स्वास्थ्य शिविरमा सुगर, प्रेसर, आँखा जाँच, तथा दाँतको परिक्षण गरिएको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै कौशिल्या अस्पताल प्राइभेट लिमिटेड र कोहलपुर डेन्टल अस्पतालसँग सहकार्य गरी प्रहरी तथा पू्र्व प्रहरीको स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय मोतिपुरको प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो । उहाँले भन्नुभयो,‘ प्रहरीको वार्षिक कार्यक्रम अनुसार नै स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा बाँसगढी नगरपालिका रहेका प्रहरी तथा पूर्व प्रहरीहरूको स्वास्थ्य परिक्षण गरिएको हो । ’स्वास्थ्य शिविरमा ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, समुदाय, सार्वजनिक स्थल लगायत ठाउँमा सचेतना मूलका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।